
भदौं २६, सुर्खेत
हुम्लास्थित नेपाल–चीन सीमास्तम्भहरूको स्थलगत अध्ययन गर्न सरकारले गठन गरेको सीमा अध्ययन टोली शनिबार हुम्ला पुगेको छ ।
नेपाली कांग्रेसका नेता जीवनवहादुर शाहीले पटकपटक चीनले नेपालको सिमा मिचिएको भन्दै सम्वद्ध सवैको जानकारी गराउन थालेपछि सरकारले वास्तविकता वुझ्न एक अध्ययन टोली वनाएको थियो। गृह मन्त्रालयका सहसचिब जयप्रसाद आचार्य नेतृत्वको अध्ययन टोली वास्तविकता पत्ता लगाउन हुम्ला पुगेको हो । सिमकोट पुगेको टोलीले शनिबार नै हुम्लाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, प्रशासक र नागरिक समाजसँग छलफल सुरु गरेको छ ।
शनिबार सिमकोट नै बस्ने टोली आइतबार लाप्चातर्फ लाग्ने टोलीका संयोजक आचार्यले जानकारी दिए । सरकारले आचार्यको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो ।
सरकारले गठन गरेको समितिमा सात जना सदस्य पुगेका छन् । समितिका सदस्यहरूमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेका छन् ।
समितिले नेपाल र चीन बीचका हुम्ला खण्डमा पर्ने १५ वटा सीमास्तम्भसम्म पुग्ने योजना वनाएको छ । दुई देशको सीमा क्षेत्र लोलुङ जोङमा चिनियाँ पक्षले भौतिक संरचना निर्माण गरेको र १२ नम्बर सीमास्तम्भ चीनले एकतर्फी पुनर्निर्माण गरेपछि यो विषय बाहिर आएको थियोे ।