२०८३ वैशाख ४ , शुक्रबार
कांग्रेसमा चौधौं महाधिवेशनको रौनक

सुर्खेत जिल्ला सभापतिमा नगर प्रमुख सुवेदीको कति संभावना ?



साउन २४, सुर्खेत

नेपाली कांग्रेसको चौधौ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत दुई पक्ष विच कडा प्रतिस्पर्धा देखिएको छ । केन्द्रमा जुनसुकै प्रकारको समिकरण वनेपनि जिल्लामा ५० को दशकदेखि हालसम्म पनि पूर्णवहादुर खड्का भर्सेज हृदयराम थानी हुने गरेको छ ।
मुलुकको सवैभन्दा जेठो र ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसमा विगतदेखि नै दुई लाईन संघर्ष हुदै आएको छ । विपी र मातृका हुँदै हाल रामचन्द्र र शेरवहादुर वीचमा गुटगत प्रतिस्पर्धा जारी छ ।
सुर्खेत जिल्लाको हकमा भने २०४६ को परिवर्तन पश्चात् तत्कालीन अवस्थामा एकै टिममा रहेका र पछि केन्द्रीय लाईन अनुसार फरकफरक खेमामा सकृय कांग्रेसका दुई नेता विचका शक्ति संघर्ष अविच्चिन्न रुपमा अघि वढिरहेको छ । केन्द्रीय राजनीतिको शिखरमा रहेका कांग्रेसका ‘हेभीवेयट’ नेता महामन्त्री पूर्णवहादुर खड्का र जिल्लाको राजनीतिमा खड्कालाई समेत पछारेर आफु अनुकुल पार्टीको जिल्ला समिति वनाई जिल्लामा निरन्तर पकड वनाईरहेका नेता केन्द्रीय सदस्य हृदयराम थानी विच चौधौं महाधिवेशनमा हुने भिडन्त रोचक वन्दै गएको छ ।

अद्भुत खटाईले जिल्लाको राजनीतिमा खड्काका सवै योजनालाई अहिलेसम्म चकनाचुर पार्दै आएका थानीसंग आफै जस्तै खट्ने अनुशासित कार्यकर्ताको लामो लाईन खडा छ । थानीको आदेशलाई ‘ईफ र वट’ नगरी आदेशको परिपालन गर्ने अनि थानी जस्तै सादगी जीवन विताउनेहरुको पंक्तिको साथ र समर्थनले केन्द्रीय राजनीतिका मियो वनेका खड्कालाई जिल्लामा हम्मेहम्मे परेको छ ।

विगत लामो समयदेखि स्वर्गीय तप्तवहादुर विष्टलाई आफ्नो टिम क्याप्टेन वनाइ थानीले जिल्लाको पार्टी राजनीतिमा एकछत्र पकड जमाएका थिए । उक्त समयमा नेता खड्का निकटकालाई जिल्लामा कुनै भूमिका दिईएन ।

तप्प विष्ट पछाडि तेह्रौं महाधिवेशनमा अहिलेका जिल्ला सभापति कमलराज रेग्मीले पूर्ण खड्का निकट कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञवहादुर विसीलाई पराजित गरेका थिए ।

तर, कांग्रेसको चौधौं महाधिवेशनमा भने सुर्खेत जिल्लाको समिकरणमा परिवर्तन आएको छ । हृदयराम थानीसंग लामो समयदेखि सहकार्य गरेका वीरेन्द्रनगर पालिकाका मेयर देवकुमार सुवेदी थानी क्पाम्प छोडेर खड्का क्याम्प प्रवेश गरेका छन् । कांग्रेसको युवा पुस्ता माँझ लोकप्रिय रहेका सुवेदीको क्याम्प परिवर्तनले थानी टिमलाई ठूलै धक्का लाग्ने अनुमान गरिएको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको ’लालकिल्ला’ भत्काएर मेयरमा निर्वाचित भएपछि सुवेदीको लोकप्रियता झनै चुलिएको छ । वीरेन्द्रनगर पालिकामा उपमेयर सहित वहुमत सदस्यहरु निर्वाचित हुँदापनि सुवेदी मेयरमा निर्वाचित भएका थिए ।

कांग्रेसका पूर्व पार्टी सभापति तप्तवहादुर विष्टको निधन पछि सुर्खेतको पश्चिम क्षेत्रमा थानी पक्षले थप पकड वनाउदै लगेको छ । थानी टिम पश्चिम चौकुनेमा खड्का पक्षलाई ’क्लिन स्वीप’ गर्ने तैयारीमा छ । यसैगरी वराह गाउँ पालिकामा समेत थानी पक्षले मजवुत पकड कायम गरेको छ । पूर्वमन्त्री शिवराज जोशीको सकृयताले पंचपुरीमासमेत झण्डै ७० प्रतिशत आफुहरुको पकड वनेको पश्चिम क्षेत्रका थानी पक्षीय एक कांग्रेसी नेता वताउँछन ।

भेरीगंगा र सिम्तामा पनि अघिल्लो महाधिवेशनको तुलनामा थानी गुट वलियो वनेको छ । महाधिवेशनको मुखैमा भेरीगंगा कांग्रेसका चर्चित युवा नेता वेदु गिरीको निधनले खड्का पक्षलाई झड्का लागेको छ । यी दुई पालिकाकामा अघिल्लो पटक भन्दा यसपटक राम्रो गर्ने दाउमा थानी खेमा छ ।

गुर्भाकोटमा यसपटक पनि थानी पक्षको कुनै जोड चल्ने छैन । गुर्भाकोटका मेयर हस्त पुनले आफुलाई पूर्णवहादुर खड्काको विरासत थाम्नेगरी परिस्कृत गराउदै लगेकाले थानी टिमले यहाँ कुनै उपलब्धि हासिल गर्नसक्ने छैन । गुर्भाकोटको किल्ला मेयर हस्त पुनले खड्काका लागि अहिलेपनि वाधेर राखिदिएका छन् । लेकवेसी र चिंगाडमा थानी टिम पहिलेको तुलनामा केही कमजोर वनेको छ ।

कांग्रेसको यसपटकको जिल्ला अधिवेशनमा वीरेन्द्रनगर पालिका नै निर्णायक हुने देखिन्छ। थानीको वलियो पकड रहेको वीरेन्द्रनगरमा खड्का खेमाले समेत सभापति जित्ने गरि ठूलो तैयारी गरेको छ । महाधिवेशन घोषणा हुनु अगावै अगुवा कार्यकर्ताहरुलाई कांग्रेसका विभिन्न विभागमा मनोनित गरी आफ्नो पक्षमा तान्ने खेल खड्का खेमावाट सुरु गरिएको थियो। यसवाट थानी पक्ष कमजोर वन्ने आँकलन गरेपनि सोचे जसरी अगुवा कार्यकर्ताहरु प्रभावित नभएको स्वयं खड्का पक्षका नेताहरु नै स्वीकार गर्छन । वीरेन्द्रनगरको वडा नं ४,७,१० मा तुलनात्मक रुपमा थानी टिम कमजोर देखिएको छ ।

यसरी हेर्दा अझैपनि सुर्खेत जिल्लामा थानीको पकड कायम रहने धेरैको अनुमान छ । थानी टिमवाट पुनः वर्तमान सभापति कमलराज रेग्मी सभापतिमा उठ्ने करिबकरिब निश्चित जस्तै छ । खड्का पक्ष अझै अलमल मै रहेकोले उनको प्रतिद्वन्दी को हुने भन्ने ठेगान लागिसकेको छैन। तैपनि उनको विरुद्धमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञ विसी उठ्ने अनुमान गरिएको छ ।

पार्टी सभापति रेग्मीको तुलनामा विसी कमजोर उम्मेदवार हुने जानकारहरु वताउँछन । विसी सभापतिको उम्मेदवार वन्दा रेग्मीले खड्का खेमावाट समेत उल्लेख्य मत तान्न सक्ने धेरैको अनुमान छ। उनले सिम्ता र लेकवेसीवाट खड्का खेमाको केही मत प्रभावित गर्नेछन् । अघिल्लो पटक पनि रेग्मीले खड्का टिमलाई ’चक्मा’ दिदै पूर्वी क्षेत्रका केही मत खोसेका थिए ।

अधिवेशनमा खड्का खेमा निकट भै अभियानमा सामेल नेपाली कांग्रेस वीरेन्द्रनगर वडा नं ४ का सभापति गोविन्दप्रसाद शर्मा भन्छन्,’ सभापतिमा रेग्मीलाई पल्टाउने हो भने नगर प्रमुख देवकुमार सुवेदी ट्रम कार्ड वन्न सक्छन । सुवेदी सभापतिमा उठे सजिलै जित्न सकिन्छ ।’

जानकारहरुसमेत कांग्रेसको जिल्ला अधिवेशनमा खड्का खेमावाट विसीको तुलनामा सुवेदी वलियो उम्मेदवार भएको विश्वास गर्दछन । तर, उनीहरू यति छिट्टै खड्का खेमाले सुवेदीलाई नेतृत्व सुम्पने कुरामा चाहिँ विश्वास गरि हाल्दैनन् । एक जानकार भन्छन, ‘खड्काले तत्काल यो गेम खेल्ने कुरामा विश्वास छैन ।’

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतबार