
सुर्खेत १५, असार
सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा सुर्खेतको पूर्वी क्षेत्रमा झण्डै २५ करोड वरावरको नयाँ योजनामा वजेट विनियोजन गरेको छ।
उक्त मन्त्रालयले एकै आर्थिक वर्षमा सुर्खेतको एउटै निर्वाचन क्षेत्रमा पहिलोपटक यति ठूलो रकम विनियोजन गरेको हो।
प्रतिनिधि सभाका निवर्तमान सांसद धुर्वकुमार शाहीको पहलमा सहरी विकास मन्त्रालयले सुर्खेतको क्षेत्र नं १ मा २९ नयाँ योजना सार्वजनिक गर्दै ठूलो रकम समेत छुट्टयाएको छ।
जहरे विशालचोक गोचेखोला पातिहाल्ना सडकमा रु १ करोड, रत्न राजमार्ग पिपलडाडा सडकमा ५० लाख, कालिदमार तोलिखोला हात्तिखाल सडक कालोपत्रेको लागि १ करोड, सिम्ताली डाडा लामाखाली सडकमा १ करोड वजेट विनियोजन भएको छ।
यस्तै, सत्तरी काल्पानी सडक स्तरोन्नती गर्न १ करोड, सहारे वसपार्कका लागि १ करोड ५० लाख, कुईरे कल्याण सडकका लागि १ करोड, रैकर धारापानी सडकका लागि ५० लाख विनियोजन गरिएको छ।

पुराना क्रमागत योजनाहरु चलिरहेको र २९ वटा थप नयाँ योजना सहरी विकास मन्त्रालयवाट मात्रै आफ्नो निर्वाचन क्षेत्रमा पारेको उनले दाबी गरे। विकासवादी कामले हुने भन्दै आफुले प्रचारमुखी नभई मसिनो हिसाबले विकास निर्माणका योजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा पारिरहेको उनले वताए।
आफ्नो कार्यकालको छोटो समयमा अहिलेसम्म सुर्खेतको पूर्वी क्षेत्रमा नआएको विकासे वजेट ल्याउन ठूलै मेहनत गरेको उनको भनाइ छ। ‘विकास गरेरै लोकप्रिय वन्ने हो भने कसैसँग मेरो प्रतिस्पर्धा हुन सक्दैन, नेकपा एमाले सुर्खेतका अध्यक्ष समेत रहेका शाहीले भने,’ नेपालको पूर्व देखि पश्चिम जोड्ने मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाविट भेडावारी सडक टेण्डर भई यो वर्षा समाप्त हुने बित्तिकै निर्माण सुरु हुनेछ।’
प्रतिनिधि सभाका निवर्तमान सांसद शाहीले आगामी आवमा लेकवेसीमा कर्णाली प्रदेशस्तरीय औधोगिक क्षेत्र निर्माण गर्न डिपिआरको काम सकिने दावी गरे।
उनले छिन्चु घारीवन काँल्चे सडकमा ४० करोड वजेट विनियोजन भै काम भैरहेको र चालू आवदेखि क्रमागत योजना अन्तर्गत छिन्चु छेडा सडकखण्ड स्तरोन्नतीको काम सुरु हुने उनले वताए। यसका लागि चालू आवमा १० करोड विनियोजन भएको जानकारी दिए। यसवाहेक थुप्रै योजनाहरु विभिन्न मन्त्रालय मार्फत कार्यान्वयन हुनेगरी वजेट पारिएको शाहीले वताए।
पारिएका योजनाहरु समयमै सम्पन्न गर्न र गुणस्तरीय काम गराउन सवैको खवर्दारी आवश्यक भएको उनको भनाइ छ।