२०८३ वैशाख ४ , शुक्रबार

नेकपा (एमाले) कर्णाली प्रदेशको बैठक : जिल्लाको रिपोटिङ्गमा प्रतिस्पर्धा कांग्रेससंग



भदौं ३, सुर्खेत

नेकपा (एमाले) विभाजित भएसंगै भएको कर्णाली प्रदेश कमिटीको बैठकले आगामी दिनमा हुने सबै तहका निर्वाचनमा मुख्य प्रतिस्पर्धा कांग्रेससंगै हुने निष्कर्ष निकालेको छ ।

बिहीबार बसेको कर्णाली प्रदेशको बैठकले नेपाली कांग्रेससंग कर्णालीका ८ जिल्लामा सिधा प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको हो । पश्चिम रुकुम र जुम्लामा भने त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्वन्धित जिल्लाका नेताहरुले रिपोटिङ्ग गरेका छन् । जुम्लामा अलिक मेहनत गरे जित्न सकिने तर रुकुम पश्चिममा भने धेरै मेहनत गर्नु पर्ने निष्कर्ष निकालिएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

तर, माधव नेपाल समूह बलियो ठानिएको दैलेखमा विभाजनको असर एकदमै न्यून पर्ने एमाले दैलेखका अध्यक्ष रविन्द्रराज शर्माले रिपोटिङ्ग गरेका छन् । बैठकपछि शर्माले भने, ‘हाम्रो प्रतिस्पर्धी भनेको कांग्रेस नै हो । एमाले विभाजनको असर दैलेखमा शून्य प्राय छ ।’ एकाध व्यक्तिबाहेक सबै जनता, मतदाता र कार्यकर्ता एमालेमै भएको उनले बताए ।

बैठकमा जाजरकोटका अध्यक्ष करवीर शाहीले पनि प्रमुख प्रतिस्पर्धी कांग्रेस नै भएको बताए । बैठकमा एमालेका नेताहरुले पार्टीलाई तलैसम्म पुर्नजागृत गर्दै लैजानुपर्ने र आम कार्यकर्तामाझ कांग्रेस र माओवादीले छरेका भ्रमहरु चिर्दै जानुपर्नेमा जोड दिएका थिए ।

नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज यामलाल कंडेलले बाटो विराएका नेता कार्यकर्ताहरु पाटीमा आई काम गर्न आव्हन गरे । पार्टीमा फर्केर आउनेहरुलाई काखा र पाखा नगरिने प्रतिवद्धता जनाए ।

नेता कंडेलले जिल्ला र प्रदेश कमिटीमा दोहोरो जिम्मेवारीमा रहेका कार्यकर्ताहरुलाई कुनै एक कमिटी रोज्न आग्रह गरे । उनले पार्टी विभाजनमा लागेका कार्यकर्ताहरुलाई सम्झाई बुझाई पार्टी काममै फर्काउन सबै लाग्नु पर्ने बताए ।

प्रकाशित मिति : २०७८ भदौ ३ गते बिहीबार