
दीर्घकालिन विकासे योजना बनाउन भन्दै चौकुने गाउँपालिकाले एक कार्यशालाको आयोजना गर्न लागेको छ । गाउँपालिकाले आगामी असोज ८ गतेदेखि १० गतेसम्म तीन दिने कार्यशाला आयोजना गर्दैछ ।
गाउँपालिकाका १० वटै वडामा सञ्चालन भइरहेको विकास आयोजनाको सर्वेक्षण गरी त्यसबाट आएका नतिजा, सुझावहरुलाई थप गरि कार्यान्वयन गर्न विकासे योजनाका लागि कार्यशाला आयोजना गरिएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सञ्चालनमा रहेका विकास आयोजनाका बारेको समीक्षा गर्ने, सुझाव दिने र ती योजना कार्यान्वयन तथा विस्तार गर्नका लागि थप बजेट छुट्टाउने लगायतका विषयमा विभिन्न राजनीतिक दल, संघ संस्था र सम्बन्धित सरोकारवालाहरुलाई कार्यशालामा बोलाइएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।
शाहीले कार्यशालावाट प्राप्त हुने सुझाव अनुसार आगामी योजना तय हुने वताए । यसबाट गाउँपालिकाको दिगो विकास गर्न सहज हुने वताउदै गाउँपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि एवं अन्य सरोकारवालाहरुवाट सहयोगको अपेक्षा गरे।
उनले गाउँपालिकामा क्रियाशील राजनैतिक दलहरु, गाउँपालिकाका विषयगत शाखाहरु, डिभिजन वन कार्यालय, चौकुने हुलाक कार्यालय, बजार व्यवस्थापन समिति, नेपाल रेड्क्रस सोसाइटी चौकुने शाखा, महिला संजाल चौकुने, ईलाका प्रहरी चौकी गुठुका प्रमुख एवम् प्रतिनिधिलाई कार्यशालामा निम्तो गरिएको जानकारी दिए।