
सुर्खेतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार गरिनै लाग्दा नेपाल प्रहरीकाे उच्च सावधानीका कारण सम्भावित दुर्घटना टरेकाे छ।
पाँच दलीय गठबन्धनले कर्णालीका तीन जिल्ला जुम्ला, हुम्ला र कालिकोटमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गरेर फर्किएका प्रचण्डलाई सुर्खेतको चिङ्गाडमा मंगलबार साँझ जुत्ता प्रहारको प्रयास भएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन्।
चुनावी सम्बोधनपछि उपसभापति खड्कालाई छोड्न चिङ्गाड पुगेका अध्यक्ष प्रचण्डमाथि पूर्वमाओवादी लडाकुसमेत रहेका र हाल स्वतन्त्र बताउने कमल खत्रीले जुत्ता प्रहार गर्न खोजेका थिए।
प्रचण्ड हेलिकप्टरवाट निस्कने बित्तिकै जुत्ता प्रहार गर्ने याेजना बनाएका खत्री प्रचण्ड भन्दा अघि कांग्रेस नेता खड्का अघि निस्केपछि अलमलिएका थिए। एक प्रत्यक्षदर्शीले वताए अनुसार प्रचण्डलाई निसाना बनाएका खत्रीले खड्का निस्केपछि प्रचण्डलाई प्रहार गर्न खाेज्दा प्रहरीले नियन्त्रणमा लियाे।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुत्ता प्रहारकाे घटनावारे वताउन नचाहेपनि घुमाउरो पारामा घटना भएको स्वीकार गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी सुरज कार्कीले चिङ्गाडको ठाँटी बजारस्थित मटेलामा अध्यक्ष प्रचण्ड पुग्दा अवाञ्छित हर्कद गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको स्वीकार गरे। उनले जुत्ताको माला झोलामा बोकेर ल्याएकाे र झोलाबाट जुत्ताको माला निकाल्न खोज्दा प्रहरीले नियन्त्रणमा लिएको स्वीकार गरे।
मटेला प्रहरीले नियन्त्रणमा लिएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा राखेको र माथिकाे आदेश पछि थप कार्वाही अघि वढाउने डिएसपी कार्कीले वताए।