
फाइल तस्वीर
जाजरकोट । आज (शुक्रबार) बिहान ८ बजेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा जाजरकोटको शिवालय गाउँपालिका-७ जुँगाथापाचौरस्थित वीरेन्द्र माविमा अझै सुरु हुन सकेको छैन ।
प्रश्नपत्र भन्दा परीक्षार्थीको उपस्थिति धेरै भएकाले परीक्षा बिहान ९:४५ बजेसम्म पनि सुरु हुन नसकेको त्यहाँका केन्द्राध्यक्ष शेर बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार प्रश्नपत्र २ सय मात्रै आएको र परीक्षार्थी ३ सय १९ जना सहभागी भएका छन् ।
उनले प्रश्नपत्र प्रिन्ट गर्ने काम भइरहेकाले १०:३० बजेसम्म परीक्षा सुरु हुने जानकारी दिए। उक्त विद्यालयमा इन्द्र ज्योति मावि शिवालय-५ र सरस्वती मावि शिवालय-३ का परीक्षार्थी सहभागी भएका छन् ।
विगतका वर्ष जस्तै यस वर्ष पनि प्रश्नपत्र अनलाइनबाट पठाइएको छ । इमेलबाट प्रश्नपत्र पठाउँदा ‘टाइम पासवर्ड’को व्यवस्था गरेको छ । आज (शुक्रबार) देखि सुरु भएको परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।