नेकपा माओवादी केन्द्रले पछिल्लो समय एकपछि अर्को धक्का खादै गएको छ। माओवादी आन्दोलनकाे केन्द्रविन्दु मानिने रुकुम र राेल्पामासमेत एमालेले माओवादी कार्यकर्ताहरु तानिरहेकाे छ।
पश्चिम रुकुमकाे जाजरकोटसंग सीमा जाेडिएका क्षेत्रवाट खासगरी दलित समुदायका व्यक्तिहरुले माओवादी पार्टी छाेडेका समाचार आईरहेकाे वेला राेल्पाकाे रुन्टीगढी गाउँपालिकावाट ठूलो संख्यामा माओवादीका कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन्।
माओवादीका पूर्व केन्द्रीय सदस्य ज्ञानु पुन, माओवादीका प्रभावशाली नेता हाेमबहादुर घर्तीसहित करिब ६३ जनाले आईतवार नेकपा (एमाले) प्रवेश गरेका छन्।
एमाले रुन्टीगढी गाउँपालिकाद्वारा डाफ्ला भन्ने स्थानमा आयाेजित पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियानका क्रममा उनीहरूले माओवादी केन्द्र परित्याग गरि एमालेको सदस्यता लिएका हुन ।
नवप्रवेशी नेताहरूलाई एमाले केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज कुमार दसाैदी, केन्द्रीय सदस्य तथा राेल्पा जिल्ला सह-इन्चार्ज ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढालगायतका नेताहरूले स्वागत गरेका थिए।