खबरदृष्टि
२७ माघ २०७८, बिहीबार
स्थानीय तहको निर्वाचन घोषणा भएसंगै सुर्खेत जिल्लामा राजनीतिक जोडघटाउ सुरु भएको छ । मुख्यतः ठूला दुई दल नेकपा एमाले र नेपाली कांग्रेस वीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा माओवादी केन्द्रको शक्ति क्षीण हुँदै गएको र नेकपा एमाले विभाजन भएको फाइदा उठाउँदै नेपाली कांग्रेसले सुर्खेत जिल्लाका पालिकाहरुमा विजयको झण्डा फहराउन चाहन्छ ।
कांग्रेस र एमालेवाट टिकट वितरणमा कांग्रेस नेता पूर्णवहादुर खड्का र एमाले नेता यमलाल कडेल निर्णायक हुनेछन् । माओवादी केन्द्रवाट विन्दमान विष्ट, कृष्णबहादुर जिसी र नरवहादुर विष्टले आफु अनुकूलका व्यक्तिलाई टिकट दिनेछन । नेपाली कांग्रेसका नेता पूर्णवहादुर खड्का र हृदयराम थानीको शक्ति सन्तुलनवाट बिगतमा उम्मेदवार चयन हुने गरेपनि यो पटक कांग्रेस उपसभापति खड्का उम्मेदवार चयनमा निर्णायक हुनेछन् । उनको गोजीवाट जसको नाम निस्कियो उसैले टिकटमा बाजि मार्ने निश्चित जस्तै छ ।
नेकपा एमाले भित्र नवराज रावत केन्द्रीय सदस्य भएपनि उनले समेत सुर्खेतको टिकट वितरणमा खासै भूमिका खेल्न सक्ने छैनन् । आफ्नै नगरपालिकामा आफ्नो विपरीत धारका कमिटी अध्यक्षमा निर्वाचित भएपछि उनी अप्ठ्यारोमा परेका छन । महिला कोटावाट केन्द्रीय सदस्य वनेकी मोहनमाया ढकालको भूमिका नेता कडेलले ल्याएको प्रस्तावमा समर्थन गर्नु वाहेक अर्को हुनेछैन ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा दुई पक्षीय भिडन्त पक्का छ । नेपाली कांग्रेसवाट नगर अध्यक्ष उपेन्द्र खड्काको सम्भावना वढि छ । पूर्ण खड्का प्यानलवाट जितेका खड्कालाई रोक्न पूर्ण खड्का वाहेकले रोक्न सक्ने छैनन । मुख्यमन्त्री जीवनवहादुर शाहीसंग सुमधुर सम्बन्ध वनाएका खड्काले प्राविधिक शिक्षा संचालन गरिरहेका छन । कांग्रेस भित्र उनको प्रतिस्पर्धी नारायण कोईराला भएपनि जिल्लामा उनको धार कमजोर छ ।
नेकपा एमालेवाट पार्टी जिल्ला उपाध्यक्ष कुलमणि देवकोटा मेयर पदका स्वभाविक दावेदार देखिएका छन् । अघिल्लोपटकसमेत मेयरको टिकट पाउनवाट चुकेका उनी यो पटक अध्यक्ष अमृत विसीसंग अध्यक्ष पदको सम्झौता गरेर मेयर पद ढुक्क वनाएर वसेको जानकारहरु वताउँछन । अध्यक्ष पदमा उठेर जितिने अवस्था हुँदाहुँदै पनि उनी निवर्तमान अध्यक्ष धुर्वकुमार शाहीको मध्यस्थतामा उपाध्यक्ष पदमा वस्न राजी भएको चर्चा छ । उनको विकल्पका रुपमा सहकारी क्षेत्रमा राष्ट्रिय पहिचान वनाएका हरिहरनाथ योगी र नगर उपप्रमुख मोहनमाया ढकाललाई हेरिएको छ । नेकपा माओवादी केन्द्रले हरिमाया शर्मालाई उठाउने चर्चा छ ।
चिंगाड गाउँ पालिकावाट एमालेले माओवादी पृष्ठभूमिका वोधविक्रम जिसीलाई उठाउने निश्चित जस्तै देखिएको छ । अघिल्लो पटक अध्यक्ष पदमा उठेका वखतवहादुर खत्रीले त्यति चासो नदिएका कारण जिसी अध्यक्षमा लड्ने पक्कापक्की जस्तै छ । कांग्रेसवाट डोर प्रसादशर्मा या वर्तमान अध्यक्ष देववहादुर चन्दमध्ये एकले टिकट पाउने निश्चित छ । थानी खेमाका करसिं रानाले अध्यक्ष पदमा उठ्ने सार्वजनिक घोषणा गरेपनि उनी कांग्रेसको आधिकारिक उम्मेदवार वन्ने अवस्था देखिदैन । नेकपा माओवादीवाट जितवहादुर रानाले अध्यक्षको टिकट पाउने पक्का देखिन्छ ।
चौकुने गाउँ पालिकावाट हालका अध्यक्ष धिरवहादुर शाहीले अध्यक्ष नउठ्ने सार्वजनिकरुपमै घोषणा गरेकाले स्वभाविक रुपमा गाउँ कमिटी अध्यक्ष हरिप्रसाद अधिकारीको पहिलो दाबी हुनेछ । उनी धेरैको रोजाईमा पर्न नसके पालिका उपाध्यक्ष निर्मला रानाले अध्यक्ष पड्काउने छिन । कांग्रेसले पुरानै प्रत्यासी गजराज जोशीलाई पुनः दोहोर्याउने संभावना देखिएको छ । नेकपा माओवादीले खड्क वासपानेलाइ पुनः उठाउने निश्चित जस्तै छ ।
पंचपुरी नगरपालिकामा कांग्रेसले अहिलेका प्रमुख उपेन्द्रवहादुर थापाले पुनः दोहोर्याउने चर्चा छ । उनको विकल्पको रुपमा कांग्रेसका युवा नेता टोपवहादुर रावतको पनि चर्चा छ । एमालेवाट तुलवहादुर सहकारीको संभावना वढि छ । दुर्घटनामा परी एउटा खुट्टा गुमाएका सहकारीले ’सेम्पेथी भोट’ लिन सक्ने अनुमान एमालेले गरेको छ । उनको विकल्पमा पालिका कमिटी अध्यक्ष धनवहादुर थापा र देवीराम भुषाललाई सम्भावित प्रत्यासीको रुपमा हेरिएको छ ।
वराह गाउँपालिकामा एमालेवाट पार्टी उपसचिव घनश्याम पाण्डेको सम्भावना वढि छ । उनको विकल्पमा ईन्द्र केसी र वडा अध्यक्ष हरिलाल सलामीलाई पनि संभावित प्रत्यासीको रुपमा हेरिएको छ । कांग्रेसवाट पुनः तेजवहादुर वस्नेतले अध्यक्ष पदको टिकट पाउने देखिन्छ । उनको विकल्पमा उपाध्यक्ष शोभाकुमारी शर्मालाई अध्यक्षको प्रत्यासीको रुपमा हेरिएको छ ।
लेकवेसी नगरपालिकामा एमालेवाट टिकाराम सोमै र देववहादुर राना मध्ये एकले टिकट लिनेछन् । सिताराम पौडेलकोसमेत चर्चा भएपनि उनले टिकट पाउन भाग्यको साहारा लिनु पर्नेछ । कांग्रेसबाट उमेशकुमार पौडेल स्वभाविक दावेदार देखिएका छन । भेरीगंगा नगरपालिकावाट नेकपा एमालेले अघिल्लो चुनावका प्रतिस्पर्धी यज्ञ ढकाललाई अघि सार्न सक्छ । उनी अनिच्छुक भएको अवस्थामा रामघाटका धनसिं खड्काले प्रमुखमा टिकट लिन सक्छन् । नेपाली कांग्रेसमा रामवहादुर सिंहको टिकट पक्का जस्तै छ ।
गुर्वाकोटमा नेपाली कांग्रेसवाट हस्तवहादुर पुनले आफैले ईच्छा नदेखाएको अवस्थामा वाहेक उनको टिकट खोसिने छैन । उनको विकल्पमा वौद्धिक छवि वनाएका डाक्टर नरेश ढकालले टिकट लिन सक्छन् । एमालेको सवैभन्दा कमजोर जनमत क्षेत्र भएकोले टिकट लिन हारालुछ हुनेछैन । देववहादुर खत्री या तिलक खत्रीले टिकट पाउने देखिएता पनि एमालेले दलित कार्ड खेल्न सक्ने सम्भावना पनि उत्तिकै छ । यस्तो अवस्थामा दहचौर स्थायी ठेगाना भएका दलित गैसस महासंघका केन्द्रीय महासचिव जसवहादुर विश्वकर्मालाई अप्रत्यासित रुपमा उठाउन सक्नेछ ।
सिम्तामा एमालेवाट ऐनवहादुर चन्दको वलियो संभावना देखिन्छ । सचिव पदमा अहिलेका अध्यक्ष कविन्द्रकुमार केसीको वढुवा भएसंगै चन्द स्वभाविक दावेदार वनेका छन । पार्टीका दुवै गुटसंग राम्रो सम्बन्ध वनाएका चन्द सिम्ताका पुराना कम्युनिस्टहरुका पनि प्रिय छन ।
आखिर जो जसले टिकट पाएपनि पार्टी भित्रको शक्ति सन्तुलनलाई ख्याल नगरिए परिणाम जतापनि जान सक्ने देखिन्छ । निर्वाचनको वेला कांग्रेस र एमाले भित्र देखिन सक्ने असन्तुष्टि र संभावित विद्रोहले निर्वाचनमा हार या जितको निश्चित गर्नेछ ।