
सुर्खेत २१ साउन
भूमि सम्वन्धी आयोगका जिल्ला अध्यक्ष ऐनवहादुर चन्दले आवश्यक परे भूमिहीन सुकुम्बासीहरुको पक्षमा आन्दोलनको नेतृत्व गर्न तैयार भएको वताएका छन् । भूमिहीनहरुको वर्षौदेखिको समस्या समाधान हुन लागेको वेला सरकारले आयोग नै खारेज गरेर अपराध गरेको ठोकुवा गरे।
अध्यक्ष चन्दले कोटमाँझखर्क (भेरीगंगा र गुर्वाकोटका क्षेत्र) को ६ सय ७७ को भेरिफिकेशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले वढीमा १५ दिनभित्र पूर्जा वितरण गर्ने अन्तिम तैयारी समेत गरिएको जनाए।
यसैगरी, राप्ती वसोवास र विगतका आयोगहरुले गरेका ३ हजार ५ सय अधुरा कामलाई छानबिन गरि फिल्डवुक नापनक्सा र श्रेष्ता अध्ययन गरि असोज अगावै पूर्जा वाढ्ने तैयारी गरिएको अध्यक्ष चन्दले दाबी गरे।
भूमिहीन र सुकुम्बासीहरु जहाँ वसेका छन, त्यहि वसोवास गराउने गरि आफुहरुले काम गरिरहेको उनको भनाइ छ। जग्गा जमीन नभएका र आश्रममा वसेकाहरुलाई स्थानीय, प्रदेश र संघ सरकारको समन्वयमा जग्गा व्यवस्थापन गर्ने उद्देश्य राखिएको वताए।
सुर्खेतमा अव्यवस्थित वसोवासीहरुको समेत ठूलो समस्या भएको वताए। वाजेका पालादेखि वसोवास गर्दै आएपनि उनीहरूको नाममा जग्गा छैन। उनीहरूको हकमा प्रगतिशील कर लगाई व्यवस्थित गर्ने आयोगको उद्देश्य रहेको प्रष्ट पारे। सवै प्रकारका भूमिहीन र अव्यवस्थित वसोवासीहरुको हातमा १ वर्षभित्रै लालपुर्जा पार्ने आफूहरुको योजना वर्तमान सरकारले ध्वस्त पारेको भन्दै उनले रोष प्रकट गरे।