
असोज २२, सल्यान
सल्यानको कालिमाटी गाउँ पालिकामा विभिन्न पार्टी परित्याग गरि ६१ जना एमाले प्रवेश गरेका छन् । नेकपा एमाले कालिमाटी गाउँ कमिटीको आयोजनामा विजया दशमी तथा दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रममा ठूलो संख्याले एमाले रोजेका हुन् ।
शुक्रबार (आज) भएको कार्यक्रममा नेपाली कांग्रेसवाट २० जना, माओवादी केन्द्रवाट २५ जना, राप्रपावाट १४ र नेकपा (समाजवादी) वाट २ जनाले एमाले प्रवेश गरे । प्रवेश गर्नेहरु कालिमाटी गाउँ पालिकाका प्रभावशाली व्यक्तिहरु रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
एमाले कालिमाटी गाउँ कमिटी अध्यक्ष केशर बुढाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सल्यान जिल्ला ईन्चार्ज गुलावजंग शाह रहेका थिए ।

उनले नव प्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै देशभर एमालेको पक्षमा जनलहर सिर्जना भएको वताए। ’देशका सवैजसो जिल्लामा पार्टी प्रवेशको लहर छ । सरकारमा रहेका सवै पार्टीहरु मिल्दापनि एमालेसंग सिधा प्रतिस्पर्धा गर्न डराईरहेका छन,’ केन्द्रीय सदस्य शाहले भने ।
नेकपा एसमा गएका आधाजसो जनप्रतिनिधि र एमालेका ईमान्दार कार्यकर्ताहरु फिर्ता भैसकेको र आफ्नो डेढ महिने अभियानमा माओवादी र कांग्रेसका कार्यकर्ताहरु पनि एमाले प्रवेश गरेको शाहले जानकारी दिए । पार्टी विभाजन पछि सल्यानमा नेकपा एमाले झनै वलियो भएको र नेकपा एस गाउँमा छिर्न समेत नसकेको उनले दावी गरे ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य मनोजकुमार प्रधान , गाउँ पालिका अध्यक्ष तथा एमाले जिल्ला कमिटी उपसचिव दानबहादुर केसी , अनेमा संघका केन्द्रीय सदस्य तथा गाउँ पालिका उपाध्यक्ष सहनशीला ओली डि सी, वडा अध्यक्ष ईन्द्रवहादुर ओली लगायतको उपस्थिति रहेको थियो ।