
सुर्खेत ६, असार
कोरोना संक्रमणले नेपाल सरकारका पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएपछि नेपाली कांग्रेस सुर्खेत शोकमा डुवेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने स्थायी घर भएका ६० वर्षिय विष्टको मेडिसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा आइतबार बिहान ५ बजेतिर निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए।
पूर्व संविधानसभा सदस्य विष्टको निधनले आफुले एउटा असल मित्र, पार्टीले सुर्खेत पश्चिमको कमाण्डर गुमाएको र उनको निधनमा आफु भावविव्हल वनेको थानीले प्रतिकृया दिएका छन्। थानीले विष्टको निधनले कांग्रेस पार्टी शोकमा डुवेको र कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको वताए। ‘विगत ४० वर्षदेखि तप्त जिले पार्टीलाई नेतृत्व गर्दै जुन उचाइमा पुर्याउनु भएको छ, उहाँको निधनवाट यसको क्षतिपूर्ति तत्काल हुने देखिन्न,’ सुर्खेतमा विष्टको योगदानवारे चर्चा गर्दै थानीले भने।
मृतक विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर नेतृत्व गरेका थिए। २०४६ साल पहिलेको प्रतिबन्धित कालमा उनी नेपाली कांग्रेस सुर्खेतका जिल्ला सदस्य रहेका र ०४९ सालमा भएको स्थानीय निकायको निर्वाचन पछि उनी जिल्ला विकास समिति सुर्खेतको उपसभापति बनेका थिए।
एक महिनाअघि सुर्खेतमा कोरोना संक्रमण भएपछि प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएकोमा उपचार सम्भव नभएपछि हप्तादिन अघिमात्रै काठमाडौं रिफर गरिएको थियो।
विष्टको आईतवार काठमाडौंमा रहेको विद्युतीय शवदाह गृहमा अन्तेष्टी गरिएको छ।