भर्ना अभियानसँगै अभिभावकबाट नियमविपरीत पैसा असुली  : सुर्खेतका सामुदायिक विद्यालयको कमाउधन्दा

कुलेन्द्र शाही ७ बैशाख २०८१, शुक्रबार ०९:५६

कुलेन्द्र शाही, सुर्खेत । नयाँ शैक्षिक सत्र २०८१ लागि भर्ना अभियान सोमबारबाट देशैभर सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ भर्ना अभियान सुरु भएको हो । भर्ना अभियान सुरु भएसँगै देशैभरका सामुदायिक तथा नीजि विद्यालयले भने भर्ना शुल्क असुल्ने काम गरिरहेका छन् ।

सामुदायिक वा निजी लगानीका विद्यालयले कुनै पनि बहानामा अभिभावकबाट भर्ना शुल्क उठाउन नपाउने व्यवस्था गरिएको छ । एकपटक भर्ना भइसकेको विद्यार्थीबाट पुनः भर्नाका नाममा कुनै पनि शुल्क उठाउन नपाइने कानुनमै स्पष्ट व्यवस्था छ । निजी लगानीका (संस्थागत) विद्यालयले शिक्षा नियमावली २०५९ को नियम १४६ ले तोकेका शीर्षकबाहेक अन्य कुनै पनि शुल्क लिन पाउँदैनन् ।

शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ अनुसार शुल्कको अधिकतम सीमाबमोजिम शुल्क निर्धारण गराउने व्यवस्था कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले निर्देशन जारी गरिसकेको छ । तर सुर्खेतका सामुदायीक तथा नीजि विद्यालयले भने विद्यार्थी भर्नाको नाममा पैसा असुल्ने गरेका छन् । विद्यालयले विभिन्न बहाना बनाउँदै पैसा असुली गर्न थालेपछि अभिभावकहरुलाई निकै समस्या भएको छ ।

सरकारी विद्यालयले नै विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गर्न थालेपछि आफुहरुलाई निकै समस्या भएको अभिभावकहरुको गुनासो छ । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरका सामुदायिक तथा नीजि विद्यालयहरुले भर्नाका नाममा रकम असुल गर्दा पनि नियमन निकाय मौन बसेको छ । वीरेन्द्रनगरका मात्रै होइन सुर्खेतका अन्य स्थानीय तहका सामुदायिक विद्यालयले भर्ना शुल्क उठाइरहेका छन् ।

सुर्खेतको सिम्ता गाउँपालिका–१ गान्द्रास्थित खनेटामा रहेको भगवति माविले भर्ना गरे वापतको रकम उठाएको गुनासो आएको छ । विद्यालयले कक्षा अनुसार शुल्कसमेत निर्धारण गरेको छ । जसमा कक्षा १० मा भर्ना गराउने विद्यार्थीले १२ सय, ९ मा ११ सय, ८ मा एक हजार, ७ मा ९ सय गर्दै क्रमश शुल्क तोकेरै भर्ना गराउने गरेको छ । विद्यार्थीले भर्ना शुल्क नदिएमा विद्यार्थीलाई धम्काएर भर्ना नै नगर्ने गरेको अभिभावकले गुनासो गरेका छन् ।

‘हाम्रो विद्यालयले भर्नाको नाममा विभिन्न बहाना देखाएर शूलक उठाउने गरेको छ,’ उक्त विद्यालयमा कार्यरत एकजना शिक्षकले खबरदृष्टिसँग भने, ‘अभिभावकले पैसा नदिने हो भने धम्काउछन्, नाम लेखाउँदैनौँ भँन्छन्, पैसा उठाउनेका छोराछोरी यहाँ छैनन्, गरिब निमुखाका विद्यार्थीहरुबाट यसरी पैसा उठाइरहेका छन् ।’ उनले विद्यालयले विभिन्न बहाना बनाएर शुल्क उठाउने गरेको जानकारी दिए ।

यता सिम्ता गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिबहादुर गौतमले सायुदायिक विद्यालयले भर्ना शुल्क लिएको कुरा आफूलाई केही जानकारी नभएको बताए । उनले विद्यालयले सहयोग शुल्क भनेर अभिभावकबाट सो इच्छाले रकम लिन पाएपनि बाध्य भएर दिन लगाउनु गलत कार्य भएको बताए ।

‘मैले अहिलेसम्म त्यस्तो रकम असुले भन्ने कुरा सुनेको छैन्, यदी साच्चिकै लिएको रहेछ्न भने म फिर्ता गर्न लगाउँछु,’ उनले भने,‘ विद्यालयले सहयोग शुल्क भनेर लिन पाउँछन् तर सहयोग शुल्क यति उति भनेर तोक्ने अभिभावकलाई दिन बाध्य गराउन मिल्दैन त्यो कार्य गलत हो ।’यस्तै वीरेन्द्रनगरको खजुरामा रहेको नेपाल राष्ट्रिय माविले समेत विद्यार्थीहरुबाट भर्नाका नाममा पैसा असुली रहेको छ । विद्यालयले सहयोग शुल्क भन्दै अभिभावकलाई बाध्य बनाएर शुल्क लिने गरेको हो ।

उक्त विद्यालयले गत वर्षपनि सहयोग शुल्क भन्दै अभिभावकलाई बाध्य बनाएर मोटो रकम लिएको थियो । विद्यालयमा अभिभावकहरु आन्दोलनसमते गरेपछि विद्यालयले रकम उठाउन बन्द गरेको थियो । विद्यालयले यसवर्ष पनि भर्ना अभियानसँगै विभिन्न बहानामा रकम उठाउन सुरु गरेको छ । जुन नियमविपरित प्रष्ट देखिन्छ ।

यस्तै वीरेन्द्रनगरमै रहेको नीजि विद्यालय इगरब्रिजले समेत भर्ना शुल्कमा मोटो रकम लिने गरेको छ । विद्यालयले नयाँ पुरानो सबै विद्यार्थीहरुबाट भर्ना शुल्क लिने गरेको हो । अभिभावकका अनुसार विद्यालयले भर्ना शुल्क, मासिक शुल्क, प्रयोगात्मक शुल्क, परीक्षा आवेदन शुल्क, रजिस्ट्रेशन शुल्कको नाममा विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ ।

नेपाल सरकारले सरकारी विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरेपनि यहाँका प्राय विद्यालयहरुले विभिन्न बहानामा अभिभावकबाट पैसा असुल्ने गरेको पाइएको हो । नियमन निकाय भने आफुहरुलाई रकम उठाएको कुरा कुनै पनि जानकारी नआएको बताउँछ । केही दिनअघि मात्रै वीरेन्द्रनगर नगरपालिकाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सामुदायिक विद्यालयलाई निर्देशन दिएको थियो ।

उक्त निर्देशनपछि पनि संस्थागत विद्यालयहरूले चर्को शुल्क लिन बन्द गरेका छैनन् । शिक्षा नियमावली २०५९ को नवौँ संशोधन २०७७ अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को कक्षामा पुनः भर्ना शुल्क लिन नमिल्ने व्यवस्था छ । सोही नीतिलाई टेक्दै नगरपालिकाले नियमावलीविपरीत जाने विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । ‘एउटै विद्यालयमा लगातार पढिरहेको विद्यार्थीलाई पुनः भर्ना शुल्क परिपत्र जारी भइसकेको छ,’ वीरेन्द्रनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख धिरेन्द्रप्रसाद शर्माले भने, ‘कानुनले स्पष्ट पारेको विषयमा अटेरी गर्ने गराउने संस्थालाई कारबाहीको दायरामा ल्याउनेछौँ ।’

भर्ना अभियान सुरु हुनुपूर्व वीरेन्द्रनगरका सबै संस्थागत र निजी विद्यालयहरूलाई बोलाएर भर्नाबापतको शुल्क नलिन निर्देशन दिइसकेको बताउँदै शर्माले उक्त निर्देशविपरीत जाने विद्यालयलाई कारबाहीको दायरामा ल्याउने बताए । नगरपालिकाले संस्थागत विद्यालयको भर्ना तथा शुल्क निर्धारण वर्गीकरणका लागि निर्देशिका बनाएर अगाडि बढेको उल्लेख गर्दै नयाँ भर्नाका नाममा नियमविपरीत शुल्क लिएको पाइए नियमअनुसार कारबाही गरी शुल्क फिर्ता गराउने शर्माले बताए ।

यता निजी विद्यालयहरूले नयाँ भर्नाका बेला लिने शुल्क विद्यार्थी भर्ना शुल्क नभई वार्षिक सेवाशुल्क भएको निजी विद्यालयहरूको छाता संगठन प्याब्सनका केन्द्रीय उपाध्यक्ष नैनसिंह खत्री दाबी गर्छन् । सोही विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीलाई अर्को कक्षामा जाँदा पुनः भर्ना शुल्क लिएको भन्दै गलत प्रचार गरिएको भए पनि खासमा विद्यालयले उपलब्ध गराउने सेवा सुविधाबापत केही मात्रामा वार्षिक रकम लिने गरेको दाबी उनले गरे । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ । 

Next Post

वीरेन्द्र माविमा अझै सुरु भएन कक्षा १२ को परीक्षा 

७ बैशाख २०८१, शुक्रबार ०९:५६
जाजरकोट । आज (शुक्रबार) बिहान ८ बजेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा जाजरकोटको शिवालय गाउँपालिका-७ जुँगाथापाचौरस्थित वीरेन्द्र माविमा अझै सुरु हुन सकेको छैन । प्रश्नपत्र भन्दा परीक्षार्थीको उपस्थिति धेरै भएकाले परीक्षा बिहान ९:४५ बजेसम्म पनि सुरु हुन नसकेको त्यहाँका केन्द्राध्यक्ष शेर बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031