
सुर्खेत ३१, साउन
आन्तरिक द्वन्दमा फसेर हरेक कमिटीहरु कामै नगर्ने अवस्थामा पुगेको वेला नेकपा (एमाले) चिङ्गाडले कार्यकर्ता भेलाको आयोजना गरेको छ ।
नेकपा एमाले कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री खड्कवहादुर खत्री, एमाले सुर्खेतका उपाध्यक्ष अमृतकुमार विसी, एमाले नेता कुलमणि देवकोटा, विघटित भूमि सम्वन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष ऐनवहादुर चन्द लगायतले चिंगाडका आफ्ना नेता कार्यकर्ताहरु माझ अब पार्टी कुनैपनि हालतमा अनिर्णयको बन्दी नवन्ने ठोकुवा गरे ।
शनिबार भएको चिंगाड गाउँपालिका स्तरीय कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्रवाट गत स्थानीय तहको निर्वाचनमा अध्यक्षमा पराजित वोधबिक्रम जिसीले स्थानीय एमाले कार्यकर्ताहरुलाई संवोधन गर्दै चिङ्गाड अब नेकपा एमालेको किल्ला वन्ने ठोकुवा गरे ।
ढाँडखेतमा भएको कार्यकर्ता भेलामा गाउँ कमिटीको कार्यालयसमेत औपचारिक रूपमा उद्घाटन गरिएको थियो । भेलामा पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजाने, निष्क्रिय भएका वडा कमिटीहरुलाई सक्रिय बनाउने,पार्टी संगठन सुदृढ तथा बिस्तार गर्ने बिषयमा केन्द्रित भएर छलफल भएको नेकपा एमाले सुर्खेतका उपाध्यक्ष अमृत विसी वताउँछन् ।
बिगत लामोसमयदेखि निष्क्रिय रहेका पालिका मातहतका वडा कमिटीहरुलाई चलायमान बनाएर लैजाने उद्देश्य वमोजिम आफुहरुले जिल्ला भित्र अभियान चालेको उपाध्यक्ष विसी दावी गर्छन ।
कार्यक्रममा उपस्थित एमाले नेता कुलमणि देवकोटाले सुर्खेत जिल्ला पार्टीको पालिका स्तरीय भेला चिंगाडमा गर्ने निर्णय वमोजिम आफुहरु ढाँडखेत आएको वताउँछन । ’अब पार्टीले कसैलाई कुरेर वस्दैन, वडा हुँदै टोलटोल र घरघरमा पुग्ने योजना वनेको छ,’ उनी भन्छन् ।
उनी स्थानीय सरकारले गरेका बिकास निर्माणका कार्यहरुको समिक्षा गर्ने बेला भएकोले एमालेका हरेक नेता कार्यकर्ताले स्थानीय सरकारले गरेका काम कार्वाही वारे जनतालाई सुसूचित गर्दै जनता माँझ ल्याउन आग्रह गर्दछन ।
भेलामा स्थानीय चारजना नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले काङ्ग्रेस पार्टी परित्याग गरि एमाले प्रवेश गरेको एमाले जिल्ला कमिटी सुर्खेतका सदस्य टोपवहादुर अधिकारीले जानकारी दिए ।
भेलाले गाउँपालिका स्तरीय वडा कमिटीहरुको भेला आगामी भदौ ४ गतेदेखि शुरु हुने निर्णय गरेको छ । भेलामा संगठित सदस्यता नविकरण गर्न मातहत कमिटीहरुलाई निर्देशन दिईएको छ ।
भेलामा विघटित भुमि सम्वन्धी समस्या समाधान आयोग सुर्खेतका अध्यक्ष ऐनबहादुर चन्दले बर्तमान सरकारले आयोगलाई विघटन गरेर लाखौ भूमिहीन सुकुम्बासीहरुको मनमा चोट पुर्याएको बताएका थिए ।
उनले चिङ्गाड लगायत देशभरका सुकुम्बासी, अव्यवस्थित बसोबासी र भुमिहीनहरुको समस्याको समाधान नेकपा एमालेले नै गर्ने ढाँडस दिदै जनताको साथ र समर्थनको वलमा ढिलो चाडो यो समस्या समाधान गरिने प्रतिबद्धता ब्यक्त गरे ।