२०८३ वैशाख ४ , शुक्रबार

एमाले निकट उद्योग महासंघमा केदार उपाध्याय निर्वाचित



असोज १२, सुर्खेत
नेकपा (एमाले) निकट नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ सुर्खेतको अध्यक्षमा कलाधर उपाध्याय (केदार) निर्वाचित भएका छन् ।
सुर्खेतको वीरेन्द्रनगरमा भएको जिल्ला भेलाले उपाध्यायलाई अध्यक्षमा निर्विरोध रुपमा निर्वाचित गरेको हो । भेलावाट ४५ सदस्यीय जिल्ला कार्यसमितिसमेत चयन गरिएको छ ।

अध्यक्षमा निर्वाचित उपाध्याय सुर्खेतको व्यवसायी क्षेत्रको स्थापित नाम हो । उनले सुर्खेतको लेकवेसी नगर पालिकामा वालुवा प्रशोधन केन्द्र संचालन गरेका छन । महासंघको उपाध्यक्षमा सूर्यबहादुर रावत निर्वाचित भएका छन् । उनी सुर्खेतको स्थापित निर्माण व्यवसायी हुन ।

महासंघको सचिवमा सुदिपकुमार केसी, कोषाध्यक्षमा विजय सार्की, सह–सचिव कर्णबहादुर थापा, सह–कोषाध्यक्ष टिकाकुमारी कँडेल (पौडेल) लगायत अन्य सदस्यहरु निर्वाचित भएका हुन ।

पार्टी विभाजनपछि संगठन निर्माणमा जोड दिएको एमालेले पार्टी र पार्टीका जनसंगठनहरुको भेला, वैठक, कमिटी गठन र पुनर्गठनमा जोड दिएको छ । सुर्खेतमा पार्टीका अन्य संगठन वलियो रहेपनि व्यवसाय क्षेत्र कमजोर भएको आँकलन गरेको एमालेले यो क्षेत्रलाई वलियो वनाउने संकल्प लिएको भेलाका सहभागीहरुले वताएका छन् ।

नवनिर्वाचित अध्यक्ष उपाध्यायले संगठनमा रहेका कमीकमजोरी र अप्ठ्याराहरुलाई हटाउदै जिल्लाका व्यवसायीहरुले भोग्नु परेका कर तथा प्रशासनिक झमेलाहरुलाई सल्ट्याउन लाग्ने प्रतिवद्धता जनाए । उनले संगठनलाई व्यापक वनाउन जिल्लाका सवै पालिकाहरुमा कमिटी गठन गरिने जानकारी दिए ।

यसअघि भेलाको उद्घाटन गर्दै नेकपा (एमाले) सुर्खेतका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि धुर्वकुमार शाहीले उद्योगी व्यवसायीहरु पार्टीको अभिन्न अंग भएको वताए । पार्टीको मूल नीति नै आर्थिक संवृद्धि तर्फ देशलाई लैजाने भएकोले यसका लागि व्यवसायीहरु अघि वढ्नुपर्ने सुझाव दिए । उनले व्यवसायीहरुलाई आफ्नो व्यवसाय अभिवृद्धि गर्न सुझावसमेत दिए ।

कार्यक्रमका अध्यक्ष एवम् कर्णाली प्रदेश सभा सदस्यसमेत रहेका नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका कर्णाली प्रदेश ईन्चार्ज खड्कवहादुर खत्रीले व्यवसायीहरुलाई आर्थिक सहयोगको साधनको रुपमा मात्रै नवुझिदिन पार्टी कमिटीलाई आग्रह गरे ।

भेलामा नेकपा एमाले सुर्खेतका उपाध्यक्ष अमृतकुमार विसी, एमाले जिल्ला कमिटी सदस्यहरु टोपवहादुर अधिकारी, शिवराज अधिकारी, गंगाराम तिमिल्सेना, डम्मर तिवारी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २०७८ असोज १२ गते मंगलबार