नेपाली काँग्रेस सुर्खेतको शेखर कोइराला समूहले आगामी स्थानीय तहकाे निर्वाचनलाई लक्षित गरेर एक भेलाकाे आयाेजना गरेको छ। गत स्थानीय तहकाे निर्वाचनमा शेखर काेईराला समूहकाे प्रतिनिधित्व गरेको उक्त टिम देउवा टिमसंग पराजित भएको थियाे।
आज नेपाली काँग्रेस सुर्खेतका निवर्तमान सभापति कमलराज रेग्मीको संयाेजनमा भएको भेलामा देउवा (संस्थापन) पक्षले एकलौटी गर्न खोजेपछि निर्वाचनमा ४० प्रतिशत हिस्सा माग गर्न लागेकाे हो।
पार्टीभित्र भागवण्डाको राजनीति नगर्ने भनिएपनि संस्थापन इतर पक्षलाई पेलेर जाने, महाधिवेशनमा पराजित टिमलाई बेवास्ता गर्ने प्रवृत्ति बढेको हुँदा पार्टीभित्र ६०/४० को भागवण्डा हुनुपर्ने समूहको निष्कर्ष छ।
निर्वाचनमा काँग्रेसलाइ विजय गराउन नेता तथा कार्यकर्तालाइ आग्रह गर्दै आफुहरुको पनि सम्मानजनक उपस्थिति देखाउन र पार्टीमा मनोनित गर्दा वा भूमिका दिने सवालमा संस्थापन इतर समूहलाई पनि भूमिका दिनुपर्ने भेलाकाे निष्कर्ष छ।
भेलामा आफुहरुलाई भूमिकाविहीन बनाइएको र आगामी स्थानीय तहको निर्वाचनमा पनि यस्तै सम्भावना हुने देखिएकोले आफूहरुलाई ४० प्रतिशतको हिस्सा दिनुपर्ने वीरेन्द्रनगरकाे मेयर पदका दाबेदार एवम् कांग्रेसका युवा नेता नारायण कोइरालाले बताए।
‘आजसम्म आफूहरुले पर्खेर बसेको र संस्थापन पक्षको गतिविधिले इतर पक्षलाई बेवास्ता गरेको आफुहरुलाई महसुस भएको छ,’ उनले अघि भने,’ पार्टी एक्लै चुनावमा जान सक्षम भएपनि केन्द्रीय नेतृत्वले गठवन्धन गर्ने निर्णय गर्नुले कार्यकर्तामा निरासा छाएको छ।’
नेपाली कांग्रेसका निवर्तमान सभापति कमलराज रेग्मीले पार्टी नेतृत्वले संस्थापन इतर पक्षलाई पनि समेटेर लिनुपर्नेमा त्यो गर्न नसकेको आरोप लगाए। स्थानीय तहको निर्वाचनमा संस्थापन पक्षले पनि बाइपास गर्न सक्ने देखिएकोले त्यसो नगर्न नेतृत्वलाई चेतावनी दिए। पार्टीभित्र फरक मत देखिएपनि सहअस्तित्व र सम्मानको वातावरण बनाउनुपर्ने उनकाे भनाइ थियाे।
भेलामा काँग्रेसका निवर्तमान सचिव भूपेन्द्र खत्रीले केन्द्रीय नेताकै कारण पार्टी कमजोर बन्न लागेको बताए। उनले सिद्धान्तै नमिल्ने पार्टीसँग काँग्रेसले गठवन्धन गर्नु दुर्भाग्य भएको टिप्पणी गरे। पार्टीभित्र एकता कायम गरेर जानुकाे सट्टा सिद्धान्त नमिल्ने पार्टीहरुलाई साथमा लिन खोज्ने प्रवृत्तिले काँग्रेस कमजोर बनेको उनको भनाइ थियाे।
नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य शम्भू पन्तले नेताहरुले पार्टी भन्दा पदलाई जोड दिएकोले गठवन्धन गर्न खोजेको आराेप लगाए। उनले गठवन्धन गर्न आवश्यक नभएको भन्दै गठवन्धनका नाममा पार्टी सिध्याउने खेल भएको आरोप लगाए।
नेपाली काँग्रेस सुर्खेतका पूर्व उपसभापति टेकबहादुर सिंह, पूर्व कोषाध्यक्ष अनन्त पौडेल, पूर्व जिल्ला कमिटी सदस्य टेकबहादुर भण्डारी लगायतले पार्टीको वर्तमान नेतृत्वले इतर पक्षलाई बेवास्ता गरेकाेले आ गामी स्थानीय तहकाे निर्वाचनमा भूमिका नदिए नेतृत्वका विरुद्ध सशक्त भएर लाग्ने चेतावनी दिए।
उनीहरुले पार्टी भित्र फरक मत भएपनि सवैकाे सम्मान गर्नुपर्ने र पार्टीका हरेक निकायमा अब ४० प्रतिशत हिस्सा दिनुपर्ने माग गरे।
प्रकाशित मिति : २०७८ चैत १८ गते शुक्रबार