
सुर्खेत १८ भदौं
कोरोना संक्रमणका कारण बन्द भएका सुर्खेतका निजी तथा सामुदायिक विद्यालयहरु आउने सातादेखि खुल्ने भएका छन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको विहीवार बसेको बैठकले स्मार्ट लकडाउन सम्वन्धी कार्यविधि अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्णरुपमा पालना गरी आगामी सातादेखि विद्यालय खुलाउने निर्णय गरेको हो ।
विद्यालय खुलाउने सम्वन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अवस्था हेरि आवश्यक निर्णय लिईनेछ । सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तहहरु स्मार्ट लकडाउन कार्यविधि अनुसार ग्रीन जोनमा परेकोले ती विद्यालयहरु भौतिक रुपमा खुलाउन सकिने भए पनि वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका विद्यालयहरु खुलाउन समस्या देखिएको थियो ।
वीरेन्द्रनगर रेड जोनमा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा परेका छन् । वीरेन्द्रनगर नगरपालिका रेडजोनमा परेपनि जोखिम उठाएर भएपनि विद्यालय खुलाउन लागिएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सम्भवतः आगामी सातादेखि सुर्खेतका सवै सामुदायिक र संस्थागत विद्यालयहरु खुल्ने बताए । उनले स्वास्थ्य संक्रमणको जोखिममा रहेको वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याव्सन, एनप्याव्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरेर त्यसको आधारमा विद्यालय खुलाइने जानकारी दिए । दुई–तीन दिनभित्र मापदण्ड निर्माण गरिने प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने उनको भनाइ छ ।
मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ । जसमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याव्सन, एनप्याव्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्नेछ ।
यसैबीच, सुर्खेतमा हालसम्म ५० हजारको कोरोना परिक्षण भैसकेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख चेतननिधी वाग्लेले जानकारी दिएका छन् । उनले परिक्षण भएको मध्ये हाल सुर्खेत जिल्लाभर सकृय संक्रमितको संख्या २ सय ४२
रहेको वताए ।
प्रमुख वाग्लेले हाल २ जना कोरोना पोजेटिभ भेण्टिलेटरमा रहेको र कोरोनाकै कारण हालसम्म २ सय १८ जनाको निधन भैसकेको जानकारी दिए । उनले सुर्खेतमा कोरोना विरुद्धको खोप पहिलो डोज ७१ हजार १ सय ६८ र दोश्रो डोज ७६ हजार वढिलाई दिईसकेको वताए ।
सुर्खेतको कुल जनसंख्याको १८ प्रतिशत भन्दा वढिले पूर्ण खोप लगाईसकेको जानकारी दिदै भेरीगंगा, वीरेन्द्रनगर र गुर्भाकोट वाहेकका पालिकाहरुमा कोरोना संक्रमितको संख्या कम हुदै गएकोले ग्रिन जोनमा परेको खुलासा गरे ।
उनले सुर्खेत उपत्यका बाहिर कोरोना खोप पठाएपनि मानिसहरुमा खोप लगाउन रुचि नभएको कारण फिर्ता ल्याउनु परेको दुखेसो पोखे ।