कंगो शान्ति मिसनमा रहेका सुर्खेत जिल्लाकाे गुर्भाकाेट नगर पालिका वडा नं १४ का अनिल गुरुङकाे मृत्यु भएको छ। घाइते अवस्थामा रहेका उनको उपचारका क्रममा निधन भएको हाे। नेपाली शान्ति सैनिककोरुपमा कंगाेमा कार्यरत रहदा उनी माथि बिद्रोहीले अाक्रमण गरेका थिए।
अपरेसन ‘बाली’ को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट प्रहार गरेको गोली प्रहारबाट घाइते भएका उनलाई हेलिकप्टरमार्फत थप उपचारको लागि बुनियाँस्थित लेबल–२ अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सेनाले जानकारी दिएको हो ।
नेपाली शान्ति सैनिकको आफ्नो कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण भएकोमा प्रधान सेनापति प्रभुराम शर्माले समस्त नेपाली सेना परिवारको तर्फबाट गुरुङको बलिदानीपूर्ण योगदान प्रति उच्च सम्मान प्रकट गरेका छन् । यस घटनाबाट सिंगो नेपाली सेनालाई नै स्तब्ध बनेको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यता राष्ट्रसंघले कंगोको इटुरी प्रान्तको बालीमा राष्ट्रसंघको मिसनमा खटिएका शान्ति सेनामाथि भएको हमलाको निन्दा गरेको छ । नेपाली शान्ति सैनिकको मृत्युप्रति राष्ट्रसंघका महासचिवले समेत समवेदना व्यक्त गरेका छन् ।
महासचिवले मृतक शान्ति सैनिक परिवार, नेपाल सरकार र नेपालीप्रति गहिरो समवेदना प्रकट गरेका हुन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै महासचिवले सो घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउनु पर्ने वताएका छन्।
प्रकाशित मिति : २०७८ चैत २३ गते बुधबार