
सुर्खेत १, भदौ
महाधिवेशनको मिति नजिकिँदै गएपछि नेपाली काँग्रेसको विवाद सतहमा आउन थालेको छ। खासगरी सुर्खेतमा कांग्रेस महामन्त्री पूर्णवहादुर खड्काले सक्रिय सदस्य वनाउदा व्यापक धादली गरेको आरोप लगाउदै केन्द्रीय सदस्य हृदयराम थानी समर्थकहरुले जिल्लादेखि केन्द्रसम्म दवाव वढाउदै लगेका छन्।
यसैविच, वीरेन्द्रनगर नगरपालिका वडा नं. ३, ६, ८ र ११ का कांग्रेस सभापतिहरुले नगर सभापति देवकुमार सुवेदीका कारण नयाँ क्रियाशील सदस्यता पाउनबाट बञ्चित भएको आरोप लगाएका छन।
चार वटा वडाका सभापतिहरु शेरबहादुर थापा, मोतिप्रसाद कँडेल, चन्द्रलाल आचार्य र भुवनेश्वर उपाध्यायले मंगलवार संयुक्त विज्ञप्ति जारी गरी काँग्रेस वीरेन्द्रनगर नगर सभापति सुवेदीका कारण यी चार वडाका ७ सय ६ जना सदस्यहरुले नयाँ क्रियाशील सदस्यता पाउनबाट बञ्चित भएको जनाएका हुन्।
विज्ञप्तिमा काँग्रेसको विधान बमोजिम वडादेखि नगर कार्यसमिति, प्रदेश क्षेत्रीय कार्यसमिति र क्षेत्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरी सफ्टवेयरमा इन्ट्री भइ शुल्कलगायत आवश्यक सवै प्रक्रिया पुरा गरी विधिवतरुपमा सिफारिस भइसकेका नयाँ क्रियाशील सदस्यताको कागज हेर्दै नहेरी महामन्त्री पूर्णबहादुर खड्कालाई सहज गराउन नगर सभापति सुवेदीले नयाँ क्रियाशील सदस्यता स्थगन गर्न वा गर्न लगाएको उल्लेख छ।
उनीहरूले विज्ञप्तिमा यदि यसो गर्ने भने यस कार्यबाट हुने क्षतिको जिम्मेवारी नगर सभापति र सदस्यता रोक्न लगाउने व्यक्तिले व्यहोर्नुपर्ने चेतावनी कांग्रेसका वडासभापतिहरुले दिएका छन् ।
नयाँ क्रियाशील सदस्यता स्थगनको विषयलाई लिएर काँग्रेस पार्टी, सभापति, पदाधिकारी र छानविन समितिलाई पटक पक सुधार गर्न आग्रह र अनुरोध गर्दा पनि सुनुवाई नभएको विज्ञप्तिमा उल्लेख छ।
वडा समितिहरुले सर्वसम्मतीले सिफारिस गरे बमोजिम वीरेन्द्रनगर नगर कार्यसमितिको मिति २०७७ फागुन १६ को निर्णय नं. २ मा गरिएको निर्णय अनुसार छानविन समितिलाई पत्र लेखिदिन आग्रह गर्दासमेत नगर सभापति सुवेदीले अस्वीकार गरेकाकोमा सुनियोजित र पूर्वाग्रहका कारण यी चार वटा वडामा कृत्रिम विवाद सिर्जना गरेको ठहर उनीहरुले गरेका छन।
विधान अनुसार प्रक्रिया पूरा गरी सिफारिस भएका नयाँ क्रियाशील सदस्यता रोकिनुले संगठन विस्तारमा ठूलो आघात पुग्ने पनि उनीहरुले विज्ञप्तिमार्फत सचेत गराएका छन् ।
यसवारेमा वुझ्न खोज्दा नेपाली कांग्रेसका नगर सभापति देवकुमार सुवेदीले चुनावी हतकण्डा अपनाउन आफुलाई विवादमा ल्याउन खोजिएको प्रतिकृया दिए। ‘सदस्यतावारे मेरो कुनै संलग्नता छैन र म निर्णय गर्ने ठाउँमा पनि छैन,’ सुवेदीले भने। सदस्यता वारे छानबिन गर्ने र निर्णय गर्ने माथिल्लो निकाय भएकोले उतै सम्पर्क र उजुरी गर्न उनले आग्रह गरे।