
सुर्खेत १३ असार
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफू चढने प्राडो गाडीमा नीजि नम्बर प्लेट हालेर प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई चढ्न दिएका छन् । सांसद शाहीले प्रदेश सभामा समेत सोही गाडी प्रयोग गर्दै आएपछि मुख्यमन्त्री शाहीले गाडीको नम्बर प्लेट बदलेको खुलेको हो ।
मुख्यमन्त्री शाही संविधान सभा सदस्य हुने समयमा उर्जामन्त्री बनेका थिए । उनी उर्जामन्त्री भएको समयमा उनले विद्युत प्राधिकरणको बा २ झ ५७९३ नम्बरको गाडी प्रयोग गरेका थिए । कर्णाली प्रदेशमा उनी मुख्यमन्त्री भएपछि हालसम्म सोही गाडी प्रयोग गर्दै आइरहेका थिए । तर कर्णालीमा काँग्रेससँग सत्ता सहकार्य भइसकेपछि अहिले आएर सो गाडीको नम्बर प्लट नै बदलेर नीजि गाडीको रुपमा कांग्रेस नेता जीवनबहादुर शाहीलाई दिएको पाइएको हो ।
मुख्यमन्त्री शाहीले नीजि नम्बर प्लेट राखेको उक्त गाडीमा रातो प्लेटमा बा २ च ५७९३ नम्बर लेख्न लगाएका छन् ।
‘उहाँले काँग्रेस संसदीय दलका नेता शाहीलाई हिड्न समस्या भएका कारण उक्त गाडीमा नम्बर फेर्न लगाउनु भएको हो ।’ मुख्यमन्त्री कार्यालय स्रोत भन्छ, ‘अहिले केहि दिनदेखि नेताशाहीले उक्त गाडी प्रयोग गर्दै आइरहनु भएको छ तर गाडी राख्ने ठाउँ भने मुख्यमन्त्री निवासमै मिलाइएको छ ।’
सरकारी गाडीको नम्बर बदल्न नपाईने व्यवस्थाको मुख्यमन्त्री शाहीले खिल्ली उडाएको एमाले प्रमुख सचेतक गुलावजंग शाहले बताए । ‘सरकार जसरी हुन्छ सरकारी सम्पतीको दोहन गर्न उद्यत छ ।’ उनले भने, ‘सरकारी नम्बर प्लेट बदल्न त यो सरकारले बाँकी राखेन भने भन्नुस् अरु के बाँकी राखेको होला र रु’
यता, काँग्रेस नेता शाहीले कानूनी रुपमा पनि उक्त सेवा सुविधा भने प्रयोग गर्न पाउँदैनन् । यसबारेमा कुरा गर्न खोज्दा नेता शाहीसँग सम्पर्क हुनसकेन ।
मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सूचना अधिकारी केशव उपाध्यायले यसबारेमा जवाफ दिन चाहेनन् ।
साभार: नेपाल प्रेस