कुलेन्द्र शाही, सुर्खेत । २०४६ मङ्सिर २९ गते सल्यानको बागचौर नगरपालिका–७ कोटबारामा जन्म लिएका पछिल्लो समयका चर्चित लोकदोहोरी गायक हुन् शक्ति चन्द । बाबु दानबहादुर चन्द र आमा शोभा चन्दको १० सन्तानमध्ये ठाइँला सन्तानका रूपमा जन्म लिएका चन्द पछिल्लो समय निकै चर्चामा छन् । चन्दले २०६३ सालबाट कलाकारिता क्षेत्र अङ्गालेका थिए ।
उनी सानैदेखि ग्रामीण भेगमा जन्मेको हुँदा गीत सङ्गीतमा निकै रुचि राख्ने गर्दथे । पहाडमा उकालो उरालो जतापनि लोकभाकाहरु गुन्जयामान हुने भएको हुँदा उनी गाउँघरमा लाग्ने मेला पर्व, पूजा पाठ विवाह व्रतबन्धमा पनि सहभागी भएर दोहोरी गीतहरू गाउँथे । ‘सानो छँदा गाउँमा सालैजी, सल्यानी टप्पा भाका चल्थे अझ रेडियोमा दोहरी गीत सुन्ने र रेडियोहरूमा आउने मनोरञ्जन कार्यक्रममा समेत सहभागी हुन्थे ।
गायक चन्द रेडियोहरूमा गीत सुन्दा उत्तिखेरै सवाल–जबाफ कसरी हुन्छ भनेर सोच्ने गर्थे । अनि आफू स्कुल जाँदा–आउँदा गीत गुनगुनाउने गर्थे ।’ उनी भन्छन्, ‘मेलापात, उकाली–ओराली, पूजा, चाडपर्वमा खेलिने भैलो र प्रत्यक्ष दोहोरी प्रतियोगितामा समावेश भएर गाउने गर्थेँ ।’ बच्चैदेखि रेडियोहरूमा गीत सुनेको भएर आफूलाई पनि गीतहरू गाउन मन लाग्ने गरेको उनको भनाइ छ ।
गीत गाएर आफू ठुलो कलाकार बन्छु भन्ने नलागेको तर आफ्नै बन पाखाको एउटा लोक संस्कृतिलाई सीमित मान्छेहरूको कानसम्म पु¥याउन पाएमा आफू निकै हर्षित हुने सोचाइले गीत सङ्गीतमा लागेको चन्दको भनाइ छ । उनले कलाकार बन्छु भन्ने हिसाबले भन्दा पनि एउटा रहरको हिसाबले कलाकारिता क्षेत्रमा आएको बताए ।
सानैदेखि लोक सङ्गीतलाई माया गर्ने मान्छेको रूपमा चन्द पर्छन् । सानैदेखि ग्रामीण क्षेत्रमा हुर्केको बोल्न डराउने, लजाउने बानी गरेका चन्दका आमाबुवा कृषि पेसामा आबद्ध छन् । आफू कलाकारिता पेसामा सरिक हुने बेलामा ६ महिना भारत र ६ महिना नेपाल बस्नेहरूलाई मात्रै गाउँमा जागिरे भन्ने गरेको उनले स्मरण गरे । उनी जब १५ वर्षको थिए त्यति बेला उनको घरमा २ वटा भैँसी, दुई हल गोरु १० वटा बाख्रा थिए ।
उनी दिउँसो विद्यालय जान्थे त बिहान बेलुका गोठालो जाने घाँस दाउरा ल्याउँथे । गोठालो गएको बेलामा उनी गीतसङ्गीत सुन्ने र गाउने गर्दथे । विशेष त उनको बाल्यकाल कहिले सुख कहिले दुःखका साथ बित्यो । उनले सुरुमा २०६३ सालमा जब धुर्वतारा झैँ भन्ने गीतमा स्वर दिएका थिए । त्यसपछि उनलाई झनै गीत गाउन मन लाग्यो । त्यति बेला शक्तिले निःशुल्क (पारिश्रमिक नलिएर) उक्त गीतमा स्वर दिएका थिए ।
त्यसपछि उनले स्वर दिएको भाका ‘धुर्वतारा झैँ’ बजारमा आयो । साथीहरूले आफूलाई स्वर राम्रो छ भनेको सुन्न पाउँदा यसप्रतिको मोह अझै बढ्दै गएको चन्दको भनाइ छ । उनले उक्त गीत क्यासेटमा ल्याएर दाङ र सल्यानमा मात्रै ५ हजार बढी बेचेका थिए । उक्त गीतको सफलता पाएपछि साङ्गीतिक जीवनको यात्रा अगाडि बढेको उनी बताउँछन् ।
उनले हालसम्म १ सय ५० भन्दा बढी गीत गाइसकेका छन् । उनले विशेष त सिँगारु, टप्पा गीतहरूमा स्वर दिने गरेका छन् । उर्नी मध्यपश्चिम आफ्नै गाउँ ठाउँमा चलेको मौलिक सिँगारु, टप्पा गीतहरू गाउन मन पराउने कलाकार हुन् । ‘खास मैले मौलिक सिँगारु, टप्पा गीतहरू रुचाइदिनुभएको छ । म पहिलेदेखि नै प्रतियोगी गायक भएर लोकदोहोरी गीतहरू सबै मनपर्छ ।’
उनले भने, ‘हाम्रो गाउँमा दसैँ तिहारमा सिँगारु, टप्पा गीतहरू असाध्यै गाउनुहुन्छ । त्यतिबेला त झन् केटाहरू केटीको भेषमा सिँगारिएर नाच्ने भएकाले पनि मलाई सिँगारु गीतहरू गाउन धेरै मनपर्छ ।’ चन्दले थपे, ‘त्यसैले पनि मैले धेरैजसो सिँगारु गीतहरू गाउँछु । सबैले मलाई स्याबासी दिनुहुन्छ । त्यसले मलाई हौसला दिन्छ खुसी छु ।’ गायक चन्दले आफूले गाएको सबै गीतहरू दर्शक तथा श्रोताहरूलाई मन पर्दै आएको बताए ।
आफूले बच्चैदेखि मौलिकतालाई आत्मसाथ गरेर गीत गाउँदै आएको बताए । उनी भन्छन् ‘मैले आफ्नो स्वार्थ र चर्चाको लागि गीतको दायरा नाघेर गाएको भए अहिलेसम्म के के गरिसक्थे तर, मेरो नैतिकता र संस्कारले दिएन ।’ उनले आफ्ना गीतहरू सीमित ठाउँमा सुनिएपछि नेपाली समाजले स्वीकार गर्ने, रुचाउने घरपरिवारसँगै बसेर हेर्न र सुन्न मिल्ने भएकाले आफूलाई त्यसैमा गर्व लाग्ने गरेको बताए ।
‘म तीन करोड मान्छे समक्ष पुग्न नसकेपनि जति ठाउँमा मेरो गीत सुनिन्छन् ती गीत सबै राम्रो लागुन् भन्ने मेरो सोचाई हो ।’ गायक चन्दले भने, ‘जति मेरो गीत सुन्ने श्रोता दर्शकहरू हुनुहुन्छ उँहाहरुले सोचेको जस्तो कलाकारितामा यथार्थ त छैन । कलाकारिता क्षेत्रमा पनि छुट्टै नातावाद अहिले पनि चलिरहेको छ ।’ उनले मेला महोत्सवमा सहभागी हुन पनि बाहिर देखावटी त नहोला तर भित्र भित्रै आफ्नो मान्छेहरूलाई मेला महोत्सवमा पनि पावर पहुँच हुने गरेको बताए ।
उनले आफूले चिनेको मान्छे नभएमा जति नै हिट कलाकार भएपनि नबोलाउने कार्य अहिले पनि चलिरहेको बताए । उनले आफ्नो गाउँ ठाउँतिर भने निरन्तर मेला महोत्सव आफूलाई बोलाइरहेको बताए । उनले पछिल्लो समय लोक गीत हराउँदै गइरहेको प्रश्नमा कलाकारिताको भन्दापनि श्रोताको दोष भएको बताए । ‘मैले मात्रै एउटा लोकसंगीतको संरक्षण गर्नुपर्छ भनेर भित्रैदेखि जिम्मेवारी लिनुपर्छ ।
जति पनि नयाँ सर्जक स्रष्टाहरू कलाकारिता क्षेत्रमा आउँदै हुनुहुन्छ उहाँहरूको पनि दायित्व हुन्छ जुन कि लोकदोहोरी गीतलाई बचाउने ।’ उनले भने, ‘यसमा सबैभन्दा प्रमुख दोष भनेको श्रोताहरूको हो । किनभने गीत गाउने कलाकारहरूले जस्तो कन्टेन्टमा पनि बनाउन सक्छ ।’ कतिपय गीतहरू कलाकारले दबाबमा पनि गाउने गरेको गुनासो व्यापक सुनिन्छ । यता चन्दले भने गीत गाउने कुरालाई दबाबमा नभई अवसरका रूपमा लिनुपर्ने बताए ।
‘साथीहरूले गीत गाइदे भन्न बित्तिकै मैले गीत गाउँदिन । कुनै पनि कुरा म सहमतिमा गर्छु ।’ उनले भने, ‘कतिपय गीत उसको व्याकग्राण्ड हेरेर पनि गरिन्छ । उसको पारिवारिक अवस्था कमजोर छ भने पारिश्रमिक नलिएर पनि गीत गाउन सकिन्छ । तर, अहिलेसम्म पनि त्यस्तो केही दबाब आएको छैन ।’ २०७९ पुसमा गायक चन्द डिप्रेसनमा गएकाले उनले फेसबुक लाइभमा आएर आफू मर्न तयार रहेको बताएका थिए ।
त्यो दिन भनेको उनको जिन्दगीको सबैभन्दा दर्दनाक पिडादायक समय थियो । उनले आफूलाई त्यतिबेला विभिन्न ग्रहहरूले छोएको बताए । उनले आफूसँग मर्न बाहेक अन्य कुनै पनि विकल्प नभएको हुँदा आफूले त्यतिबेला उक्त निर्णय गरेको बताए । उनले त्यति बेलाको समयमा आफ्ना समस्याहरू धेरै भएको बताउँदै कोभिड–१९ सुरु भएको बेलामा आफ्नो केही व्यवसायहरू पनि नोक्सानमा परेको बताए ।
त्यतिबेला उनले दोहोरी साँझ र क्याफे सञ्चालनमा ल्याएका थिए । त्यस्तै उनको पारिवारिक सम्बन्धमा पनि केही घटबढ भएको थियो । आफूले कलाकारिता क्षेत्रमा राम्रो भविष्य नदेखेपछि वैदेशिक यात्राको तय गरेको तर वैदेशिक यात्रामा पनि भिजाहरु नआएपछि झनै समस्या थपिएको उनले बताए । अन्तिममा उनले एक्लो भएको महसुस गरे । त्यति बेलामा सु-साइड गर्ने सोचहरू धेरै आउने गरेको चन्दको भनाई छ ।
साथ सहयोगको खाँचो परेको बेलामा कसैको साथ नपाएको गुनासो गर्दै उनले आजभोलि मायाको शब्द पनि प्रिय लाग्न छाडेको बताए । यो क्षेत्रबाट उनले आफू पुर्णरुपमा सन्तुष्ट भएको बताएका छन् । मनमा बसेको पीडाहरू गीतमार्फत पोख्न पाउँदा झनै यो क्षेत्र मन पर्ने गरेको चन्दको भनाई छ । उनले हालसम्म ७ वटा भन्दा बढी अवार्ड समेत पाइसकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दोस्रो हाइलाईट्स अवार्ड २०७० बाट सर्वोत्कृष्ट नवगायकको अवार्ड विजेता उनले मौलिक गीत ‘मनका विलरी’बाट २०७९ मा एएमआइएन राष्ट्रिय अवार्ड पाएका थिए ।
शक्तिले राष्ट्रिय समावेशी एनआईएम म्युजिक अवार्ड लोक दोहोरी गीत स्याउलाबाट पाएका छन् । देशका विभिन्न मेला, महोत्सव र समारोहमा प्रत्यक्ष रूपमा दर्शक श्रोतासँगै रहेर गीत गाउँदा उनलाई निकै आनन्द लाग्ने गर्दछ । ‘समय, श्रोताको मन र चाहना अनुसारका राम्रा सिर्जना दिन सकेमा कलाकारको भविष्य उज्ज्वल नै देख्छु’, शक्तिले भने,
‘तर हिजोआजको भाइरल प्रवृत्तिले गर्दा कहिलेकाहीँ आजभोलि हाहा होहो गर्ने केही व्यक्तिकै कारण दुःख र सङ्घर्ष गरेर यो क्षेत्रमा लागेका सङ्गीतकर्मी पनि ओझेल पर्ने उत्तिकै खतरा देख्छु ।’ श्रोताहरूले रुचाएका गीत सङ्गीतहरू बजारमा ल्याउन सकिएमा श्रोताहरूको अपार माया आफूहरूले पाउन सकिने उनको भनाई छ । तर, सधैँ एउटै मान्छे सबैको प्रिय नहुने उनको बुझाई छ । उनी इतिहास राख्नका लागि पनि कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेको बताउँछन् । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।