नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेशका जिल्लाहरुमा चुनावी कमान्डरहरु खटाएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रदेशका १० वटै जिल्लामा चुनावी कमान्डरहरु खटाएको हो।
समाजवादीको आइतबार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो पूर्ण बैठकले नेताहरुलाई चुनावी कमान्डका रुपमा जिल्लामा खटाउने निर्णय गरेको प्रदेश कमिटी सचिव ठगेन्द्रप्रकाश पुरीले जानकारी दिए।
बैठकले गरेको निर्णय अनुसार चन्द्रबहादुर शाहीलाई हुम्ला, शेरबहादुर केसीलाई रुकुम पश्चिम, हंशबहादुर शाहीलाई डोल्पा, अम्मरबहादुर थापालाई दैलेख, देविलाल थापालाई जुम्ला जिल्लाकाे कमान्ड गर्नेगरी खटाएको छ।
राष्ट्रिय सभा सदस्य नन्दा शर्मालाई सल्यान, ठगेन्द्रप्रकाश पुरीलाई सुर्खेत, कृष्णबहादुर विसीलाई जाजरकोट, कुर्मराज शाहीलाई कालीकोट र गोपाल बमलाई मुगुमा खटाईएको हो ।
चुनावी कमान्डरहरु ‘जनतामा जाऔं, एकीकृत समाजवादीलाई जिताऔं’ भन्ने अभियान लिएर उनीहरू सोमबारदेखि नै जिम्मेवारी दिईएका जिल्लाहरुमा जानेछन् । उनीहरुले चैत २० गतेसम्म जिल्लादेखि टोलस्तरसम्म १५ दिने जनपरिचालन अभियान सञ्चालन गर्नेछन् ।
बैठकले २७ वटा विभाग, १२ सदस्यीय कार्यालय र ४७ सदस्यीय सचिवालय गठन गरेर नेताहरुको जिम्मेवारी समेत बाँडफाँड गरेको बताईएकाे छ। समाजवादीले चैत १५ गते सबै जिल्लामा र १८ गते पालिकामा निर्वाचन परिचालन कमिटीहरुकाे घोषणा गर्नेछ ।
बैठकका निर्णयहरु सार्वजनिक गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल हुने दाबी गरे ।