
कर्णाली प्रदेश सरकारले जाजरकोटका विकट क्षेत्रमा छरिएर रहेका बस्तीहरूलाई एकीकृत गरी एकै स्थानमा राख्न घर निर्माण सुरु गरेको छ ।
सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको सेल्टरसमेत रहेको जुनिचाँदेका विकट बस्तीलाई कर्णाली प्रदेश सरकारले एकीकृत बस्तीमा परिणत गर्न लागेको हो ।
बाढीपहिरो लगायतका प्राकृतिक विपद्को उच्च जोखिममा रहेका बस्तीलाई नयाँ ठाउँमा पुनःस्थापना तथा छरिएका बस्तीलाई एकीकृत गरी बस्ती विकासको अवधारणा अन्तर्गत पहिलो चरणको घडेरी निर्माण कार्य सम्पन्न भएको छ ।
जुनिचाँदे गाउँपालिका–७ मा पर्ने जुर्क र निपानेमा छरिएका बस्तीलाई एकीकृत गर्न प्रदेश सरकारले यो आर्थिक वर्षमा २७ लाख रकम गाउँपालिकामा पठाएको थियो ।
विनियोजन बजेटअनुसार पहिलो चरणमा घडेरी निर्माण सम्पन्न भएको स्थानीय जयबहादुर घर्तीले बताए । ९ सय १६ जनसंख्याको जुनिचाँदेका बस्ती छरिएर रहेका छन् ।
एकीकृत बस्तीका लागि स्थानीय तहले डीपीआर बनाएर पहिलो चरणको काम सम्पन्न गरेको छ । जुर्क र निपानेमा बन्न लागेको एकीकृत बस्तीमा २ सय २५ घर निर्माण हुने गाउँपालिकाकी उपाध्यक्ष शिवा आचार्यले बताईन् ।