२०८३ जेठ २४ , आइतबार

बालबालिकाको दिवाखाजाबाट शिक्षकलाई तलब



हुम्ला हुम्लाको सर्केगाड गाउँपालिका– १ तुम्चस्थित देवल आधारभूत विद्यालयले विद्यार्थीको दिवाखाजाको साढे पाँच लाख बजेटबाट तीन शिक्षक राखेको छ । विद्यार्थीले दिवाखाजा पाउँदैनन् । विद्यालयले दिवाखाजा कटाएर निजी स्रोतका शिक्षक चक्र मल्ल, रूपबहादुर शाही, दीपेन्द्र बमलाई राखेको हो ।

सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि (हुम्लासहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपैयाँ) खाजाबापत रकम दिन्छ । सरकारले विनियोजन गरेको रकम पालिकामार्फत विद्यालयको खातामा जान्छ ।

सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख वीरजंग शाहीका अनुसार देवलमा कक्षा ६ सम्मका एक सय ५० बालबालिकाको दिवाखाजाका लागि दैनिक २० रुपैयाँका दरले वार्षिक पाँच लाख ५० हजार आठ सय बजेट जान्छ । दिवाखाजा बजेट वार्षिक एक सय ८० दिन मानेर निकासा हुन्छ ।

विद्यालयमा १ देखि ६ कक्षासम्म एक सय १९ र बालविकास केन्द्रमा ३४ बालबालिका छन् । शिक्षा शाखा प्रमुख शाही बालबालिकाका लागि छुट्याइएको दिवाखाजा कटाएर शिक्षक पाल्न नपाउने बताए । तर, प्रधानाध्यापक रावतले कक्षा ८ सम्म सञ्चालन गर्न शिक्षक अभाव भएपछि निजी स्रोतमा शिक्षक राखेर चलाउन दिवाखाजाको पैसा प्रयोग गरिएको बताए ।

‘अभिभावकले कक्षा ८ सम्म पढाइदिन भन्नुभयो । तर, शिक्षक दरबन्दी ३ जना मात्र छ । निजीमा शिक्षक राख्न अन्य स्रोत नभएकाले खाजाको पैसा प्रयोग गरिएको हो,’ उनले भने ।

प्रकाशित मिति : २०८० असोज २ गते मंगलबार