
भदौं ९, सुर्खेत
नेकपा एमाले लेकवेसी वडा नं ९ को कार्यकर्ता भेला स्थानीय पोखरा भञ्ज्याङमा सम्पन्न भएको छ । नेकपा एमाले सुर्खेत जिल्ला कमिटीको निर्णय अनुसार अहिले सुर्खेतका सवै पालिकाका वडाहरुमा कार्यकर्ता भेलाको आयोजना भैरहेका छन् ।
भेलालाई संवोधन गर्दै नेकपा एमाले सुर्खेतका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाहीले पार्टी केन्द्रमा विवाद समाधानतर्फ गएकोले कार्यकर्ताहरु एकजुट भएर उच्च मनोवलका साथ पार्टी काममा जुट्नु पर्ने वताए । हिजो भन्दा थप सशक्त भएर अगाडि वढ्नुको विकल्प नभएको वताउँदै अध्यक्ष शाहीले हिजो गरिएका कामहरु वेठिक भए समीक्षा गरी सुधार गरेर अघि वढ्नुको विकल्प नभएको वताए ।
उनले सुर्खेतमा पार्टी विभाजनले असरै नगर्ने ठोकुवा गरे । ’अहिले कर्णाली प्रदेशवाट योजनाहरु लिएर उपभोक्ता समिति वनाई खेलो गर्नेहरु विभाजनमा सकृय भएका छन । प्रदेशको मन्त्री सकिने बित्तिकै सवै पार्टीमा फर्कन्छन,’ माधवकुमार नेपालको समूहमा लागेकाहरु प्रती कटाक्ष गर्दै शाहीले भने,‘मति बिग्रेकाहरुलाई पनि सम्झाएर संगसंगै हिडाल्नु पर्ने भएकोले केही समय उनीहरूलाई गाली नगर्नु होला ।’
नेकपा माओवादी पार्टी निकट भविष्यमा ईतिहास हुने भन्दै अध्यक्ष शाहीले माओवादीका ईमानदार कार्यकर्ताहरु भने एमालेमा आउने उनले दाबी गरे । कांग्रेस प्रती जनताको आकर्षण हुँदै नभएको र आगामी चुनावमा कांग्रेसले एमालेसंग सिधा प्रतिस्पर्धा गर्नै नसक्ने दाबी गरे ।
आफ्नो कार्यकालमा भएका विकास निर्माण सम्वन्धी चर्चा गर्दै शाहीले विकासको पहिलो पूर्वाधार सडक भएको वताए । कांग्रेसले २०४८ सालदेखि २०७४ सम्म गरेको विकास र आफ्नो साढे तीन वर्षमा भएको विकास दाँज्न चूनौती दिए । कांग्रेसले विकासको काम नगर्ने तर ढाँटछलमा भने उनीहरूसंग कसैले नसक्ने वताए ।
कांग्रेस र माओवादीहरुले धुलियाविट भेडावारी सडक निर्माणमा कसरी ढिलाइ गर्न सकिन्छ भनेर छिद्र खोजिरहेको उनले आरोप लगाए । टेण्डर सम्पन्न भई भेडावारी धुलियाविट ३५ किमि वाटो तिहार पछि निर्माण सुरु हुने उनको भनाइ छ । कांग्रेसले ५ हजारको वजेट दिएर १५ हजारको प्रचार गर्ने गरेको उनले आरोप लगाए । उनले एमालेका सवै कार्यकर्ताहरुलाई आउने स्थानीय चुनावको तयारीमा अहिलेदेखि नै लाग्न निर्देशन दिए ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य एवम् कर्णाली प्रदेश सभा सदस्य खड्कवहादुर खत्रीले कम्युनिस्ट कार्यकर्ताहरुले व्यक्तिगत आचरण सुधार्नु पर्ने वताए । साविकको कर्णालीमा गएको वजेटमध्ये ८० प्रतिशत वजेट दुरुपयोग हुने गरेको उनको वुझाई छ । राजधानीका नाममा सुर्खेत सेफ्टी टंकी मात्रै वनेको र वजेट जति अन्तै गएको उनको भनाइ थियो ।
यस्तै, नेकपा एमाले कर्णाली प्रदेश सदस्य कुलमणि देवकोटाले एमाले पार्टीका कार्यकर्ताहरु देशमा विकसित सवै घटनाहरुवाट जानकार रहेकोले आफु सिकाउन नभई कार्यकर्तावाट सिक्न आएको वताए । नेकपा एमालेको तल्लो तह पार्टी प्रती प्रतिवद्ध भएकोले माथि जतिसुकै विभाजित भएपनि तल यसको असर नपर्ने वताए। एमाले पार्टी कार्यकर्ताले जोगाएको पार्टी भएको उनको भनाइ थियो ।
नेता देवकोटाले नेकपा एमालेको सरकारले मदन भण्डारी राजमार्ग नामाकरण गरि टेण्डर लगायतको काम सम्पन्न गरेर निर्माणको कामसमेत सुरु भैसकेको जानकारी दिए । उनले केपी ओली नेतृत्वको सरकारले विकास निर्माणको सवालमा देशमा कायापलट गरेको वताए । कर्णाली प्रदेशमा किर्ते र वलात्कारी मन्त्रीहरु भएको र मुख्यमन्त्री महेन्द्रवहादुर शाही चीर निन्द्रामा रहेको उनको आरोप थियो ।
भेलामा लेकवेसी नगरपालिकाका प्रमुख गगनसिं सुनारले श्रमजीवी जनताको हितमा नेकपा एमाले वढिरहेको भन्दै कार्यकर्ताहरुको त्याग र समर्पणका कारणले नेताहरुले माथि जति नै झगडा गरेपनि तल्लो तह नहल्लिएको उनको भनाइ थियो । उनले आफुहरु निर्वाचित भएर आएपछि लेकवेशीका वडास्तरमा सडक संजाल विस्तार गरेको, शिक्षामा लगानी गरेको, खानेपानी र सिंचाइको क्षेत्रमा समेत उल्लेखनीय काम गरेको दाबी गरे ।
एमाले प्रदेश कमिटी सदस्य चन्द्रलाल पौडेल (सोफान) ले आफु जनयुद्धवाट आएपनि प्रचण्ड भन्दा केपी ओली धेरै राष्ट्रवादी र क्रान्तिकारी भएको वताए । प्रचण्डले जनयुद्ध कुशलतापूर्वक हाँकेको तर शान्तिकालमा आईसकेपछि विभाजन र टुटफुटमा मात्रै लागेकाले आफुले माओवादी पार्टी छोडेको खुलासा गरे ।
आफु केपी ओलीवाट निकै प्रभावित भएको भन्दै ’एक्सन ओरिएण्टेड लिडर’ केपी ओली भएकोले जनता केपी ओलीले नेतृत्व गरेको एमालेमै रहेको वताए । वहुदलीय जनवादले राजतन्त्र मात्रै फाल्न सक्दैन, अरु सवै गर्न सक्छ भन्ने छलफल जनयुद्ध कालमै आफुहरुले गर्ने गरेको खुलासा गर्दै एमालेले लिएको जवजको सिद्धान्त वैज्ञानिक भएको दाबी गरे ।
केपी ओली शाहसिक नेता भएको र चुच्चे नक्सा सार्वजनिक गरेर नेपाली जनताको मनमनमा वसेको उनको भनाइ थियो । आगामी निर्वाचनवाट एमालेले तीनै तहका सरकार एकछत्र कव्जा गर्ने नेता सोफानले दावी गरे । आगामी निर्वाचनमा देशभरवाट कांग्रेस वढारिने र माओवादीको नामनिशान पुरै मेटिने उनले वताए ।
कार्यक्रममा नेकपा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य देववहादुर रानाले लेकवेसी नगर कमिटीले वडास्तरीय कार्यक्रम अन्तर्गत ८ वटा वडामा कार्यकर्ता भेला गरिसकेको र २ वटा वडामा कार्यकर्ता भेलाको आयोजना गर्न वाँकी रहेको जानकारी दिए । लेकवेसीमा माधवकुमार नेपाल समूह शून्य अवस्थामा रहेको भन्दै नेकपा माओवादीवाट थुप्रै नेता कार्यकर्ताहरु एमालेमा समाहित भएकोले एमाले पहिले भन्दा झनै शक्तिशाली भएको दाबी गरे ।
भेलामा एमाले सुर्खेत जिल्ला कमिटी सदस्य गंगाराम तिमिल्सेनाले नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह नेकपा एमाले भएको भन्दै जनादेशको विरुद्धमा परमादेशवाट आएको सरकार धेरै नटिक्ने ठोकुवा गरे । उनले वर्तमान सरकारले भूमि सम्वन्धित आयोग खारेज गरेर र अध्यादेशवाट पार्टी फुटाउने काम गरेको भन्दै जनता विच अलोकप्रिय र जनविरोधी भैसकेको आरोप लगाए ।
कार्यक्रमलाई नेकपा एमाले लेकवेसी नगर कमिटी सचिव सीताराम पौडेलले संवोधन गर्दै पार्टीमा केही व्यक्तिहरु विगतदेखि नै आउने जाने भैरहेको ईतिहास भएको उल्लेख गर्दै माधवकुमार नेपाल लगायतका केही नेताहरु एमालेवाट अलग भएपनि खासै समस्या नपर्ने दावी गरे ।
लेकवेसी नगर पालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले विगतमा पार्टीमा देखिएको विवादले कार्यकर्ता पंक्ति दुखी भएकोमा अहिले पछिल्लो समयमा केन्द्रमा भएको सहमतिले कार्यकर्ता तहमा खुसीको संचार भएको वताईन् । एमालेका जनप्रतिनिधिहरु (आफुहरु) ले गरेका कामहरुलाई पार्टी कार्यकर्ताहरुले मुल्यांकन गरि गलत भएको भए पार्टीका हरेक फोरमहरुमा कुनै धक नमानि जोडदार रुपमा उठाउन उनले आग्रह गरिन् ।
एमाले लेकवेसी नगर कमिटी अध्यक्ष टिकाराम सोमैले लेकवेसीमा नेकपा एमाले एक ढिक्का भएको वताए । विकास निर्माणले अहिले निक्कै फड्को मारेको दाबी गर्दै जनताले कम्युनिस्टको शासनमा मात्रै विकास हुन्छ भन्ने विश्वास गर्न थालेको उनको दाबी थियो ।
लेकवेशी वडा नं ९ कमिटीका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाका २ सय वढि अगुवा कार्यकर्ताहरु उपस्थिति भएका थिए ।