सुर्खेत उद्योग वाणिज्य संघमा देखिएको विवादको समधान नगरेर संघको निर्वाचन कार्यतालिका निकालेकोप्रति आपत्ति जनाईएकाे छ। संघले मंगलबार निर्वाचन सचिवालयको स्थापना गरी मतादाता नामावली र निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेपछि आपत्ति जनाइएको हो ।
संघका निवर्तमान अध्यक्ष प्रकाश अधिकारी, वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, उद्योग उपाध्यक्ष गणेश बस्नेत लगायतका पदाधिकारीहरुले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै कार्यतालिका प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।
सहमति, सहकार्य र एकताको माध्यमबाट समग्र उद्योगी, व्यवसायीहरुको हक अधिकार स्थापित गर्नुपर्नेमा संघमा एकलौटी ढंगबाट सहमतिको ढोका बन्द गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु आपत्तिजनक रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पदाधिकारीहरूबीच सहमति नगरेरै सयौँ व्यवसायीलाई बाहिर राखेर प्रकाशन गरिएको निर्वाचन कार्यतालिका स्वीकार्य नभएको व्यवसायीको भनाई छ ।
सुर्खेत उद्योग वाणिज्य संघभित्र विगत लामोसमय देखि सदस्यता विवाद पटकपटक उठ्दै अाएकाे छ । विवादकै बिच उद्योग वाणिज्य संघका पदाधिकारीहरुले चैत्र २६ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै असन्तुष्ट पक्षले विज्ञप्ति जारी गरेको हाे।
असन्तुष्ट पक्षले चैत्र २६ गते चैते दशैँ पनि परेकाले उक्त दिन निर्वाचन भए सदस्यहरु सहभागी हुनबाट राेकिने भन्दै गलत नियत नराखी एकताबद्ध गरेर अगाडी बढ्न विज्ञप्तीमा उल्लेख गरिएको छ । सर्वसहमति विपरित घाेषित निर्वाचनमा जाँदा त्यसबाट निम्तिने दुष्परिमाणको जिम्मेवार सम्बन्धित पक्ष हुने चेतावनीसमेत दिइएको छ ।
प्रकाशित मिति : २०७८ चैत १६ गते बुधबार