कर्णाली प्रदेशकाे भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकार परमादेशबाट जारी भएको म्यादी सरकार भएको वताएका छन्। दैलेखको दुल्लुमा केहीवेर राेकेर जुम्ला पुगेका ओलीले परमादेशबाट बनेको सरकारबाट कुनै आशा र अपेक्षा नराख्न जुम्लावासीलाई आग्रह गरे।
आज कर्णालीका दैलेख, जुम्ला र कालिकोटमा आयोजित पार्टीका कार्यक्रममा सहभागी भएका पूर्व प्रधानमन्त्री ओलीले वर्तमान सरकारको दिनगन्ती सुरु भइसकेको ठाेकुवा गरे।
जुम्लाको सिंजामा भएको कार्यक्रममा अध्यक्ष ओलीले एमालेप्रतिको जनसागर देखेर बाँकी दलहरुवीच गठबन्धन बनेकाे प्रष्ट पारे। ‘अदालतबाट गठन भएको म्यादी सरकारको दिनगन्ती सुरु भइसकेको छ, यो सरकार संघीय र प्रदेशको चुनावसम्म पनि जानेवाला छैन,’ उनले भने। एमालेप्रतिको जनआकर्षणकाे कारण गठबन्धनका दलहरूलाई छटपटी भइरहेको उनलेे खुलासा गरे।
अध्यक्ष ओलीले अहिलेको सरकार जनतालाई ढाट्ने र छक्याउने खेलमा लागेको आरोप लगाउदै स्वार्थका लागि कांग्रेसको पछाडि लागेकाहरु चाँडै ढल्ने ठाेकुवा गरे। कांग्रेसका पछाडि लागेकाहरुको पार्टीको ठेगान पनि नभएको उनको भनाइ थियाे।
ओलीले स्थानीय तहको निर्वाचनमा एमालेलाई मत दिएर समृद्ध नेपाल निर्माणको महाअभियानमा सहभागी हुन पनि अपिल गरे।
‘पहिले एक पटक मार्सी चामल खाएको थिए, निकै चर्चा चल्यो, अहिले त झन सिंजामै पुगेर मार्सी चामलको भात र सिमीको दाल खाएको छु, हिमा नदीको निकै स्वादिष्ट माछा खाएको छु, ’ उनले भने।
उनलेे सिंजाको विकासका लागि एमालेले काम गर्ने प्रतिवद्धता जनाए। अध्यक्ष ओलीले सिंजा सभ्यता, भाषा र संस्कृतिको बारेमा व्याख्या गरेका थिए।
यसैगरी, कालिकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिवसहित करिव चार सयलाई पार्टी प्रवेश गराएका थिए। पूर्व मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य, माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य महेन्द्रबहादुर शाही, प्रदेश सदस्य रत्न बिकलगायतलाई ओलीले पार्टी प्रवेश गराएका थिए।
यस्तै, सिंजा पुगेका ओलीले नेकपा विप्लव समूहका राज्य समिति सदस्य रामप्रसाद शर्मा र नेपाली कांग्रेस प्रदेश (ख) का उपसभापति दानसिंह खत्रीलगायतलाई एमाले प्रवेश गराएका थिए।
जुम्लाको कार्यक्रम सकेर कालिकोट पुगेका ओली आउनु अघि नै कालिकोट सदरमुकाममा रहेकाे खुल्ला ठाउँ भरिईसकेकाे थियाे। नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्माओलीको सम्वोधन सुन्न र हेर्न विहीवार सदरमुकाम मान्ममा हजारौँको जनसागर उर्लिएको हो ।
कालिकोटमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य कृष्णप्रसाद आचार्य, प्रदेश कमिटी सदस्य महेन्द्रबहादुर शाही, प्रदेश कमिटि सदस्य रत्न विक, लगायतवाट विभिन्न पार्टी परित्याग गरी ६ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए।
केही दिनअघि अनौपचारिक रुपमा पार्टी छाडेको घाेषणा गरेका उनी औपचारिक रुपमा अाेली उपस्थित आमसभामा एमाले प्रवेश गरेका हुन। केही दिनअघि माओवादीले प्रदेश कमिटीको जिम्मेवारी पाएका प्रदेश कमिटी सदस्य महेन्द्रबहादुर शाही र रत्न विकसमेत औपचारिक रुपमा एमालेमा प्रवेश गरेका छन ।
प्रदेश कमिटी सदस्यसहित अन्य पार्टीका ६ सय बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको पार्टी स्रोतले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले अाफ्नै सरकारको पालामा कालिकोट हुदै जुम्लासम्म राष्ट्रिय प्रसारण लाइन पुगेको समेत बताएका छन ।
कालिकोट जिल्लाको सदरमुकाम मान्ममा आयोजित एमालेको बिशाल आमसभालाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन ।
आफ्नो सरकारका पालामा कर्णालीमा धेरै विकास गरिएको भन्दै गरिएका बृहत विकासबारे जानकारी गराउँदै वाँकी विकास निर्माणका काम एमाले सरकारकै पालामा सम्पन्न गरिने प्रतिवद्धता जनाए।
रास्कोटको बृहत खानेपानी आयोजना, खाँडाचक्र चुलीको बृहत खानेपानी आयोजना र कर्णाली राजमार्ग दुई लाइन बनाउन आफ्नो सरकारका पालामा वजेट सहितको योजना परेको बताए।
उनले जनजीविकाका सवालका गरेका विकास देखेर सरकार ढालिएकाे भन्दै अदालतले ढालेको सरकार अव जनताकाे माँझमा न्याय खोज्न आएकाे वताए। कालिकोट विकास गर्न भौगोलिक हिसावले कठिन रहेकाले यसको विकास गर्न एमालेलाई जिताउन जरुरी रहेको उनको भनाइ छ।