२०८३ वैशाख ३ , बिहीबार

भेरीगंगा-२ का वडाध्यक्षद्वारा विद्यार्थीहरुलाई पोसाक र शैक्षिक सामग्री सहयोग  



केशर वली/भेरीगंगा । सुर्खेतको भेरीगंगा नगरपालिका–२ का वडाध्यक्ष चिरञ्जीवी बुढाले आफ्नो पारिश्रमिकबाट वडाभित्रका विद्यार्थीलाई न्यानो पोसाकसहित कापी–कलम वितरण गरेका छन्। जनप्रतिनिधि भएबापत प्राप्त रकमबाट वडाभित्र रहेका बालविकासदेखि कक्षा पाँचसम्म अध्ययनरत विद्यार्थीलाई जाडो मौसममा न्यानो पोसाकसहित शैक्षिक सामग्री वितरण गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए।

पहिलो चरणअन्तर्गत मंसिर २५ गते सामुदायिक माध्यमिक विद्यालय मोहटी, चन्द्रसूर्य प्राथमिक विद्यालय कुकुरफाले, शुद्धचुली प्राथमिक विद्यालय चैते, जनज्योति माध्यमिक विद्यालय कलपानी तथा विश्व ज्योति प्राथमिक विद्यालय देशतालमा सामग्री वितरण गरिएको हो।

वडाध्यक्ष बुढाका अनुसार दोस्रो चरणमा आगामी ४–५ दिनभित्र वडाका सबै विद्यालयमा न्यानो पोसाकसहित कापी र कलम वितरण गर्ने योजना रहेको छ। विद्यालय अनुगमनका क्रममा जाडो समयमा धेरै विद्यार्थी न्यानो पोसाक, झोला, कापी र कलमको अभावमा रहेको देखिएपछि आफ्नै पारिश्रमिकबाट सहयोग गरिएको उनले बताए।

यसैबीच भेरीगंगा नगरपालिका–२ का स्थानीय भूपेन्द्र शाहीले वडाध्यक्षको यो कदम प्रशंसनीय रहेको बताए। सबै विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउँदा विद्यार्थीहरू खुसी भएको उनले बताए। वडाध्यक्ष बुढा २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८२ मंसिर २७ गते शनिबार