विश्व नै कोरोना महामारी विरुद्ध लडिरहेको बेला कर्णालीका राजनीतिक दलहरुले भने कोरोना रोगलाई मजाकको विषय बनाएका छन् । के सत्तापक्ष के प्रतिपक्ष सबै आ–आफ्ना डम्फु बजाउन मै ब्यस्त छन् । कोरोना संक्रमण फैलाउनमा उनीहरु प्रमुख कारक बनिरहेका छन् । उनीहरुले सरकारले जारी गरेको नीति, नियम र निर्देशनलाई धोती लगार्ईदिएका छन् ।
सुर्खेतमा गत महिना नेपाली कांग्रेसले जिल्लाभर पाटी प्रबेश कार्यक्रमको आयोजना ग¥यो । महाधिबेसन केन्द्रित कांग्रेसले सुर्खेत वीरेन्द्रनगरका केही व्यवसायीहरुलाई पाटी प्रबेश गरायो । २ धारमा विभक्त भएको कांग्रेसमा कुन धारले नवप्रबेशीहरुलाई समेट्ने भन्नेमै तानातान गरे ।
फरक पाटीबाट कांग्रेसमा आउनेलाई तत्कालै सक्रिय सदस्य दिने र आफ्नो गुट बलियो बनाउने अभियान अन्तर्गत यी कामहरु भएको देखिन्छ ।
केही दिनअघि नै नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानी र शिवराज जोसी सुर्खेतको पश्चिम क्षेत्रमा पाटी संगठन सुदृढीकरण र भेटघाट भन्दै नेकपाका असन्तुष्ट कार्यकर्ता चोर्न पुगे । उनीहरुको दाबी अनुसार सयौ नेकपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

केही समय अघि नेकपाले सुर्खेतको सिम्ता र गुर्भाकोट नगरपालिकामा पाटी प्रबेश कार्यक्रम गरेको थियो । नेकपाका सुर्खेत जिल्ला अध्यक्ष ध्रुबकुमार शाही र कर्णाली प्रदेश सभा सदस्य ठम्मर विष्टले कांग्रेसबाट स्थानीय तहको निर्वाचनमा विजयी वडा सदस्यलाई नै पाटी प्रबेश गराईदिए । यसै गरि सुर्खेतको पश्चिममा समेत नेकपाका केन्द्रिय सदस्य विन्दमान विष्ट, जिल्ला नेता मोहन बडुवाल, चौकुनेका अध्यक्ष धिरबहादुर शाही र हरि अधिकारी लगायतले पाटी प्रवेशको कार्यक्रमलाई व्यापकता दिए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरू अहिले साविक कर्णालीका जिल्लाहरुमा कार्यकर्ता भेटघाट र पाटी प्रबेश गराउने कार्यक्रममा व्यस्त बनेका छन् ।
कालिकोटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राप्रपाका एक जना चर्चित नेतालाई नेकपा पार्टीमा प्रवेश गराए । कालिकोटमा जाँदा मुख्यमन्त्री शाहीसँगै सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल समेत सहभागी थिए ।
उनीबाहेक करीब आधा दर्जन पत्रकार, करीब २ दर्जन कार्यकर्ता उनको सवारीमा साथसाथै थिए । यस्तो विषम परिस्थितिमा समेत यतिधेरै व्यक्तिहरू सामूहिक रूपमै सुर्खेतबाट कालिकोट गएका हुन् ।
जब मुख्यमन्त्री शाहीको टोली जुम्ला पुग्यो, तब सहभागी संख्या ५० जनासम्म पुग्यो । हरेक जिल्लाबाट टोलीमा नेता–कार्यकर्ता थपिँदै गए । मुख्यमन्त्री महेन्द्र शाही जुम्ला रहदा उनको पछि लागेका गाडीहरुको भिडको तातीको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाईरल बनिरहेको छ ।
४ दिनअघि दैलेखको भैरबी गाउँपालिका–३ मा नेकपा वडा कमिटीको आयोजनामा गरिएको पार्टी सम्पर्क कार्यालय उद्घाटनको कार्यक्रममा प्रदेशसभा सदस्य सुशील थापाले ४५ जनालाई नेकपामा प्रवेश गराएको दाबी गरे । कार्यक्रममा उनीमाथि कांग्रेस पक्षधर कार्यकर्ताले हातपातको समेत प्रयास गरेको खबर सार्वजनिक भयो ।
सरकारले राजनीतिक भेला र भीडभाड नगर्न विभिन्न आदेश जारी गरेको अवस्थामा प्रतिपक्ष मात्रै नभई सत्तापक्षकै बरिष्ट नेताहरु समेत भिडभाड बढाउन पट्टी लागेका छन् ।
हरेक टोल–टोलमा पाटीका गतिविधि गर्ने नाममा ठुलो संख्यामा उपस्थिति हुन थालेपछि आफ्नो पाटीको उद्देश्य भिड जम्मा गर्नु नभएको बताउन थालेका छन् ।

नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सरकारले जारी गरेका आदेशहरु सत्ताधारी पाटी नेकपाकै नेता कार्यकर्ताहरुले उलघंन गर्दै हिडेकाले अन्य पाटीहरुलाई सरकारी आदेश पालना गर्नु बाध्यता नरहेको ठाडो प्रतिक्रिया दिए । उनले सरकार कोरोना रोकथाम र नियन्त्रणमा पुरै असफल भईसकेकोले अन्य आदेशहरुको कुनै अर्थ नभएको बताए ।
आफ्नो पाटी महाधिबेशनको मुखमा रहेकोले सानातिना भेला र बैठकहरु भएको हुनसक्ने भन्दै ठुलो संख्यामा बैठक र भेलाहरु नगरिएको दावी गरे । पीसिआर परीक्षण गर्न र अत्यावस्यक अवस्थामा समेत पास लिन सोर्सफोर्स लगाउनुपर्ने अवस्था आएको भन्दै सरकार पूर्णरुपमा फेल भएको उनले दाबी गरे । विद्यालय मात्रै बन्द गरेर कोरोना नियन्त्रण नहुँने उनको भनाई थियो ।
यस्तै, नेकपा कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले पाटीको नीति धेरै भीडभाड नगर्ने रहेको बताए । प्रदेश सरकारका मन्त्रीले सानो टीममा योजना अनुगमन गर्न, बाढीपहिरो पीडितलाई भेट्न जाने गरेको आफुले सूचना पाएको उनले दावी गरे ।
उनले अहिले सामाजिक सञ्जालमा आएका तस्वीर जस्तै गरेर कार्यक्रमहरु गरिएको भए अनुपयुक्त भएको बताए । कोरोना संक्रमण फैलने खतरा देखिए भिडभाड हुने कार्यक्रमहरु आफ्नो पाटीले रोक्ने बताए ।