
असोज २२, सुर्खेत
सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाको प्रशासकिय भवन उद्घाटन गरिएको छ । घटस्थापनाको दिन पारेर प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाही र प्रदेश सभा सदस्य ठम्मर विष्टले संयुक्तरूपमा उक्त भवनको उद्घाटन गरेका हुन् । ३ करोड २२ लाखको लागतमा सिम्ता गाउँपालिका र संघीय संसद शाहीको पहलमा भवन निर्माण कार्य सम्पन्न भएको हो ।
भवन उद्घाटन गर्दै संसद शाहीले सिम्तामा प्रशासकीय भवन लगायत खानेपानी, सडक, सिंचाइ र सामुदायिक विद्युतीकरणमा ठुलो वजेट विनियोजन भएको वताए । सिम्ताको विकास आफ्नो कार्यकाल र ४८ सालदेखि कांग्रेसको पालासम्ममा भएको विकास दाँजेर हेर्न उनले आग्रह गरे ।
आफु प्रचारमुखी नभइ नतिजामुखी भएको भन्दै एमाले सुर्खेतका पार्टी अध्यक्षसमेत रहेका शाहीले उहिले प्रचारप्रसार ज्यादा र काम कम हुने गरेकोमा अहिले काम वढी प्रचार कम गर्ने गरिएको दाबी गरे ।
स्थानीय स्तरमा विकासमा सहकार्य,समझदारी,समन्वय र सहयोग महत्वपूर्ण हुने वताउदै विकासका नाममा गरिने राजनीतिको खवर्दारी गर्नुपर्ने उनको भनाइ थियो ।
जाजरकोट छिन्चु सडक खण्डको स्तरवृद्धिको योजना आफनै पहलमा भएको र मदन भण्डारी राजमार्ग एमाले नेतृत्वको सरकारले वनाएको योजना अन्तर्गत वनेको उनले वताए ।
आर्थिक पुर्वाधार, सुशासनयुक्त समृद्ध सिम्ता गाउँपालिकाको आधार नारा तय गर्दै ४ वर्षदेखि थुप्रै कामहरु भैरहेको कार्यक्रममा जानकारी गराईएको थियो । उक्त भवन वनाउन ३ करोड २२ लाखमा लक्ष्मण जेभीले कामको जिम्मा लिएको थियो । ३८ कोठा भएको भवनमा कार्यालयका विभिन्न शाखा रहनेगरी नयाँ भवनबाट सेवा सुचारु गरिएको छ ।
भवन उद्घाटन कार्यक्रममा विभिन्न झाँकी, पुराना संस्कृतिमुलक नाचगान, पञ्चेवाजा, सिंगारु नाच प्रस्तुत गरिएको थियोे ।
कार्यक्रममा गाउँपालिकालाई १ सय रोपनी जग्गा दान गर्ने ६७ जना जग्गादाता, पुर्व जनप्रतिनिधि, महिला समूह, कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।
भवन उद्घाटन कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश सदस्य ऐनवहादुर चन्द, नेपाली कांग्रेस सुर्खेतका उप सभापति टेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रका झुपवहादुर वुढा र लेकवेसी नगरपालिकाका प्रमुख गगन सिंह सुनार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।