सुर्खेत उद्योग बाणिज्य संघमा विवादका वीच संस्थापन समूहले चुनावी अभियान सुरु गरेको छ। अागामी चैत २६ गते ताेकिएकाे संघकाे निर्वाचनमा नेपाली कांग्रेसकाे संस्थापन ईतरकाे प्रजातान्त्रिक व्यवसायी समूह (टेकबहादुर भण्डारी समूह), नेकपा एकीकृत समाजवादीकाे नेपाल राष्ट्रिय उद्योग व्यवसायी संघ र नेकपा एमालेकाे नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ, निर्वाचनमा एक भएर निर्वाचनमा हाेमिने संकेत गरेका छन्।
आज सुर्खेतकाे वीरेन्द्रनगरमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनवहादुर रावत, पूर्व अध्यक्ष टेकबहादुर भण्डारी, एमाले निकट व्यवसायी महासंघका डम्मरप्रसाद तिवारी र समाजवादी निकट संघका कृष्णप्रसाद सुवेदीद्वारा सामुहिकरुपमा हस्ताक्षरित विज्ञप्तिमा संघलाई सम्पूर्ण व्यापारी व्यवसायीहरुकाे साझा र छाता संस्था वनाउन र ताेकिएकाे मितिमा निर्वाचन गर्न सामुहिक ऐक्यबद्धता जाहेर गरेका छन्।
संघका अध्यक्ष रावतले व्यवसायी संगठनमा पार्टीहरुले हस्तक्षेप गर्न नहुने वताए। उनलेे व्यवसायीहरुले नै निर्वाचन र अन्य समयमा पार्टीहरुलाई आर्थिक लगायतका अन्य सहयोग गर्ने गरेको प्रष्ट पारे।
संघकाे ताेकिएकाे निर्वाचन कुनैपनि हालतमा नराेकिने भन्दै निर्वाचन गर्नका लागि आवश्यक सम्पूर्ण डकुमेन्टहरु निर्वाचन समितिलाई वुझाईसकेकाे उनले दाबी गरे।
संघमा असन्तुष्ट पक्षहरुवाट लगाईएकाे ताला नखुल्दा पनि निर्वाचन नराेकिने अध्यक्ष रावतले प्रष्ट पारे। उनले आगामी चैत १० गतेसम्म संयुक्त व्यवसायी समूहका सवै उम्मेदवारहरुकाे नाम सार्वजनिक हुनेसमेत जानकारी दिए।