२०८३ वैशाख ४ , शुक्रबार

वर्ग दुश्मनसंग मिलेको भन्दै जनमोर्चाका २ हजार एमालेमा

सुदुरपश्चिम र प्रदेश नं २ कमिटीहरु एमाले प्रवेशको तैयारी


सुर्खेत ३ असोज

वर्ग दुश्मनसँग सहकार्य गरेको भन्दै नेकपा मसाल र राष्ट्रिय जनमोर्चा नेपालको दैलेख जिल्ला कमिटी एमालेमा समाहित भएको छ।

खासगरी, एमाले नेतृत्वको केपी ओली सरकार र गण्डकी प्रदेश सरकार ढाल्न राष्ट्रिय जनमोर्चाले खेलेको भूमिका प्रती पार्टी भित्रै ठूलो असन्तुष्टि थियो। पार्टी स्थापना भएदेखि नै प्रतिकृयावादी शक्ति भनेर मान्दै आएको नेपाली कांग्रेससंग मिलेर कम्युनिस्ट सरकार ढालेकोमा देशभरका मसाल र जनमोर्चाका कार्यकर्ताहरुले पार्टी नेतृत्वलाई खवर्दारी गरेका थिए।

नेतृत्व सच्चिने छाँटकाँट नदेखिएपछि उक्त पार्टीका देशभरका नेता कार्यकर्ताहरुले विद्रोह गर्ने तैयारी गरेका छन। सुदुरपश्चिम र प्रदेश नं २ मा मसाल र जनमोर्चाका कार्यकर्ताहरुले पार्टी नेतृत्व विरुद्धमा ‘वगावत’ सुरु गरिसकेका छन्। सुदुरपश्चिममा जनमोर्चा र मसालको समानान्तर कमिटीसमेत वनिसकेको छ। त्यहाँ पनि एमाले नेतृत्वसंग पार्टी समायोजनको वारेमा छलफल भैरहेको जनमोर्चाका एक नेताले दाबी गरे।

आईतवार एमालेमा समायोजन हुनेहरूमा उक्त पार्टीका प्रदेश कमिटी अध्यक्ष भरत शाही, जिल्ला कमिटी दैलेखका अध्यक्ष अम्बरबहादुर नेपाली, उपाध्यक्ष कविराज खत्री, सचिव सुरजबहादुर रावत, सहसचिव नविन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटी सदस्य प्रेम तामाङ, कटकबहादुर शाही, नेपाल महिला संघ जिल्ला उपाध्यक्ष गीताकुमारी खत्री, कानुन व्यवसायी संघका केन्द्रीय सदस्य तथा मशालका वैकल्पिक जिल्ला कमिटी सदस्य हस्त रेग्मी छन् ।

दैलेखमा भने कर्णाली प्रदेशका सभामुख राजवहादुर शाहीले पहल गरेपछि समायोजन संभव भएको हो। सभामुख शाहीले एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मसाल र जनमोर्चाको दैलेख जिल्ला कमिटी एमालेमा समाहित हुन चाहेको खवर पुर्‍याएका थिए।

सिधै केपी ओलीसंग सम्पर्क भएपछि मात्रै हिजो (शनिबार) कर्णाली प्रदेशका नेताहरूसंग वसाई भएको थियो। शनिबार भएको वसाईवाट आईतवार संविधान दिवसको दिन पारी जनमोर्चा र मसालको दैलेख कमिटी एमालेमा समायोजन गर्ने निर्णय गरिएको थियो।

नेकपा मसालका दैलेख जिल्ला कमिटी वैकल्पिक सदस्य एवम् उक्त पार्टीको कानुन व्यवसायी संगठनका केन्द्रीय सदस्य हस्त रेग्मीले राष्ट्रिय राजनीतिलाई हेर्ने दृष्टिकोणमै मसाल र राजमोको नेतृत्व र आफुहरु विच भिन्नता आएको र यसैको कारण दैलेखको संगठन एमालेसंग समायोजन भएको वताए।

उनले दैलेखमा २ हजार १ सयको हाराहारीमा पार्टी सदस्यहरु भएको र त्यसमध्ये भगवतीमाई गाउँ पालिकामा मात्रै ५ सयको हाराहारीमा सदस्यहरु रहेको वताए। पार्टी समायोजन पछि दैलेखमा पार्टीका झण्डै ९० प्रतिशत सदस्यहरु एमालेमा समायोजन भएको उनले दाबी गरे । रेग्मीले दैलेखको प्रतिनिधि सभा क्षेत्र नं २ को तुलनामा क्षेत्र नं १ मा आफुहरुको पकड भएको वताए।

रेग्मीले नेकपा मशालले वर्ग दुश्मनको रुपमा नेपाली काँग्रेसलाई हेर्दै आइरहेको र पछिल्लो समयमा वर्ग दुश्मन भनिएकैसँग नेतृत्वले सहकार्य गरेका कारण उक्त पार्टी छोडेर आफुहरु एमालेमा समायोजन भएको बताए।

‘पार्टीले विगतदेखि वर्ग दुश्मन र प्रतिकृयावादी शक्ति भनेर नेपाली काँग्रेसलाई भन्दै आएको थियो तर अहिले सोही पार्टीसँग साँठगाँठ भएको छ। त्यसवारेमा हामीले सुरुमै कुरा उठाएका थियौं, नेतृत्वले सुनेन। हाम्रा लागि कांग्रेस भन्दा मित्र शक्ति एमाले नै थियो, किनकि एमाले कम्युनिस्ट पार्टी थियो,’ उनले भने, ‘हामीले २०४६ सालको जनआन्दोलन र ०६२/०६३ को दोश्रो जनआन्दोलन वाहेक कांग्रेससंग कहिल्यै सहकार्य गरेनौं। एउटा कम्युनिस्ट पार्टीको सरकार ढालेर प्रतिकृयावादी शक्ति कांग्रेसको सरकार वनाउनु हाम्रा लागि कदापि स्वीकार्य थिएन।’

टुटफूट हुदै गुज्रिएको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन, वाम एकता कायम गर्न र राष्ट्रियताको पक्षमा उभिन पनि एमालेसंग कमिटी समायोजनको तहमा नगई नहुने अवस्था सिर्जना भएको रेग्मीको वुझाई छ। उनले केपी ओलीलाई आफुहरुले वाम एकता र टुफफुटमा रहेको कम्युनिस्ट एकता कायम गर्न आग्रह गरेको समेत खुलासा गरे।

राष्ट्रिय जनमोर्चा नेपालको अर्धभूमिगत संगठनको रुपमा मशालले काम गर्दै आएको छ। अहिले राजमोको अध्यक्षमा चित्रवहादुर केसी छन भने अर्धभूमिगत मशालको महामन्त्रीको रुपमा मोहनविक्रम शिंहले नेतृत्व गर्दै आएका छन।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार