
विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारणले लामो समयसम्म बन्द रहेका विद्यालयहरु खुल्न थालेका छन् ।
पछिल्लो समय भाइरस संक्रमणको त्रास कम हुँदै गए पछि कर्णालीका स्थानीय तहले विद्यालय सञ्चालमा ल्याई अध्यापन गराउन थालेका हुन् ।
केहि स्थानीय तहका विद्यालयहरुले बैकल्पिक शिक्षा प्राणाली लागु गरेर पठन–पाठन सुरु गरेका छन् भने केहीले कक्षा कोठामा नै सामाजिक दुरी कायम गरेर विद्यालय सञ्चालन थालेका हुन् ।
सुर्खेतको चौकुने गाउँपालिकाले यस अघि नै सबै वडाहरुमा विद्यार्थीहरुलाई टोल शिक्षा सुरु गरेको छ ।
चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले टोल शिक्षा विद्यालय सञ्चालनको पूर्व तयारी भएको र केहि दिनबाट नै विद्यालयमा नै पठन–पाठन सुरु गर्ने तयारी भएको बताए ।
यस्तै दैलेखको भगवतीमाई गाउँपालिकाले असोज ४ गतेबाट विद्यालयमा पठनपाठन शुरु गरेको छ ।
कोरोना संक्रमितको संख्या घट्दै गएर शुन्य अवस्थामा पुगे पनि विद्यालय सञ्चालन हुन नसकेको भन्दै अभिभावकको चर्को दवाब पछि गाउँपालिकाले विद्यालय सञ्चालन गरेको गाउँपालिकाका सुचना अधिकारी प्रेमबहादुर खड्काले बताए ।
यस्तै कालिकोटका विभिन्न स्थानीय तहले पनि विद्यालय सञ्चालन गरेका छन् । कालिकोटको पचालझरना गाउँपालिकाले असोज १ गतेबाट नै औपचारिक रूपमा विद्यालयमै पठनपाठन सुरू गरेको हो ।
गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले यो भन्दा पहिले टोल टोलमा अनौपचारिक रूपमा पठनपाठन भएपनि असोज एक गतेबाट औपचारिक रूपमा गाउँपालिकाका सम्पूर्ण विद्यालयको पठनपाठन सुरु गरिएको जानकारी दिए । कालिकोटकै तिलागुफा नगरपालिकाले पनि पठन पाठन सुरु गरेको जानकारी दिएको छ ।
यस्तै सल्यानको दार्मा गाउँपालिकाले पनि टोल सिकाइ केन्द्रमार्फत विद्यार्थी अध्ययन अध्यापन गराउँदै आएको छ ।
कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि शिक्षण संस्था बन्द भएपछि गाउँपालिकाले टोल सिकाइ केन्द्रमार्फत पठन पाठन शुरू गरिएको गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताए ।