नेकपा एकिकृत समाजबादी कर्णाली प्रदेशका अध्यक्ष पूर्वमन्त्री अमरबहादुर थापाका दाहिने हात मानिएका दैलेखका भगवतीमाई गाउँ पालिकाका अध्यक्ष दानबहादुर थापा नेकपा एमालेमै फर्किएका छन् ।
अध्यक्ष थापा सहित गाउँपालिकाको ठूलो टोली नेकपा एमालेमा फर्किएको हो । थापालाई एमालेमा स्वागत गर्न भगवतीमाई गाउँपालिकामै बृहत जनसभाकाे आयाेजना गरिएको थियो । थापालाई नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोदकुमार शाह, प्रतिनिधि सभा सदस्य एवं नेकपा एमाले दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्मा सहितको टोलीले स्वागत गरेका थिए।
एमालेमै फर्किएका भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले केही दिन बाटो बिराए पनि अब एमालेमै रहेर जनताको सेवामा खट्ने प्रतिबद्धता ब्यक्त गरे । २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थापा पार्टी बिभाजन पछि पूर्वमन्त्री अमरवहादुर थापाको दवावमा एमाले छाेडेका थिए।
मन्त्री थापाका आफन्ती अध्यक्ष थापाले नेकपा एसले प्रभावकारी काम नगरेको भन्दै दुई महिना अघि समाजवादी पार्टीवाट राजिनामा दिएका थिए ।
अध्यक्ष थापासहित विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खड्का, कमला खत्री, मानबहादुर नेपाली, बलबहादुर थापा, सुशिला विक लगायत १ सय २५ जना एमालेमा प्रवेश गरेकाे दैलेखका पार्टी अध्यक्ष रबिन्द्रराज शर्माले जानकारी दिए।
पार्टी प्रवेशपछि उनले भने, ‘एमाले नै जनताको वास्तविक साथी हो र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको छु ।’
अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तिकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिएका छन् । दैलेखमा नेकपा एमाले पहिलेदेखिनै बलियो रहेको र अव झन मजबुत भएर दैलेखका सवै स्थानीय तहमा निर्वाचन जित्ने पक्का भएको बताए ।
पार्टी विभाजनकाे समयमा कर्णालीका जिल्लाहरुमध्ये दैलेख सर्वाधिक प्रभावित भएको जिल्ला थियाे। जहाँ एमालेवाट जितेका २ पालिका प्रमुख , ३ उप प्रमुख र दर्जनाै वडा अध्यक्ष र सदस्यहरु समाजवादी प्रवेश गरेका थिए।
विभाजन राेजेका भगवतीमाईका अध्यक्ष थापा एमाले फर्किसकेका छन भने महावु गाउँ पालिकाका अध्यक्ष जंगवहादुर शाही पनि एमाले फर्कने निश्चित भएको एमाले दैलेख श्राेतले जानकारी दियाे।