
सुर्खेत २८ भदौं
सुर्खेतको वीरेन्द्रनगर वडा नं १ र २ मा गत भदौ १५ गतेदेखि बन्द भएको खानेपानी सेवा भोली साँझदेखि संचालनमा आउने भएको छ। भवनको जग खन्दा मूल पाईप लाईन फुटेपछि उक्त क्षेत्रमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थावाट वितरित खानेपानी पूर्णरुपमा बन्द भएको छ।
गत भदौ १४ गते वीरेन्द्रनगर वडा नं ४ मा रहेको प्रदेश आयुर्वेदिक अस्पतालको भवन निर्माणका क्रममा खानेपानीको मुख्य वितरण लाईन क्षतिग्रस्त भएको थियोे। ‘सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाको स्किम नं ६ र ७ ९वीनपा १/२० मा खानेपानी सप्लाई गर्ने मुख्य प्रसारण २ सय मि.मि डिआइ पाइपलाईन मर्मत सम्भार कार्य हिजो (आईतवार) देखि सुरु गरिएको र भोली (मंगलबार) साँझसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ संस्थामा कार्यरत ईन्जिनियर वालाराम तिवारीले कार्य प्रगति वारे खवरदृष्टिलाई प्रतिक्रिया दिदै भने, ‘ अहिलेसम्म (सोमवार अपरान्ह ५ वजे) करिब ८० प्रतिशत मर्मतको काम सम्पन्न भैसकेको छ।’
संस्थाले भोली साँझसम्म सम्पुर्ण मर्मत कार्य सम्पन्न गरि आंशिक रुपमा पानी छोड्ने र आगामी भदौ ३० गतेबाट भने प्रभावित क्षेत्रलाई उच्च प्राथमिकतामा राखी खानेपानी सेवा नियमित गर्नेगरि दिनरात कार्य संचालन भैरहेको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए। अध्यक्ष देवकोटा आफै संस्थाका २० जना कर्मचारीहरुसहित मर्मत कार्यमा खटिईरहेका छन्।
‘ड्यामेज भएको ठाउँमा पानीको प्रेशर निकै वढि छ। पानी आउने र सप्लाई गरिने ठाउँ उँचो भएकोले उक्त ठाउँमा प्रेशर ह्याण्डिल गर्नु डिआई पाईप राखिएको छ,’ अध्यक्ष देवकोटाले भने।
प्रतिकुल मौषम र र वाढिले राजमार्गका पुलहरु भत्किएकोले लोड भएको सामान ३ ठाउँमा गाडीहरु पल्टि गरेर सुर्खेत ल्याईएको छ। उनले पाईप लगायतका सामानहरु ल्याउन ७ दिन लागेकोले निर्माण काममा ढिलाई भएको वताए।
खानेपानीको एकमात्र विकल्प बन्द भएपछि प्रभावित क्षेत्रका वासिन्दाहरु ठूलो मर्कामा परेका छन। अध्यक्ष देवकोटाले खानेपानी आपूर्तिमा भएको समस्याप्रती दुख व्यक्त गरेका छन।