
सुर्खेत । बालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौंसहित देशभर धमाधम घर भत्काउन थालेपछि सुर्खेतका सुकुमबासीहरू पनि आन्दोलित भएका छन् ।शुक्रवार दिउँसो मंगलगढी चौक मा भेला भएका सुकुमबासीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरूले “डोजर आतंक बन्द गर”, “भूमिहीन सुकुमबासीहरूको उठीबास गर्न पाइँदैन”, “हाम्रो भूमि, हाम्रो अधिकार”, “स्थायी बसोबासको ग्यारेन्टी गर” लगायतका नारा लगाएका थिए ।
प्रदर्शनमा सहभागीहरूले वर्षौँदेखि बसोबास गर्दै आएको ठाउँमा डोजर चलाउने चेतावनी दिनु अन्यायपूर्ण भएको बताएका छन् । उनीहरूले आफूहरूको उचित व्यवस्थापन नगरी बलपूर्वक हटाउने प्रयास स्वीकार्य नहुने चेतावनी दिएका छन् ।
सुकुमबासीहरूले सरकारले वैकल्पिक व्यवस्था, सुरक्षित आवास र स्थायी बसोबासको सुनिश्चितता गर्नुपर्ने माग गरेका छन् । उनीहरूले समस्याको समाधान संवादमार्फत गर्न सरकारसँग आग्रह समेत गरेका छन् ।