
सुर्खेत २४, साउन
भूमि सम्बन्धि समस्या समाधान आयोग खारेजीको विरोधमा भूमिहीनहरु संगठित हुँदै गएका छन्। स्वस्फूर्तरुपमा सुर्खेतको वीरेन्द्रनगरका विभिन्न वडामा भेला भएर उनीहरूले आयोग खारेजी विरुद्ध सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
आज (आईतवार) वीरेन्द्रनगर वडा नं ११ मा जम्मा भएका भूमिहीनहरुले काङ्ग्रेस देउवा नेतृत्वको कांग्रेसी सरकारले जग्गाको मालिक वन्नै लागेको वेला आयोग विघटन गरेर आफुहरुलाई अन्याय गरेको वताए। उनीहरुले आयोग विघटनका विरुद्ध गाउँ गाउँवाट आफुहरु जुरुक्कै उठेको र सुकुम्बासी आयोग खारेज गर्ने निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने वताए।
भेलाले प्रकाश सुनारको संयोजकत्वमा ५ सय १ सदस्यीय आयोग पुनःस्थापन संघर्ष समिति गठन गरेको छ। समितिको सह-संयोजकमा प्रेम चुनारा लगायतका रहेका छन।
यसैगरी, आयोग पुनस्स्थापना संघर्ष समिति बीरेन्द्रनगरको वडा नं १२ मासमेत गठन भएको छ। भूमिहीनहरुको भेलाले स्थानीय ओमबहादुर शाहीको संयोजकत्वमा ३ सय ५१ सदस्यीय भुमि सम्बन्धी समस्या समाधान आयोग स्थापना संघर्ष समिति गठन गरेको छ।
यसैबीच, आयोग पुनःस्थापनाको माग गर्दै वीरेन्द्रनगरका वडा नं ४,५ का भूमिहीनहरुले सम्वन्धित वडा कार्यालयमा ज्ञापनपत्र वुझाएका छन् ।
सरकारले गरेको आयोग खारेज गर्ने निर्णय प्रती प्रतिकृया दिदै वीरेन्द्रनगर वडा नं ६ को संघर्ष समितिका संयोजक वालकृष्ण सुनारले आयोग पुनःस्थापना नगरेसम्म आन्दोलन जारी राख्ने प्रतिकृया दिए।
वडा संघर्ष समिति गठन प्रकृया सकिन लागेको र छिट्टै नगर र प्रदेश कमिटी गठन गरि आन्दोलनलाई निर्णायक वनाउने उनले उल्लेख गरे। उनले भने, ‘सरकारले खुट्टामा चोट लाग्यो भने उपचार गर्नुको साटो खुट्टा नै काट्न खोजे जस्तो देखियो।’