
सुर्खेत १९ असार
सुर्खेतको सिम्ता गाउँपालिका वडा नं ७ बैशपानीमा जनतासंग प्रत्यक्ष सरोकार राख्ने ५ वटा कार्यक्रमहरुको एकैपटक उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसी,उपाध्यक्ष चन्द्रकला शाही, वडा अध्यक्ष गेहेन्द्रकुमार हमाल र विद्युत प्राधिकरण सुर्खेतका प्रमुख टंकराज गिरीले जनताको सेवा सुविधासंग प्रत्यक्ष जोडिएका ती कार्यक्रमहरुको उद्घाटन गरे।
वैशपानीमा शनिबार आयोजित कार्यक्रममा आफ्ना भनाइ राख्दै अध्यक्ष केसीले पुरै सिम्तामा आगामी ६ महिनाभित्रै विद्युत पुर्याउने दावी गरे। उनले आगामी आवमा पालिकाका आधा घरधुरी (करिब ३ हजार ५ सय) लाई एउटा खानेपानीको धारा उपलब्ध गराईसक्ने जानकारी दिए।अध्यक्ष केसीले सोही अवसरमा जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गरे।
सिम्ता उज्यालो कार्यक्रम अन्तर्गत वैशपानीमै नयाँ विद्युत लाईनको उद्घाटन गरियो। उक्त कार्यक्रममा पहुँच मार्ग अन्तर्गत मुख्यमन्त्री र प्रधानमन्त्री कार्यक्रमहरुबाट निर्माण भएका सडकहरुको उद्घाटनसमेत गरिएको थियो।
जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत एक घर एक स्वच्छ खानेपानीअन्तर्गत ५५ घरधुरीलाई खानेपानी धारा उद्घाटन र जनतासंग सिम्ता गाउँपालिका अन्तर्गत सुत्केरी आमालाई खाद्य तथा सरसफाइ सामाग्रीहरु वितरण गरिएको थियो।
सिम्ता गाउँपालिकाको वडा नं ७ बैशपानी सबैभन्दा टाढा रहेको दुर्गम बस्ती हो। स्थानीय नागरिकहरुले सरकारी सेवा र सुविधाहरु नदिई आफुलाई राज्यले उपेक्षा गरेको गरेको एक स्थानीयले वताए। कार्यक्रमको अध्यक्षता वडा सदस्य लोकबहादुर दमाईले गरेका थिए।