
असोज ५, सुर्खेत
शान्ति भन्दा धेरै समय अशान्ति मै वित्ने गरेको मध्यपश्चिम विश्वविद्यालय शान्त भएको धेरै दिन भएको छैन । विश्वविद्यालयमा तालाबन्दी भएको अवस्थामा उक्त विश्वविद्यालयका रजिष्ट्रार डा. नारायणप्रसाद पौडेलले वुधवार (आज) साँझ ५ वजेसम्म आन्दोलनकारीहरुलाई ताला खोल्न अल्टिमेटम दिएका छन् ।
उनले मंगलबार एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा विभिन्न माग राखेर गरिएको तालाबन्दी भोली साँझ पाँच बजेसम्म खोलिदिन आग्रह गरेका छन् । लामो समयदेखि विश्वविद्यालयमा गरिएको तालाबन्दीले कार्य सम्पादनमा समस्या आएको भन्दै ताला खोलिदिन एक विज्ञप्तीमार्फत आव्हान गरेका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयमा विगत लामो समयदेखि नेपाल राष्ट्रिय प्राध्यापक संगठनले विभिन्न मागहरु राखी गरिएको तालावन्दीको अवस्थामा आन्दोलनरत प्राध्यापक संगठन र मध्यपश्चिम विश्वविद्यालय उच्चस्तरीय वार्ता समिति विच विभिन्न समयमा भएका औपचारिक तथा अनौपचारिक वार्ता र सम्बादहरु निरन्तर भईरहेता पनि उपलब्धिमुलक सहमति हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वविद्यालयमा क्रियाशील विभिन्न विद्यार्थी संघ-संगठनहरुसंग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गर्न र विश्वविद्यालयको एघारौं सभा सम्बन्धी तयारी गर्न, बजेट निकासा र बजेट खर्चको प्रकृया सुरु गर्न एवम् दैनिक प्रशासनिक कार्य सञ्चालन गरी विद्यार्थी, प्राध्यापक र कर्मचारीहरुको समस्या समाधान गरी दैनिक शैक्षिक एवं प्रशासनिक गतिविधिहरु सञ्चालन गर्न विश्वविद्यालयको केन्द्रीय कार्यालयहरुमा गरिएको तालावन्दीका कारण बाधा पुग्न गएकाले मंगलबार अपरान्ह ५ बजेसम्म आन्दोलनरत प्राध्यापक संगठनलाई ताला खोली समस्याको निकास निकाल्न अपिल गरिएको छ ।
विश्वविद्यालयलाई लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने चेतावनी दिदै लगाइएको ताला नखोले ताला फोडी विश्वविद्यालय प्रशासन चलाईने उल्लेख गरिएको छ ।