२०८३ वैशाख १३ , आइतबार

सार्वजनिक शिक्षा सुधारका लागि शिवालयकाे इन्द्र ज्योति माविसहित १३ विद्यालय छनोट



सुर्खेत । कर्णाली प्रदेश सरकारले सार्वजनिक शिक्षा सुधारका लागि नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण गर्न १० जिल्लाका १३ विद्यालयहरुलाई छनोट गरेको छ । ‘सार्वजनिक शिक्षा सुधारसम्बन्धी (एक जिल्ला एक नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाई सुधार र शिक्षकको पेशागत सहयोग) कार्यविधि, २०८०’ अनुसार विद्यालयहरु छनोट गरिएको हो ।

चैत ५ गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयबाट १० जिल्लाका १३ विद्यालयहरु नमूना विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् ।

छनोटमा परेका विद्यालयहरुमा हुम्लाको अदानचुली गाउँपालिका–१ स्थित सल्लाघारी मावि, डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनैस्थित सरस्वती मावि, मुगुको मुगुम कार्मारोङ गाउँपालिका ३ ताखास्थित नेपाल राष्ट्रिय आवासीय विद्यालय, जुम्ला कनकासुन्दरी गाउँपालिका ५ लुड्कुस्थित कनकासुन्दरी मावि, कालीकोट नरहरीनाथ गाउँपालिका १ कोटवाडास्थित नन्दादेवी मावि, दैलेख आठबीस नगरपालिका ४ राकमस्थित जनज्योति मावि र सुर्खेत लेकबेसी नगरपालिका १ लेखफर्सास्थित आदर्श मावि छन् ।

‘एक नमूना विद्यालय भौतिक पूवार्धार निर्माण’ अन्तरगत भूकम्प प्रभावित जिल्लामा भने दुई÷दुई विद्यालय छनोट गरिएको छ । जसमा जाजरकोट छेडागाड नगरपालिका–१२ कार्कीगाउँमा रहेको नारायणी मावि, शिवालय गाउँपालिका ६ थालारैकरको इन्द्रज्योति मावि, सल्यान कपुरकोट गाउँपालिका–४ किमचौरको नेपाल राष्ट्रिय मावि, दार्मा गाउँपालिका ४ फारुलाचौरको जनज्योति मावि छनोटमा परेको उनले बताइन् ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ नयाँ बजारस्थितको शीतल मावि र मुसिकोट नगरपालिका ५ सेरीगाउँमा रहेको यमुनानन्द मावि पनि छनोटमा परेका छन् । फिडर विद्यालय, विद्यार्थी तथा शिक्षक संख्या, विद्यालयको भौतिक अवस्था, प्रविधिको प्रयोगजस्ता आवश्यक मापदण्डका आधारमा विद्यालयहरु छनोट परेको उनको भनाइ छ।

उनकाअनुसार छनोटमा परेका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा कक्षाकोठाको शिक्षण सुधारका लागि रु.१४ करोड बजेट विनियोजन भएको छ । विद्यालयको माग प्रस्तावका आधारमा बजेट निकासा दिइने जनाउँदै निर्देशक हमालले विनियोजित बजेट चालु आर्थिक वर्षमै कार्यान्वयन हुने र आवश्यकताका आधारमा बजेट थप्दै जाने जानकारी दिइन् ।

May be an image of ticket stub and text

प्रकाशित मिति : २०८० चैत १९ गते सोमबार