२०८३ वैशाख ४ , शुक्रबार

सुर्खेती कम्युनिस्टहरुको गौरवपूर्ण ऐतिहासिक पक्षः एक विवेचना



चिन्तामणि शर्मा
साउन ७, सुर्खेत
नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भएपनि सुर्खेतमा कम्युनिष्ट पार्टीको स्थापना हुन धेरै ढिलोगरी भयो । २०१३ सालमा कम्युनिष्ट पार्टीको संगठन निर्माण गर्न सल्यान जिल्लाबाट शंकर राई नाम गरेका कम्युनिष्ट कार्यकर्ता सुर्खेत आएको रेकर्ड देखिन्छ । उनले सुर्खेतमा आई बालकृष्ण मानन्धर, गगनदेव गिरी, लबमान मानन्धर, ओमवहादुर जीसी, पट्टु कार्की, घनश्याम कोईराला लगायतका व्यक्तिहरुलाई संगठित गरेपनि कमिटीकै रुपमा सञ्चालन हुन सकेन ।

पहिलो कम्युनिष्ट उम्मेदवारको रुपमा निर्मल लामाले दैलेख र सुर्खेत जिल्ला मिलाएर बनाईएको निर्वाचन क्षेत्र नम्बर ७७ बाट उम्मेद्धार भई चौथो स्थान प्राप्त गरेका थिए । प्रजातन्त्रको अपहरणछि २०१८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा सुर्खेत जिल्लाको सदरमुकाम गोठिकाँडामा शसस्त्र आक्रमण भयो ।

जमीनदारहरुको भागाभाग भयो । प्रशासनिक अड्डाहरु कब्जा भएपछि सरकारले तत्कालिन कम्युनिष्ट नेताहरु मध्ये लिलाधर गौतमको खुट्टा भाचेको थियो ।

२०२३ सालमा देवेन्द्र विसी, हस्त पुन,मोति मिदुन, बलभद्र घर्ती लगायतलाई पार्टीको सदस्यता बाबुराम गौतम र सत्यदेव भट्टराईले दिएका थिए ।

२०२४ सालमा बाबुराम गौतम संगठनको सचिव, देवेन्द्र विसी, हस्तबहादुर पुन, रमेशचन्द्र गौतम, मोति मिदुन, सत्यदेव भट्टराई, प्रेमबहादुर घले कम्युनिष्ट पार्टीको सदस्य बने ।

२०३० सालमा जिबेन्द्रदेव गिरी अञ्चल कमिटिको सचिव भएर सुर्खेत आए । सुरुवातमा सुर्खेतमा पुष्पलाल समुहको मात्रै वर्चश्व थियो । २०२८ सालमा भने सत्यदेव भट्टराई लगायतका नेताहरु तुल्सीलाल समुहमा गए ।

रुद्रदेव शर्मा, पृथ्वीबहादुर सिंह, टेकबहादुर राना, मदन मल्ल, पुष्पलाल समुहबाट छुट्टिएर तुलसीलाल अमात्य समुहमा प्रवेश गरे । खासगरि रुस र चिनलाई हेर्ने दृष्टिकोणमा मतभेद भएपछि यि दुई समुहको बिच विभाजन भएको थियो ।

त्यसपछि कम्युनिष्ट पार्टी छिन्नभिन्न हुदे गयो । पुष्पलालसंग मतभिन्नता देखाउदै रोहित समुह छुट्टिई अलग गतिविधी बढायो । मोदनाथ पश्रित लगायतले पुष्पलाल कांग्रेस परस्त भएको आरोप लगाउँदै अलग बने । केशरमणि पोखरेल समेत पार्टीबाट अलग भए । दरबारको षडयन्त्रको शिकार कम्युनिष्ट पार्टी बन्यो ।

नेपाली समाजमा स्थापित बन्दै गएको कम्युनिष्ट बिचार बोक्ने नेताहरुको टुटफुटले दरवार शक्तिशाली बन्यो भने कम्युनिष्ट संगठनहरु तहसनहस भए । कम्युनिष्ट संगठनहरु तहसनहस पार्न दरबारले आफ्ना सबै संयन्त्रहरुको प्रयोग गर्यो ।

सुर्खेतमा समेत कम्युनिस्ट पार्टी बिभाजनको ठुलो असर देखियोे। २०३१ सालमा सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा पार्टी विभाजन गर्न एक गोप्य भेलाको आयोजना गरियो । २०३३ सालमा मधु गुरुङ्गको आह्वानमा मुक्तिमोर्चा लगायतका कार्यकर्ताहरुको भेला लुम्बिनीमा डाकियो । सो भेलामा सुर्खेतबाट लिलाधर गौतम, हस्त पुन, लिला थापा, भक्तबहादुर केसी सहभागी भए ।

उक्त भेलामा सहभागी भएका उनीहरूले त्यहा समेत सहमत हुन नसकेपछि भक्त केसी र लिलाधर गौतम लगायतले झापा बिद्रोहबाट उदाएको क्रान्तिकारी कम्युनिष्ट कोओर्डिनेशन कमिटीको समर्थक वने । झापा विद्रोह गर्ने पार्टीको पक्षमा सुर्खेतमा संगठन विस्तार भयो ।

यसरी सुर्खेतमा कम्युनिष्ट पार्टीको दुई धार देखियो । कोओर्डिनेशन कमिटिमा सुर्खेतका कम्युनिष्ट नेताहरु बालाराम शर्मा, तुल्सी आचार्य, देवेन्द्र विसी, अर्जुन शाही, देवप्रसाद शास्त्री, डम्मर घर्ति, डिल्ली महतारा, घनश्याम कोईराला लगायतका नेताहरु सक्रिय बने ।

२०३६ साल जेठ ९ गते घोषणा भएको जनमत संग्रहको खुसियालीमा सुर्खेतको भेरी बेल्टका जनताहरु स्वस्फुर्तरुपमा गाउँगाउँबाट निस्किए । विभिन्न स्थानहरुमा प्रदर्शन भए । सुर्खेतमा कम्युनिष्ट पार्टीको दबदबा बढ्दै गएको अनुमान गरि सुर्खेतमा नपुग सुरक्षाकर्मी बाँकेबाट समेत ल्याई छिन्चु, दशरथपुर, रामघाट, मेहेलकुना लगायतका स्थानहरुमा गोप्य रुपमा सुरक्षाकर्मी परिचालित गरियो ।

२०३६ साल जेठ १५ गते दशरथपुरमा नरसंहारयुक्त गोलीकाण्ड घटाईयो। यसअघि लेखफर्साबाट दशरथपुर हुदै सुर्खेतको वीरेन्द्रनगरसम्म पुगी पञ्चायती शासनसत्ताका बिरुद्ध प्रदर्शन गर्ने जुलुसले निधो गरेको थियो । विभिन्न नारा जुलुस सहित वीरेन्द्रनगर तर्फ अघि बढेको जुलुसलाई पहिलेदेखिनै परिचालित सशस्त्र फौजले सुर्खेत जिल्लाको दशरथपुर घुम्ने भन्ने स्थान नजिकै चारैतिरबाट घेरा हाली अन्धाधुन्दा फायरिङ्ग गर्यो । गोली लागेर विद्यार्थी नेताहरु ईन्द्र विसी लगायतका सात जनाले सोही स्थानमा शाहदत प्राप्त गरे ।

दशरथपुर गोलीकाण्डले देशैभर सन्नाटा छायो । यसको विरुद्धमा सुर्खेतको वीरेन्द्रनगरमा पञ्चायती शासन विरुद्ध ठुलो आन्दोलन सुरु भयो । आन्दोलनमा कालिप्रसाद शाक्य, महेन्द्रप्रसाद शर्मा, नरेन्द्र कोईराला, ऋषिप्रसाद थानी लगायतका घाईते भए । ऋषिप्रसाद थानी, चन्द्र प्याकुरेल र नरेन्द्र कोईराला गिरफ्तार भए ।

देशविदेशमा पंचायती शासनसत्ताले दमन गरेको भन्दै ठूलो विरोध सुरु भयो । दशरथपुर घटनाले सरकार दवावमा पर्याे । अत्तालिएको सरकारले दसरथपुर घटना वारे छानविन आयोग गठन गर्यो । आयोगले प्रदर्शनकारीहरुले बैंक र कृषिकेन्द्र लुट्ने उदेश्य राखेकोले बाध्य भई गोली चलाउनु परेको प्रतिवेदन सार्वजनिक गर्यो ।

२०४२ सालपछि सुर्खेतको पार्टी निर्माणको जिम्मेवारीमा मेघवहादुर विसी आए । यसविचमा नेकपा मालेले पञ्चायती चुनाव उपयोग गर्ने नीति अनुसार २०४३ सालमा बालाराम शर्मालाई जनपक्षीय उम्मेद्धार बनाउने समेत निर्णय गर्यो ।

तर निर्वाचनमा उनी चौथो बने । बिजयी भएका चन्द्रबहादुर बुढाले २६ हजार भन्दाबढी मत प्राप्त गर्दा कम्युनिष्ट नेता शर्माको पक्षमा दुईहजारको हाराहारीमा मात्र मत खस्यो । शर्माले सुर्खेत पुूर्वको काफलकोट मतदान केन्द्रबाट मात्रै सम्मानजनक मत प्राप्त गरेका थिए ।

जनपक्षीय उम्मेदवार शर्माको पक्षमा सुर्खेतको पुर्वी क्षेत्रमा ऋषिप्रसाद शर्मा, पुर्णबहादुर शाही, दिर्घ गुरुङ्ग, रत्न अधिकारी, भोजेन्द्र हमाल, रणबहादुर रावत, मदन सेवक, चरित्र चन्द, डिल्ली महतारा, डम्मर घर्ति, देवेन्द्र वीसी, निमबहादुर चन्द, प्रेमप्रसाद शर्मा, कालिबहादुर मल्ल, लोकबहादुर खड्का, झकबहादुर जिसी, लंकबहादुर मल्ल, तुल्सीप्रसाद आचार्य, गणेश खत्री, छत्रबहादुर शाही, खड्क घर्ति, खड्कबहादुर खत्री, निर्मल ढकाल र माधव ढकाल लगायत खटेका थिए ।

उपत्यकामा भने घनश्याम कोईराला, श्यामकृष्ण अधिकारी, दिनेश पंगाली, अनिता कोईराला, मेघबहादुर बोहोरा, लक्ष्मीकान्त पन्त, ओमबहादुर बोहोरा, कालिका चौधरी, महेन्द्र शर्मा, यामलाल कंडेल, प्रकाश ज्वाला लगायतका खटेका थिए भने सुर्खेतको पश्चिम क्षेत्रमा नन्दा चपाई, लिलाराम चपाई, भुमिसरा चपाई, खगेन्द्र रिमाल, विष्णु खराल, देवानन्द रिमाल, यामबहादुर थापा र लल्ते कामी लगायतका कम्युनिष्ट कार्यकर्ताहरु जुटेका थिए ।

२०४४ सालमा तत्कालिन समयमा चर्चित रहेका माले नेता प्रमाप्रसाद थानी एक्कासी पञ्चायतमा प्रबेश गरे । प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्चको अध्यक्ष रहेका थानी एक्कासी पञ्चायती ब्यवस्थाको समर्थक बनेपछि आफ्ना गोप्य सूचनाहरु लिक हुने डरले कम्युनिष्टहरु उनी प्रति आक्रामक बने। गोप्यता भङ्ग गरेको र प्रहरीलाई पार्टीको गतिविधि बारे जानकारी गराएको संगिन आरोप उनी माथि लाग्यो ।

एकता मञ्चको उपाध्यक्ष रहेका पूर्णबहादुर शाहीलाई कार्यबाहक बनाउदै बसेको बैठकले थानीले पार्टीप्रति गद्दारी गरेको भन्दै फेला परे सफाया गर्ने निर्णय समेत गरेको नाम उल्लेख नगर्ने शर्तमा उक्त कमिटिमा रहेका एक सदस्यले जानकारी दिए । तत्कालिन समयमा पञ्चायती शासनसत्ताले उनलाई सुरक्षा नदिएको भए सम्भवतः उनी मारिने थिए । अरु भन्दा पनि संगठनका सम्पूर्ण गोप्य सूचनाहरु प्रहरीलाई दिएकोमा संगठन उनी प्रति आक्रामक बनेको थियो ।

यसैविच, २०४६ को संयुक्त जन आन्दोलनको घोषणा हुनुपूर्व भद्रगोल जेलमा रहेका बालाराम शर्मालाई पुनरावेदन अदालत सुर्खेतले निर्दाेष ठहर गर्दै रिहा गर्ने आदेश दियो ।

उनकै अग्रसरतामा २०४६ को जन आन्दोलन सफल पार्न सुर्खेतमा बाममोर्चाको गठन गरियो । नेकपा माले, नेमकिपा, नेकपा मसाल, मजदुर किसान पार्टी र माक्सबादीका कार्यकर्ताहरु भेलाभई सुर्खेतमा बाम मोर्चाको गठन गरे ।
बाममोर्चाको संयोजकमा मदन शर्मा चयन भए भने सदस्यहरुमा भुषण मानन्धर, केदार कंडेल, लोकप्रशाद पन्त र कृष्णबहादुर हमाललाई चयन गरियो ।

२०४६ सालमा भएको जन आन्दोलनबाट प्रजातन्त्रको पुनःस्थापना भयो । पुनःस्थापना लगत्तै बामदेब गौतमको उपस्थितिमा नेकपा मालेको खुल्ला जिल्ला पार्टी गठन गरियो । जसको इन्चार्जमा बालाराम शर्मा तोकिए भने सचिवमा देवेन्द्र विसी । उक्त गठित कमिटी १६ सदस्यीय रहेको थियो ।

२०४७ साल असाढ १३ गते एक महिनाको फरकमा बामदेब गौतमकै उपस्थितिमा जिल्ला पार्टी प्रचार दल गठन गरियो जसको सचिवमा देबेन्द्र विसी रहेका थिए । सदस्यहरुमा डिलाराम गिरी, कुलदिप भट्ट, हेमप्रकाश भुसाल, खगेन्द्र थापा, अनिता कोइराला, झकबहादुर जिसी, दयाराम गिरी, गरिबलाल चौधरी, हरिलाल नेपाली, पूर्णबहादुर शाही र महेन्द्र शर्मा रहेका थिए ।

प्रजातन्त्रको आगमन संगै टुटफुटबाट रुमलिदै आएको कम्युनिष्ट पार्टीहरुलाई एक बनाउने उद्देश्य बमोजिम केन्द्रमा मदनकुमार भण्डारी सक्रिय रहेका थिए । उनी लगायतमा नेताहरुको पहलमा केन्द्रमा समेत पार्टी एकताको अभियानहरु चल्दै थिए । सुर्खेतमा पनि माले र माक्सबादी विच एकता भयो ।

सुर्खेतको हकमा माक्सबादीहरु प्रायजसो दर्शनका कुरामात्रै गर्ने, संगठन निर्माणमा खासै ध्यान नदिने आरोप लाग्ने गरेको थियो । तर मालेका कार्यकर्ताहरु दर्शनमा कम तर ज्यादा संगठित थिए । दुई पार्टी विचको एकिकरणले नेपाली कम्युनिष्ट आन्दोलनले गति लियो । कमजोर देखिएको कम्युनिष्ट पार्टीले देशभर राम्रो संगठन निर्माण गर्न सक्यो ।

२०४७ सालमा भएको आम निर्वाचन र २०४९ सालमा भएको स्थानीय निकायको निर्वाचन पछि भने सुर्खेतमा कम्युनिष्ट पार्टीले ब्यापकता लिदै गयो । उनीहरूले कांग्रेससंग भिड्न संगठन निर्माणमा ध्यान दिए ।

२०४९ सालको स्थानीय निकायको चुनावमा वीरेन्द्रनगरको मेयर र उपमेयर कांग्रेसको अन्तरघातका कारण जितेको नेकपा एमालेले त्यसपछिका निर्वाचनमा भने पछि फर्कनु परेन ।

२०४७ साल चैत्र ९ गते सुर्खेतमा नेकपा माले र माक्सबादी विच पार्टी एकिकरण गरियो । जसको सचिवमा हस्तबहादुर पुन चयन भए । बालाराम शर्मा, देवेन्द्र विसी, डिलाराम गिरी, मानबहादुर खत्री, भुषण मानन्धर, बालकृष्ण विसी लगायतको ३६ सदस्यीय जिल्ला कमिटी बन्यो ।

पार्टी संगठन चुस्तदुरुस्त नबनेको र संगठन परिचालनमा समेत सुस्तता देखिएको भन्दै काठमाडौंमा विद्यार्थी राजनीति गरिरहेका यामलाल कंडेललाई सुर्खेत बोलाई एमाले पार्टी सचिबको जिम्मेवारी दिइयो । उपसचिबमा देबेन्द्र विसी चयन भए । कर्मचारी क्षेत्रबाट राजनीतिमा आएका शिवप्रसाद उपाध्यायको समेत राजनीतिमा जवर्जस्त इन्ट्री भयो । उनी जिल्ला कमिटी सदस्य बने ।

२०५१ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा यामलाल कंडेलले मेयर पदबाट राजिनामा दिई सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवार बने । आक्रामक र अन्तरमुखी स्वभावका कंडेलले सुर्खेतको राजनीतिमा मेयर हुँदा नै आफ्नो छवि राम्रो बनाईसकेका थिए । प्रस्ट बक्ता र कोहि कसैसंग नझुक्ने उनको स्वभावले आम कार्यकर्ता पंत्तिमा उनको छट्टै स्थान बनिसकेको थियो ।

सुर्खेतमा कमजोर अवस्थामा रहेको पार्टी संगठन र महत्वपूर्ण पदमा उनी मात्रै रहेकोले कार्यकर्ताको आकर्षण उनी प्रति बढ्दै गयो । कांग्रेसको अन्तर्घात र कंडेलको लोकप्रियताको कारण सांसद बन्न उनलाई धेरै अप्ठ्यारो भएन । हृदयराम थानीलाई पराजित गर्दै उनी सांसद बने ।

२०५४ सालमा नेकपा एमालेको विभाजन भयो । पार्टी विभाजन पछि कंडेल बामदेब गौतम नेतृत्वको माले पार्टीमा लागे । जिल्लाका मुख्य नेताहरु बालाराम शर्मा, देवेन्द्र विसी, डिलाराम गिरी, कुलदिप भट्ट, हस्तबहादुर पुन, खड्क घर्ती, हेमप्रकाश भुषाल, चुडामणि शर्मा र हर्क राना माले तिर लागे भने ऋषिप्रसाद शर्मा, शिवप्रसाद उपाध्याय, भुषण मानन्धर, बालकृष्ण विसी, टोपबहादुर आरसी, पृथ्विबहादुर सिंह, पूर्णबहादुर शाही, नन्दा शर्मा, देबबहादुर खत्री, माधब ढकाल र नवराज रावत एमालेतिर लागे । मालेतिर ९ र एमालेतिर ११ सदस्य विभाजित बने ।

यस विचमा देशमा नेकपा माओवादीले जनयुद्वको घोषणा गर्यो । धेरैको मृत्यु भयो, ठुलो संख्यामा अपाङ्ग बन बने । आजसम्म बेपत्ताहरुको स्थिति पत्ता लाग्न सकेको छैन । राज्यले खर्बौको सम्पत्ती गुमायो । राजतन्त्रको अन्त्य भयो । देशमा संघीय गणतन्त्र स्थापना भयो ।

यसरी माले पार्टीमा कंडेल लागेपछि सुर्खेतको कम्युनिष्ट राजनीति समेत २ धारमा देखियो । नेकपा एमाले भित्र पार्टी एकिकरण पश्चात समेत उनलाई माले गुठको नेता भनेर छोईछिटो हुन थाल्यो ।

विस्तारै पार्टीको सम्पूर्ण कमाण्ड आफुले लिएका कंडेलले नेकपा एमालेको विभाजन पछि भने २ धारको संगठन मध्ये मालेको संगठन चलाउन बाध्य हुनु पर्यो । माले एमाले वीच पुनः पार्टी एकता भएपनि यामलाल भर्सेज बाँकी असन्तुष्टहरु जम्मै एका ठाउँ हुने अवस्था अहिलेसम्म पनि देखिएको छ । २०७४ मा एमाले र माओवादी पार्टी वीचमा पार्टी एकता हुनेगरी चुनावमा सहकार्य भयो ।

तर चरम व्यक्तिवादिता र गुठवन्दीले यी दुई वीचको एकता ३ वर्षमा तुहियो । सर्वाेच्चले दुई पार्टीलाई अलगअलग वनाईदिएपछि अहिले एमाले र माओवादीले अलग अस्थित्वमा संगठन निर्माण गरिरहेका छन् । नेकपाको विवाद अब एमाले भित्र प्रवेश गरेको छ । माधव र केपी गुट वनाएर पार्टी विभाजनको अन्तिम खेल खेलिदैछ । यसले सुर्खेतको कम्युनिष्ट आन्दोलन कता जाने हो ? को कता पुग्ने हो ? भन्न सकिन्न !

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहीबार