
भदौं २२, सुर्खेत
इलाका प्रहरी कार्यालय बाबियाचौरले १६ वर्षीया एक बालिकालाई बलात्कार गरी गर्भवती वनाएको आरोपमा नौ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख पदमबहादुर विष्टले पञ्चपुरीका डम्बर वादी, गणेश वादी, युवराज शाही, शोभा शाही, बाबुराम पुरी, प्रेम बुढाथोकी, शेरबहादुर सार्की, ओम दर्लामी र प्रेमबहादुर शाहीलाई वलात्कारको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको विष्टले बताए ।
चौकुने गाउँपालिका घर भइ पञ्चपुरी नगरपालिकामा बस्दै आएकी बालिकाले पटक–पटक विभिन्न व्यक्तिहरुबाट बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरमा उजुरी दिएकी थिइन् । बालिकाले आफूलाई चकलेट, बिस्कुट, चाउचाउ र पैसा दिन्छु भन्दै फकाएको उजुरीमा उल्लेख गरेकी छन् ।
मुद्दा दर्ता भएसँगै बालिकाले बलात्कार गर्ने व्यक्तिहरुलाई देखाएर पहिचान गराउँदै नियन्त्रण लिन सघाएकी थिइन् ।
बलात्कारको आरोप लागेकामध्ये केहीलाई नियन्त्रणमा लिन बाँकी रहेको प्रहरीले जनाएको छ ।