
भदौं २, सुर्खेत
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले आन्दोलनमा गएको छ । आफ्नो दल फोड्ने नियतले अध्यादेश आएको भन्दै एमालेका जनवर्गीय संगठनहरुले आन्दोलनलाई गति दिएका छन् ।
यसैबीच, नेकपा एमाले पार्टी अध्यादेशका कारण विभाजन भएपछि यसको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा राँके जुलुस निकालिएको छ ।
वुधवार साँझपख निकालिएको जुलुसमा सहभागीहरुले नेपालको संसदीय परिपाटीलाई ध्वस्त पार्ने हिसाबले अध्यादेश ल्याईएको भन्दै यसको विरोध गरे । अध्यादेशको विरोध गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति र अनेरास्ववियु सुर्खेतको संयुक्त नेतृत्वमा युवाहरुले राँके जुलुस निकालेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएलगत्तै एमाले पार्टी विभाजन भएको थियो । सोही अध्यादेशको विरोधमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्य समिति सुर्खेतले वुधबार साँझ नै राँके जुलुस निकालेको हो ।
राष्ट्रिय युवा संघ सुर्खेतका वरिष्ठ उपाध्यक्ष बासुदेव आचार्यका अनुसार युवाहरुले एमाले पार्टी कार्यालयबाट वीरेन्द्रचौकसम्म राँके जुलुस प्रर्दशन गरेका थिए । अध्यादेश जारी भएपछि माधवकुमार नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।
विरोध जुलुसमा सचिवालय सदस्यहरू किरण किशोर सापकोटा, गोविन्दप्रताप मल्ल, राष्ट्रिय युवा संघ नेपाल सुर्खेतका सचिव रमेश खड्का, अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र शाही, युवा संघ नगर कमिटी वीरेन्द्रनगरका अध्यक्ष रामु दाहाल लगायतको उपस्थिति थियो । प्रदर्शनपछि वीरेन्द्रचौकमा भएको फोहोर प्रदर्शनकारी आफैले उठाएका थिए ।