२०८३ जेठ २० , बुधबार

एमाले सुर्खेतको जिल्ला भेला सम्पन्न : पार्टीमा विभाजनको खासै असर नपरेको निष्कर्ष



भदौं १७, सुर्खेत

नेकपा (एमाले)को जिल्ला स्तरीय भेला सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

विहीवार सम्पन्न भएको उक्त भेलालाई संवोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले विगतका तितामिठा कुराहरूलाई विर्सेर संगठन निर्माणमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले माधवकुमार नेपाललाई एमालेमा रहदासम्म साथ दिएको तर एमाले छोडेर गैसकेपछि सम्वन्ध सकिएको संकेत गरे । एमालेको संगठन मजवुत भएकोले आगामी निर्वाचनमा उच्च मनोवल लिएर जान उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

विशेष अतिथि पार्टी पोलिटव्यूरो सदस्य यमलाल कडेलले कृषि मन्त्री कुर्मराज शाहीको वलात्कार काण्डले समग्र कर्णाली प्रदेश वदनामित भएको आरोप लगाए । यत्रो जघन्य अपराधको घटना हुँदा पनि यस क्षेत्रका सामाजिक संघ संस्था र अधिकारकर्मीहरु चुप लागेको भन्दै विरोध जनाए । कडेलले सुर्खेतमा पार्टी विभाजनको खासै असर नपरेको भन्दै आ–आफ्नो भूगोलमा केन्द्रित हुन कार्यकर्ता पंक्तिलाई उनले अनुरोध गरे ।

सुर्खेत जिल्लास्तरीय अगुवा कार्यकर्ताको भेलाको अध्यक्षता एमाले सुर्खेतका अध्यक्ष धुर्बकुमार शाहीले गरेका थिए । भेलालाई प्रतिनिधी सभा सदस्य नवराज रावत, केन्द्रीय सदस्य बिष्णु रिजाल लगायतका नेताहरुले संवोधन गरेका थिए ।

पार्टी विभाजनको खासै असर नपरेको जिल्लाको रुपमा चिनिएको सुर्खेतवाट निर्वाचित प्रतिनिधि सभाका दुवै सदस्य, प्रदेश सभाका दुवै सदस्य, स्थानीय तहमा एमालेले जितेको तीनवटा तहका प्रमुख उप प्रमुख र अधिकांश वडा अध्यक्ष र सदस्यहरु एमालेमै रहेका छन् ।

पार्टी विभाजनपछि एमाले सुर्खेतका सचिव मोहोनसिं वडुवाल नेकपा समाजवादीको अध्यक्ष वनेका छन् । उनले केही जिल्ला कमिटी सदस्यहरुलाई समेत साथमा लिन सफल भएका छन् ।

प्रकाशित मिति : २०७८ भदौ १७ गते बिहीबार