
दैलेख। दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर वि.सी.ले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि सिसाको गिलास प्रहार गरेका छन्। वैशाख २१ गते दिउँसो करिब २ बजे अध्यक्ष वि.सी. ले आफ्नै कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत घर्तीलाई लक्षित गरी सिसाको गिलास प्रहार गरेका हुन्।
घटना कार्यालयको नियमित कामकाजका क्रममा भएको बताइएको छ। उक्त कुरा प्रमुख प्रशासकीय अधिकृत घर्तीले समेत सामाजिक सञ्जाल मार्फत आफूलाई अध्यक्षले सिसाको गिलास प्रहार गरेको र आफूलाई सामान्य चोट लागेको बताएका छन्। अध्यक्षको कार्यकक्षमा पालिकाका अन्य कर्मचारीसमेत उपस्थित रहेका बेला सामान्य विषयमा विवाद उत्पन्न भएको थियो।
सोही क्रममा अध्यक्षले घर्तीमाथि गिलास प्रहार गरेका हुन्। अधिकृत घर्तीले घटनाबारे प्रमुख जिल्ला अधिकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइसकेको बताए। सुरक्षाको कारण उक्त स्थानमा रही काम गर्न नसक्ने जानकारीसमेत मन्त्रालयलाई गराइएको उनको भनाइ छ।
पालिका स्रोतका अनुसार अध्यक्ष वि.सी. ले यसअघि पनि प्रमुख प्रशासनिक अधिकृत तथा शिक्षा शाखा प्रमुखमाथि रजिस्टर ढड्डा प्रहार गरेका थिए। यस विषयमा अध्यक्षसँग बुझ्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन।