नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई गम्भीर षड्यन्त्रमूलक भएको ठहर गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा अाेलीकाे निवास बालकाेटमा बसेकाे बैठकले गठवन्धन सरकारले गरेको निर्णयले अदालतमाथि प्रहार गरेकाे प्रतिकृया दिएको छ । एमालेले यसको प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।
आइतबार बसेको एमाले सचिवालय बैठकले सत्तारुढ गठबन्धनमा रहेका दलका सांसदले पेश गरेको महाअभियोग प्रस्तावलाई लोकतन्त्र र सार्वभौमसत्तामाथिको प्रहार र स्थानीय तहको निर्वाचनलाई धकेल्ने षड्यन्त्र भएको निश्कर्ष निकालेको हो।
बैठकपछि एमाले महासचिव शंकर पोखरेलले गठवन्धनकाे कदम नेपालमा सत्तापक्ष र प्रतिपक्षका बीचमा लामो समयपछि थालनी भएको संवादको प्रयासलाई विथोल्ने षड्यन्त्रका रुपमा आएको अनुमान गरेकाे वताए।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई विथोल्ने र अदालतलाई सत्ताको निर्देशनमा चल्ने संस्था बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव दर्ता भएको पोखरेलले बताए ।