सुर्खेतको वीरेन्द्रनगरमा समाजवादी पार्टीमा ठूलो हलचल पैदा भएकाे छ। एमाले छाेडेर समाजवादी पार्टी प्रवेश गरेका नेता कार्यकर्ताहरु धमाधम एमाले फर्कन थालेपछि सुर्खेतमा समाजवादी पार्टीको भविष्यलाई लिएर अन्याैल पैदा भएको छ।
समाजवादी पार्टीमा कर्णाली प्रदेशका सिनियर नेता शिवप्रसाद उपाध्यायलाई गत राष्ट्रिय सभाकाे निर्वाचनमा टिकट नदिई उनीभन्दा जुनियर नेतालाई उपमहासचिव प्रकाश ज्वालाकाे दवावमा टिकट दिलाएपछि उपाध्याय पनि रुष्ट वनेकाे उनी निकट श्राेतले जानकारी दियाे।
समाजवादी पार्टीका भेरीगंगा नगर कमिटी अध्यक्ष लालमणि पाैडेलले पार्टी छाेडेकाे दुई दिनपछि वीरेन्द्रनगर पालिका वडा नं १० का अध्यक्ष एवम् समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य रत्न वुढाले पार्टी छाेडेका छन्। बिभाजनलाई राेजेका थारु समुदायका प्रभावशाली नेता पार्टी प्रदेश कमिटी सदस्य जागुराम थारु, कृष्णबहादुर थापा र विमला थापालगायतका व्यक्तिहरु एमाले फर्किएका छन्। साेही कार्यक्रममा वीरेन्द्र नगरकाे वडा नं १० का वडा सदस्य सुनिता चाैधरी पनि एमाले फर्किएकी छन्।
वुढा र थारुलगायतकाे एमाले प्रवेशपछि वीरेन्द्रनगर १० मा समाजवादी पार्टी शून्यकाे अवस्थामा पुगेको वडा सदस्य डिलवहादुर रखालले जानकारी दिए। ‘पार्टी विभाजनमा लागेका सवै फर्किसके,’ उनलेे भने।
पूर्व एमाले नेता कार्यकर्ताहरु क्रमश एमाले फर्कन थालेपछि जिल्लामा समाजवादी पार्टी दयनीय अवस्थामा पुगेको छ। एमालेबाट वडाअध्यक्षमा निर्वाचित बुढालाई एमाले पार्टीमा स्वागत गर्दै एमाले स्थायी कमिटी सदस्य यमलाल कँडेलले आगामी स्थानीय तहकाे निर्वाचन पार्टी जीवनका लागि जीवनमरणको सवाल भएको वताए।
एमालेका कर्णाली प्रदेश ईन्चार्ज समेत रहेका कँडेलले आउने चुनावमा एकताबद्ध भै लड्नु पर्ने अवस्था आएकाले जाे-जस्ले टिकट पाएपनि विवाद नगरी निर्वाचनमा हाेमिनुपर्ने अवस्था आएकाे वताए। ‘आउने निर्वाचनमा सवै दल एकातिर हुने र एमाले एक्लै भिड्नुपर्ने अवस्था छ। पार्टीप्रती अभुतपूर्व आकर्षण वढेकाेले एमाले एकताबद्ध हुँदा सजिलै चुनाव जित्न सकिन्छ,’ कँडेलले भने।
उनले नेतृत्वमा वसेकालाई सवै कार्यकर्ताकाे मन जितेर टिकट लिन जिम्मेवारीमा रहेकाहरुलाई आग्रह गरे। स्थानीय तहमा भिड्नेहरुले सर्वसम्मतरुपमा एउटै मात्र नाम सिफारिस गर्न कार्यकर्ताहरुलाई आव्हान गरे।
पार्टी विभाजनका बेला एकीकृत समाजवादी रोजेका वीरेन्द्रनगर १० अध्यक्ष वुढाले विगतमा भ्रममा परेर आफ्नाे प्याराे पार्टी एमाले छोडेकोमा पश्चाताप रहेको भन्दै पुन: मूल घरमै फर्किएको बताए।
प्रकाशित मिति : २०७८ चैत ३ गते बिहीबार