२०८३ वैशाख ४ , शुक्रबार

वीरेन्द्रनगरकाे मेयरमा पार्टीले टिकट दिए उठ्ने उपसभापति विष्णु खड्काकाे चाहना, शेखर टिमकाे वीरेन्द्रनगरसहित ३ पालिकामा दाबी



       स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा सुर्खेतमा क्रियाशील पार्टीहरुले उम्मेदवार छनाैट सुरु गरेका छन्। एमाले विरुद्धमा महागठवन्धनकाे घाेषणा गरेका दलहरूकाे भागबण्डा केन्द्रीय स्तरवाटै हुने देखिएकाले कांग्रेस र माअाेवादीले केन्द्रीय ‘सर्कुलर’ पर्खिरहेका छन्।
नेकपा एमालेले भने जिल्लाका ९९ ओटै वडाका उम्मेदवार छनाैट गरिरहेकाे छ। शनिबार साँझसम्म २१ वडामा भिड्ने उम्मेदवारहरु सर्वसम्मतिले टुंगोमा पुगेकाे नेकपा एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सिनाले जानकारी दिए। आगामी चैत ३० गतेभित्र सवै वडाका उम्मेदवारहरु सर्वसम्मतरुपमा छनाैट हुने उनलेे वताए। एमालेले चैत ३० गतेपछि पालिकाका प्रमुख र उप प्रमुखहरु छनाैट गर्ने प्रचार प्रमुख तिमिल्सिनाले जनाए।
तर, गठवन्धनकाे मुख्य पार्टी कांग्रेसमा भने स्थानीय तहकाे निर्वाचनलाई लिएर गाेप्य छलफल र वैठकहरु भैरहेका छन। केन्द्रमा नै कसरी जाने भन्ने टुंगो नलागेकोले जिल्लामा छलफल सुरु हुन नसकेको कांग्रेस सुर्खेतका उप सभापति विष्णु खड्काले जानकारी दिए।
‘केन्द्रले पालिकाहरुकाे भागबन्डा लगाएपछि उम्मेदवारकाे वारेमा छलफल सुरु गर्छाैं,’ गठवन्धनकाे तर्फबाट वीरेन्द्रनगरकाे मेयर पदका बलिया प्रतिस्पर्धीका रुपमा हेरिएका खड्काले भने। खवरदृष्टिसंगकाे कुराकानीमा उपसभापति खड्काले पार्टीले जिम्मेवारी दिए पछि नहट्ने तर पदकै लागि मरिहत्ते नगर्ने प्रष्ट पारे।
सुर्खेतमा नेपाली कांग्रेस पार्टीको राजनीतिमा पकड वनाउदै लगेका विष्णु खड्का आफ्ना सहाेदर दाई पूर्ण खड्काकाे विरासतवाट भन्दापनि आफ्नै याेगदान र प्रयासवाट राजनीतिमा आउन चाहेको उनी निकट कांग्रेसका एक जिल्लास्तरीय नेताले वताए।
‘उहाँ पहिलेदेखि नै कांग्रेसकाे राजनीति भित्रकाे एक प्रमुख पात्रकाे रुपमा हुनुहुन्थ्यो। खासगरी सुर्खेतकाे निर्वाचन क्षेत्र नं १ मा २०४८ सालदेखि नै संगठन वनाउदै हिड्नु भएको हाे। उहाँकै प्रत्यक्ष निर्देशन र खटनपटनमा सुर्खेत पूर्वमा कांग्रेसले सफलता पाउदै आएकाे छ,’ उनलेे भने।
तर, शेखर काेईराला टिममा रहेकाे कांग्रेस नेता हृदयराम थानी समूहले पार्टीले कहिकतै आफ्नाे समूहलाई छलफलमा नबाेलाएकाे गुनासो गरेको छ। ‘खै कहाँ हुन्छ छलफल थाहा छैन। आफ्नाे पार्टी भित्र एकमना एकता कायम गरेर नजादा पार्टीलाई ठूलो क्षति हुनसक्छ,’ नाम उल्लेख नगर्ने शर्तमा जिल्ला तहका एक नेताले भने।
थानी समूहले सुर्खेत जिल्लाका वीरेन्द्रनगर, भेरीगंगा र अर्को एक नगरपालिका दाबी गर्ने भएको छ। तीनवटा नगरपालिकाकाे नेतृत्व नपाए आफ्नाे समूहवाट जिल्लाभर नै उम्मेदवार नवन्ने स्थिति आउन सक्ने नाम उल्लेख नगर्ने शर्तमा थानी समूहका एक नेताले बताए। कांग्रेस भित्र आफ्नाे समूहमा धेरै नेता, कार्यकर्ता र जनमत पनि भएको उनकाे दाबी छ। सत्ताकाे प्रयाेग गरेर पार्टी कव्जा गरेजस्तो सजिलाे आम चुनाव नहुने उनलेे चेतावनी दिए।

प्रकाशित मिति : २०७८ चैत २७ गते आइतबार