२०८३ वैशाख ४ , शुक्रबार

विष्णु रिजालले नेकपा एमाले वचाईदिन गुहार मागे



सुर्खेत ३० साउन

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी भित्र विवाद चर्कदै गई विभाजन नै हुनसक्ने अनुमान गरि दुई नेता पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल मिल्नै पर्नै वताएका छन्।

विगतमा एमाले पार्टी यो अवस्थासम्म आईपुग्नमा दुई नेताको महत्वपूर्ण भूमिका रहेको भन्दै अझैपनि पार्टी र कम्युनिस्ट आन्दोलन वचाउन दुवै नेतासंग गुहार मागेका छन्। दुई नेता वीचमा विगतमा राम्रो सम्बन्ध रहेको भन्दै एकअर्का विच ईगो नसाध्न रिजालले आग्रह गरेका छन् ।

विदेश विभागका उप प्रमुख समेत रहेका रिजालले आज सामाजिक संजालमा लेख्दै आजको नेकपा (एमाले) मूलतः कमरेड माधवकुमार नेपाल र कमरेड केपी ओलीबीचको सहकार्यको परिणाम भएको उल्लेख गरेका छन् ।

उनले इतिहासका कठिन र सहज दुबै मोडहरुमा दुई जना एकै ठाउँमा उभिने गरेको र अरु नेताहरुका पनि योगदान छ भन्दै मूलरुपमा केपी ओली र माधवकुमार नेपाल दुई जना एक ठाउँमा उभिँदा एमालेको जुन भाष्य, छवि र विम्ब बन्छ, त्यो नै एमालेको पहिचान बनेको उनले दावी गरेका छन् । उनले यसवारेमा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर कुरा राखेको सार्वजनिक गरेका छन्।

उनले विगतमा केपी र माधव विचमा कुन कुन संगिन मोडमा एकमत भयो भन्ने उल्लेख गर्दै यसलाई चौध तथ्यमा सार्वजनिक गरेका छन् । पहिलो तथ्यमा ५० सालमा मदन भण्डारीको रहस्यमय हत्यापछि पार्टीमा सिर्जित विशाल र अत्यासलाग्दो रिक्तताको पूर्ति माधव नेपालको नेतृत्वमा उनीहरु दुई जना मिलेर नै गरेको हो ।

तत्थ्य दुईमा जनताको बहुदलीय जनवादको निरन्तरता, विकास र अद्यावधिक गर्नमा छैटौँ र सातौँ महाधिवशेनमार्फत भएका योगदानहरुमा माधव नेपाल र केपी ओलीको सहकार्यको सोचका परिणामहरु थिए।

तत्थ्य तीनमा ५१ मा एमालेको लोकप्रिय सरकार निर्माण र सञ्चालनमा माधव नेपाल र केपी ओलीको योगदानले मुख्य रुपमा भूमिका निर्वाह गरेको छ । प्रधानमन्त्री मनमोहन अधिकारीलाई विवादरहित रुपमा सम्मानित स्थानमा राखेर सरकारका कामहरु माधव नेपालको नेतृत्वमा यही टिमले प्रभावकारी रुपमा काम गरेको थियो ।

तत्थ्य चारमा तमाम आलोचना र उग्र विरोधका वावजुद भारतसँग महाकाली सन्धि गर्दा माधव नेपाल र केपी ओली एकै ठाउँ उभिएका थिए । अनेक आरोप र लाञ्छनाहरु खाँदा पनि उनीहरुले सँगै मिलेर सहेका थिए ।

तत्थ्य पाँचमा ५४ को पार्टी विभाजनको पीडादायी क्षणमा माधव नेपाल र केपी ओली एक ठाउँमा उभिएर नै नेकपा ९एमाले०लाई बलियो पार्टी बनाइराख्ने सफलता प्राप्त भएको हो । स्थापित नेताहरुले नेकपा (माले) बनाउँदा त्यसको सामना उनीहरु दुई जनाको सहकार्यबाट नै भएको हो ।

तत्थ्य छमा ०५६ मा मनमोहन अधिकारीको निधनपछि एमालेका नेता-कार्यकर्तालाई नेतृत्वप्रति भरोषा जगाइराख्ने काम माधव नेपाल र केपी ओलीको संयुक्त प्रयासबाट नै भएको थियो ।

तत्थ्य सातमा माओवादी उग्रवामपन्थलाई हेर्ने सवालमा माधव नेपाल र केपी ओलीका बीचमा समान धारणाहरु नै रहँदै आएका थिए । सैद्धान्तिकरबैचारिक रुपमा त्यस उग्र वामपन्थको तीब्र आलोचना र विरोध अनि व्यावहारिक रुपमा उनीहरुलाई रुपान्तरण गर्ने र शान्ति प्रक्रियामा ल्याउने बारेमा दुई नेताहरु सँगै उभिएको प्रमाण १२ बुँदे समझदारी पनि हो, जसको मस्यौदा नै माधव नेपालको उपस्थितिमा केपी ओलीले गरेको हो ।

तत्थ्य आठमा ०६२/६३ को जनआन्दोलन र त्यसलाई हेर्ने प्रश्नमा पार्टीभित्र विवाद हुँदा दुई नेताहरुको दृष्टिकोण एउटै थियो । ‘ऐतिहासिक जनआन्दोलन हो कि जनक्रान्ति नै हो भनेर बहस हुँदा दुबैजना’ जनक्रान्तिको स्वरुप ग्रहण गरेको ऐतिहासिक जनआन्दोलन भन्नेमा पुगेको र त्यही नै पार्टीको आधिकारिक लाइन बनेको उल्लेख छ।

तत्थ्य नौंमा ५३ सालमा झलनाथ खनाललाई अघि सारेर माधवकुमार नेपाललाई महासचिवबाट हटाउन हस्ताक्षर गरेर अभियान थाल्दा त्यसका विरुद्धमा प्रमुख रुपमा उभिनेमा केपी ओली नै थिए भने ६१ मा ज्ञानेन्द्रले माधव नेपाललाई नजरबन्दमा राखेको बेला फेरि झलनाथ खनालले महासचिवबाट हटाउन खोज्दा रोक्नेमा केपी ओली नै थिए ।

तत्थ्य दशमा जनआन्दोलनपछि ६३ मा गिरिजाप्रसाद कोइरालाको सरकारमा पार्टीका तर्फबाट नेतृत्व गरेर जान अनेक नेताहरु दावेदार रहेको बेला माधव नेपालले जोखिम मोलेर केपी ओलीलाई उपप्रधानमन्त्री बनाएर पठाएका थिए भने पछि माधव नेपाललाई संविधानसभा सदस्य मनोनित भएर जानका लागि दवाव दिन र प्रधानमन्त्री बनाउन केपी ओलीले भूमिका निर्वाह गरेका थिए । पार्टीभित्रैबाट सुरुदेखि नै त्यस सरकारका विरुद्धमा निरन्तर प्रहार हुँदा प्रतिरक्षामा उभिने प्रमुख नेता केपी ओली नै थिए।

तत्थ्य एघारमा माधव नेपाल र केपी ओलीबीच यस्तोसम्म संयोग छ, ०६४ मा चुनाव हार्दा पनि दुबैजनाले एकै पटक हारेको उल्लेख गर्दै दुवैजना पार्टीको सफलता र विफलताको समान भागीदार उहाँहरु बन्दै आएको उल्लेख छ।

तत्थ्य बाह्रमा संविधानलाई जातीय दस्तावेज बन्न नदिन, राज्य पुनःसंरचनाका नाममा मुलुकको अखण्डता खल्बलिन नदिन र लोकतान्त्रिक मूल्यहरु संकुचन हुन नदिन संविधान निर्माणका सबै विषयवस्तुहरुमा माधव नेपाल र केपी ओली एकै ठाउँ उभिएको उल्लेख गरिएको छ।

तत्थ्य तेह्रमा ०७१ को नवौँ महाधिवशनमा उनीहरुका बीचमा प्रतिस्ष्पर्धा भएपछि विकसित तिक्तताका बाबजुद मूल विषयहरुमा दुई नेताबीच मतभेद नदेखिएन भन्दै केपी ओलीको नेतृत्वमा भारतीय नाकावन्दीको दृढतापूर्वक सामना गर्ने, माओवादीसँग चुनावी तालमेल र एकता गर्ने, आफ्नो भूमि समेटेर नेपालको नक्सा जारी गर्ने जस्ता कामहरुमा माधव नेपालको खुलेर साथ रहेको उल्लेख गरिएको छ।

तत्थ्य चौधमा सैद्धान्तिक बैचारिक विषयहरुमा मतभेद छैनन्, व्यवहारिक रुपमा एक अर्काप्रति गुनासा छन्, अलोचना छन्, विरोध छन् । ती अन्तरविरोधहरुलाई दुईरचार बसाइमै समाधान गर्न सकिन्छ । भेटै नहुँदा र अरुले कुरा लगाउँदा निर्मित अविश्वासलाई आपसमा बसेर समाधान गर्न समय नै लाग्दैन । ०२९/३० सालदेखिको दुई जनाको मित्रतामा प्रतिस्पर्धा भन्दा सहकार्यको पक्ष हावी भएको सन्दर्भमा यस उमेर अवस्थामा िसमझदारी गर्न नसक्ने विषयहरु कति नै होलान् र ?

अन्तमा रिजाल लेख्छन, ‘दुबै नेताहरु सात दशकमा हिँड्दै हुनुहुन्छ । केपी ओलीले ५० महिना र माधव नेपाल २० महिना मुलुक चलाई सक्नुभएको छ । माधव नेपालले १५ बर्ष ९६ वर्ष दोस्रो र ९ बर्ष पहिलो नेताका रुपमा र केपी ओलीले ७ बर्ष पार्टीको नेतृत्व गरिसक्नुभएको छ । जीवनको यस उत्तराद्र्धमा आएर हाम्रो पुस्तालाई एकीकृत पार्टी हस्तान्तरण गर्दा भोलिका दिनमा उहाँहरुलाई उच्च सम्मानका साथ सम्झिइएला कि टुक्रा/टुक्रा बनाएर नेतृत्व गर्नुभयो भने मर्यादा रहला ?

प्रकाशित मिति : २०७८ साउन ३० गते शनिबार