
सुर्खेत १९, भदौं
१४ औं महाधिवेशनको लागि नेपाली कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि सुरु भएको छ। तर, कांग्रेसले सुर्खेत लगायत २१ जिल्लाका क्रियाशील सदस्यहरुको विवाद अझैपनि टुंगोमा पुर्याउन नसक्दा केही जिल्लाको अधिवेशनहरु सुरु हुन सकेको छैन। आफ्नो पकड कायम राख्न वढिभन्दा वढि सदस्यता वाढेर महाधिवेशनमा जाने रणनीति अनुसार सदस्यता सुची सार्वजनिक नगरिएको कांग्रेसका उच्च तहका नेताहरूले नै आरोप लगाउने गरेका छन्।
यहि विवादका कारण सुर्खेतमासमेत सदस्यहरुको अन्तिम नामावली प्रकाशित हुन सकेको छैन। खासगरी कांग्रेस पार्टीमा समायोजन भै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको सुनिल थापा समूह, अखण्ड नेपाल पार्टी र विजय गच्छादारको पार्टीका नाममा आफू कमजोर भएको ठाउँमा सदस्य थप गर्ने ‘खेलो’ अनुसार कृतिम विवाद झिकिएको कांग्रेस भित्रको रामचन्द्र समूहले आरोप लगाउने गरेको छ।
अखण्ड पार्टीले सुर्खेतमा जम्मा १ सय ९९ जना सदस्य दाबी गरेको र खड्का पक्ष कमजोर रहेको वडामा सदस्य थप गर्न सदस्यता सूची सार्वजनिक नगरिएको नेपाली कांग्रेस सुर्खेतका क्षेत्रीय सभापति नारायण कोईराला वताउँछन। उनले पार्टी सभापति कमलराज रेग्मीको वडामा स्वास्थ्यकर्मी राजेश वुढा र ईश्वरी खड्काको परिवारका सदस्यहरुलाई सकृय सदस्य वाढ्न अखण्ड पार्टीको प्रयोग भएको आरोप लगाएका छन्। वीरेन्द्रनगरका १,३,६,८ र ११ मा अखण्डको नाममा फरक पार्टीका मानिसलाई सदस्यता दिन खोजिएको दाबी गरेका छन्।
यता, महाधिवेशनको मुखमा सुर्खेतमा पनि कांग्रेसको परम्परागत दुई प्रतिस्पर्धी समूह आमने-सामने भएको छ। कांग्रेसका हेभिवेयट नेता पूर्णवहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानी विचमा जिल्लाको नेतृत्व कसरी हत्याउने भन्नेमा कार्यकर्ता तहमै व्यापक धुर्वीकरण देखिएको छ।
दुवै समूहले जिल्ला नेतृत्व हत्याउने उद्देश्यले अर्को समूह कमजोर देखिएको ठाउँमा क्लिन स्वीप गरेरै अघि वढ्ने योजना वनाएका छन्। जिल्ला नेतृत्व आफ्नो पक्षमा भएको फाईदा उठाउदै थानी खेमाले पूर्ण खड्का खेमालाई गुर्भाकोट र भेरीगंगामा मात्रै सीमित गरिदिने रणनीति वनाएको छ।
सकभर सानो संख्यामा प्रतिनिधि दिएर सर्वसम्मतको प्रयास गरिने नभए निर्वाचनमै गएर भएपनि वहुमत प्रतिनिधि जित्ने योजनामा थानी समूह लागेको छ। तर, मिडियालाई प्रतिकृया दिदा भने उक्त समूहका नेता चन्द्रप्रसाद थानीले पार्टीमा दुख पाएका, पुराना, त्यागी एवम् क्षमतावान युवाहरुलाई नेतृत्वमा ल्याउन आफ्नो समूहले जोड दिने वताउँछन।
कांग्रेसमा लामो समय पार्टी सभापति र सुर्खेत पश्चिमको राजनीतिमा पकड जमाएका तप्तवहादुर विष्टको दुखद अवसान खड्का समूहका लागि एउटा दुस्वप्न वरावर भएको छ। उनको निधनपछि थानी समूहले प्रत्यक्ष राजनीतिक लाभ उठाए जस्तो देखिदैछ। थानी समूहले वराहताल, चौकुने र पंचपुरीमा खड्का समूहलाई ८ वडामा सीमित गरिदिने चेतावनी दिएको छ।
उक्त समूहले चौकुनेका १० वडा मध्ये ७ वटामा आफ्नो समूहको वर्चस्व भएको, २ वटा वडामा कडा प्रतिस्पर्धा र वाँकी १ वडामा अर्को पक्ष वलियो भएको निष्कर्ष निकालेको छ।
यसैगरी, पंचपुरीका छाप्ने, सालकोट र विद्यापुरमा आफ्नो समूह वलियो रहेको र वावियाचौर र तातापानीमा भने कमजोर रहेको निष्कर्ष निकालेको छ। पंचपुरीका १,२,३, ७, ८,९ मा आफ्नो समूहले निश्चित जित र वडा नं ४ मा प्रतिस्पर्धा हुने आँकलन थानी समूहले गरेको छ। पंचपुरीको वडा नं ५,६,१० र ११ मा भने आफ्नो समूह कमजोर रहेको स्वीकार गरेको छ।
वराहको एउटा वडा नं ४ वाहेक सवै वडामा आफुहरुले जित निकाल्ने थानी समूहले दाबी गरेको छ।
थानी समूहको गढको रुपमा चिनिदै आएको वीरेन्द्रनगरका वडा नं ७ र ११ लाई भने उनीहरूले कमजोर आँकलन गरेका छन। उक्त समूहले वडा नं ४ र ९ मा हल्का प्रतिस्पर्धा भएपनि कमजोर नरहेको निष्कर्ष निकालेको छ भने कमजोर भएको प्रचार गरिएको वडा नं १० समेत आफुहरुको पकडमा आईसकेको उनीहरूको दाबी छ।
ट्रेड यूनियन कांग्रेसका नेता गोपाल गिरीलाई वडा नं ३ मा सदस्यता सारेर भएपनि प्रतिनिधिमा आउन सुझाव दिईएपनि उनले आफ्नो टिमले निश्चित विजय हासिल गर्ने भन्दै वडा परिवर्तन गर्न नमानेको थानी समूहका एक नेता वताउँछन। वीरेन्द्रनगरको सभापतिमा थानी समूहले गणेश पन्त र खड्का समूहले उपेन्द्र खड्कालाई उठाउने तयारी गरेको छ।
चिंगाडमा समेत थानी समूह नै वलियो देखिएको छ। कांग्रेस महामन्त्री निकट गाउँ पालिका अध्यक्ष देववहादुर चन्द र डोरप्रसाद शर्माको घर भएको वडा नं ३ मा थानी टिमको वडा सभापति वन्ने लगभग निश्चित भएको छ। पाम्काको वडा नं ६ मा प्रतिस्पर्धा भएपनि वाँकी सवै वडा आफ्नो पकडमा रहेको थानी समूहको दावी छ। चिंगाडमा थानी खेमावाट करसिं राना र खड्का समूहले डोर प्रसाद शर्मालाई सभापतिमा लडाउने अन्तिम तयारी गरेका छन्।
लेकवेसीमा समेत आफुहरुको पकड कायम रहेको थानी समूहको दाबी छ। लेकवेसीका १,२,३,४ र १० वडाहरु थानी पक्ष ७,८,९,५ वडाहरुमा खड्का पक्ष वलियो रहेको स्थानीय जानकारहरु वताउँछन। जित्नका लागि जनजाति उम्मेदवार ‘मेन फ्याक्ट’ हुने भएकोले दुवैले अहिलेसम्म आ-आफ्ना पत्ता खोलेका छैनन्।
भित्री साँठगाँठवाट प्रतिनिधि चयन हुने संभावना देखिएकाले यसै भन्ने अवस्था नभएको विद्यार्थी नेता न्यूटन ओली वताउँछन। दुवै समूहका कार्यकर्ताहरु सर्वसम्मतिले छानिन थालेकोले यहि टिमले जित्छ भन्ने निश्चित नभएको उनले वताए।
लेकवेसी नगरपालिकामा थानी खेमाले कमल आचार्य र वीरवहादुर रुचाल अनि खड्का समूहले उमेश पौडेल र प्रतिमान वाकावल मध्ये एकलाई उठाउने निश्चित जस्तै देखिएको छ।
भेरीगंगा नगर पालिकाको साविक लेकपराजुल गाविस आफ्नो पकड रहेको थानी समूहले दाबी गरेको छ। यस्तै मैनतडा र साविकको छिन्चु गाविसको एउटा वडा पकडमा रहेको र अन्य वडावाट मिश्रित परिणाम आउने उक्त समूहको दाबी छ। भेरीगंगामा खड्का पक्षवाट रामवहादुर शिंह र थानी पक्षवाट वलियो उम्मेदवारको खोजी भैरहेक छ। पहिलै नै उम्मेदवार सार्वजनिक गर्दा वडा अधिवेशनमै हराईदिने संभावना भएकोले नाम सार्वजनिक नगरेको थानी पक्षीय एक नेता वताउँछन।
गुर्भाकोटमा थानी पक्षले हार स्वीकार गरेको छ। गुर्भाकोटका अधिकांश वडाहरु पछि सार्वजनिक गर्ने गरी सर्वसम्मत भैसकेको खड्का खेमाको दावी छ। सिम्तामा समेत थानी पक्षले अहिले राम्रो तैयारी गरेकोले जित्ने आधारहरु देखिएको उनीहरू वताउछँन। महामन्त्री खड्का केन्द्रीय राजनीतिमा संलग्न हुनुपर्ने अवस्थाको फाइदा उठाउदै केन्द्रीय सदस्य थानीले विगत १ वर्ष यता सिम्ता केन्द्रित पार्टी गतिविधि गरिरहेका छन।
यसवारेमा खड्का खेमाको धारणा वुझ्न खोज्दा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवम् भेरीगंगा नगर पालिकाको सभापतिका संभावित उम्मेदवार रामवहादुर शिंहले आफ्नो टिम समग्र जिल्लामा जितको नजिक पुगेको दावी गर्दछन। भेरी गंगाका धेरैजसो वडामा अहिले नै सर्वसम्मत भैसकेको र यहाँवाट निर्वाचित भएर आउने प्रतिनिधि आफ्नो पक्षका ८० प्रतिशतको हाराहारीमा हुने उनी दाबी गर्दछन।
शिंहले गुर्भाकोटवाट ९० प्रतिशत, सिम्तावाट ८५, लेकवेशीवाट ६०, चिंगाडवाट ५५ प्रतिशतको हाराहारीमा आफ्नो पक्षका प्रतिनिधिहरु आउने ठोकुवा गरे। उनले जिल्लामा थानी खेमाले आफुहरुलाई हेपेकोले आगामी जिल्ला अधिवेशनले थानी पक्षको हैसियत देखाईदिने वताए।
तर, पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष एवम् पाका पत्रकार श्रीधर पौडेलले जिल्ला नेतृत्वमा को आउने भन्ने कुरा खड्का खेमावाट हुने उम्मेदवारमा भरपर्ने वताउँछन। उम्मेदवार तय भैसकेपछि कस्ले जित्छ भन्न सकिन्छ।
‘थानी पक्षवाट सभापतिमा कमलराज रेग्मी नै उठ्ने देखिएकोले खड्का पक्षले राम्रो उम्मेदवार नवनाए पुन रेग्मी नै सभापति वन्न सक्छन,’ उनले भने। खड्का टिम विजयी हुन प्रतिनिधि सभाको क्षेत्र नं १ वाट पुरै लाईनमा मत खस्नु पर्ने र वीरेन्द्रनगरवाट समेत उल्लेख्य मत लिए मात्रै थानी खेमाले हार्ने उनको वुझाई छ। सुर्खेतको पार्टी सभापतिमा रेग्मीलाई उनी वलिया उम्मेदवार ठान्छन।